काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिइरहेको छ। प्रशिक्षणमा सांसदहरुको उपस्थिति न्यून देखिएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले आक्रोश मात्रै पोखेनन्, पार्टीले हेर्ने भन्दै चेतावनी समेत दिए । यस्तोमा के गर्दैछ रास्वपा ?
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आएको छ। तर, प्रशिक्षणमा देखिने एउटा दृश्य हो, सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थिति। शक्ति कति र कहाँसम्म भन्ने स्थितिले रास्वपा संसदीय दलको बैठक, प्रशिक्षणमा जाने विषय मापन गर्ने हो ?
शनिवारका लागि आयोजित प्रशिक्रण कार्यक्रममा नजाने सांसदहरुले गुपचुप गर्ने गरेका छन्। सकेसम्म उपस्थिति नहुने र अन्तिममा उपस्थित हुने गर्दा सांसदहरुले आफ्ना नेताहरुको अनुहार नै हेर्न नपाउने स्थिति छ। तर, रास्वपामा पनि सांसदहरुले व्यक्तित्व निर्माणका लागि भन्दै आयोजना गरिने यस्ता प्रशिक्षणमा महत्व कम दिन थालेका छन् ।
प्रशिक्षण कार्यक्रममा सांसदहरुलाई संसदीय समितिमा हुने छलफल, संसदमा राख्ने प्रश्तुती, संसदीय मर्यादा, जिम्मेवारी, दायित्व तथा विषयगत छलफलसम्बन्धी प्रशिक्षण दिइने जनाइएको छ ।
सांसदहरुको क्षमता विकास गर्ने, आत्ममुल्यांकन गर्ने, सिक्ने, अनुभव आदान–प्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसरका लागी प्रशिक्षण कार्यक्रम राखिएको रास्वपाले जनाएको छ ।
शनिवारदेखी शुरु भएको प्रशिक्षण आईतवारसम्म चल्नेछ । आईतवार पार्टी सभापति रवि लामिछानेले प्रशिक्षणको समापन गर्ने तयारी चलिरहेको छ। तर, यो कार्यक्रममा प्रधानमन्त्री समेत रहेका रास्वपा संसदीय दलका नेता वालेन्द्र शाह उपस्थित हुने वा नहुने भन्ने विषय खुलाइएको छैन्।
आशिका तामाङले उठाइन् प्रश्न
रास्वपा सांसद आशिका तामाङले होटेलमा प्रशिक्षण कार्यक्रम गरेको विषयमा सार्वजनिक रुपमै प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत आशिकाले यसरी होटेलमा गरिने कार्यक्रमले पुरानाभन्दा नयाँ गर्छाैं भन्नेहरुबीच फरक नहुने भन्दै तीखो प्रहार गरेकी छन्। आशीकाले भनेकी छन्, ’संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल सापटी लिएर गर्नु पर्नु कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति ? बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखाजोखा कस्ले गर्ने? कि सांसदहरूलाई सुरक्षाको लागि महंगा हलहरुमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा? अरु दिन चाहिँ पर्दैन? हामी आफै परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उहीँ भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त?’
यसरी विस्तारै प्रश्नहरु पनि उठ्न थालेपछि रास्वपाले आफ्ना सांसदहरुलाई स्वअनुशासन, आचरण र व्यवहारबारे प्रशिक्षण भन्दै भेला गर्ने गरेको छ। उसोतः आशिकालाई स्पष्टीकरण सोध्ने गरि रास्वपाले तयारी नै गरेको चर्चा चलिरहेको छ। तर, न्यून उपस्थितिले रास्वपा संसदीय दलको प्रभावकारितामाथिका प्रश्नहरु भने उठ्न थालेका छन्।
