खोला किनारको चट्टानमाथि
सदियौं देखि उस्तै
ठिङ्ग उभिएको छ एउटा बूढो रूख ।
कहिले राताम्य हुन्छ, शारदी फूलहरू ओढेर
कहिले हरियै हुन्छ, वासन्ती पालुवा भिरेर
पतझरका नङ्ग्राहरूले जिँगरिङ्ग पर्छ कहिले
तर,
पतिङ्गरहरू जस्तो
जता हुरी–बतास उतै नउडेर
जस्तै आँधीको पनि ‘एन्टीकरेन्ट’ उभिएको छ– दृढ !
पैदलै ओहरदोहर गरिहन्छन् यात्रीहरू
सुस्ताएर फेदमा कहिलेकाहीँ ।
यात्रीहरूको हुलमा हर मौसम
कोही न कोही हुन्छन् नै
पहिलोपटक यात्रारत नौजवान दहिमाछे यात्रीहरू ।
पहिलोपटक जस्तो लाग्छ–
कुनै पनि याम उनीहरूलाई,
र वियमयले उफ्रन्छन्– भुइँ छाडेर तीन हात
मानौँ, इतिहासमा पहिलोपटक आएको हो पतझर
पहिलो पटक आएको हो हुरी
वा मानौँ, कहिल्यै नआएको, भूतो न भविष्यति
इतिहासकै सर्वाधिक शक्तिशाली आँधी देख्ने
ऊ पहिलो व्यक्ति हो ।
ऊहरूको उत्साह देखेर
ऊहरूको अबोध उत्साह देखेर
फिस्स हाँस्छन्
र लट्ठी टेक्दै बाटो लाग्छन्–
कुप्रिँदै ओहोरदोहोर गरिरहेका हिउँदबर्खा !
खोला किनारबीच निरन्तर
बगिरहन्छ समयको धार
कहिले बर्खाको बाढी बनेर उर्लंदै
कहिले भेल बनेर गडगडाउँदै
र, कहिले सुख्खा खडेरीको तिर्खा बनेर
– धाँजा फाटेर ।
हरेक भेलमा उर्लंदै आउँछन्
किनारामा झरेका पतिङ्गरहरू
र बाढीमा बग्दै जान्छन् (झारपातहरू)
उनीहरूलाई लाग्छ– ‘म नै आँधी हुँ’
– ‘बाढीको बहाव भन्नु नै मै हुँ’
– ‘म छु र पो यो भेलको शक्ति छ !’
तर,
सधैँ रहन्न आँधी–तुफान
थामिएपछि बाढी
किनारामा मिल्किनु र ओइलाएर बिलाउनु
घाँसहरूको नियति हो ।
बाढीको ताण्डवमा
ताण्डव नाँच्दै उफ्रिरहेका घाँसहरूको
घाँस नियतिको
बसेर साक्षी किनारामा
त्यो रूख
जुन निष्ठाको चट्टानी धरातलमा
सुझबुझको जरा गाडेर
विवेकको अग्राख गुभो उभिएको छ
खिस्स हाँस्न बाहेक गर्नै के सक्दो हो !
जिन्दगीमा,
सबैभन्दा मजा/आनन्द रहेछ–
‘आफूलाई केही थाहा छैन’ भन्ने थाहा नहुनु
त्यसै भनेको होइन रहेछ कसैले–
‘प्रभुजी मलाई भेडो बनाऊ ।’
०००
