News 24 Television
एम्बुलेन्सबाट ५१ किलो लागुऔषध गाँजा बरामद

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५ हिरालाल टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा सहित एम्बुलेन्स बरामद गरिएको छ । एम्बुलेन्समा लागुऔषध आउदै छ भने सुराकीका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी निरीक्षकको टोलीले ज.१ च १५५८ नम्बरको एम्बुलेन्सलाई पछ्याउँदै रोकेर जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको सर्लाही प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार एम्बुलेन्सको पछाडिको भागमा प्लास्टिकका दुई बोरामा १० प्याकेटमा विभाजन गरी लुकाइ राखिएको अवस्थामा ५१.५ केजी गाँजा फेला पारिएकाे हो । नियमित प्रहरी गस्ती तथा सूचना संकलनको क्रममा एम्बुलेन्समा नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको उक्त एम्बुलेन्समा राखेर लागुऔषध लोड गरी लैजाँदै गरिएको भन्ने जानकारी पाएपछि हरिवन प्रहरी टोली त्यसतर्फ खटिएको हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी बताए ।

उक्त घटनामा संलग्न आरोपमा एम्बुलेन्स चालक, रौतहटको यमुनामाई गाउँपालिका–४ सरूअठा टोलका करिब ३७ वर्षीय सुरेन्द्र राय यादवलाई समेत नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएको गाँजा, एम्बुलेन्स तथा चालकलाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याई आवश्यक थप अनुसन्धान अघि बढाइिएको हरिवन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update