काठमाडौँ । प्रा.डा. विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक शिक्षामा बेलाको बोली प्रकाशित भएको छ । पुस्तकले जनस्तरका सोच दिएको छ । प्राज्ञिक सोच दिएको छ । प्रज्ञावानले देखेका सोच दिएको छ । तिनको अन्तरसम्बन्ध देखाएको छ । शरीरी सम्बन्ध, मानसिक सम्बन्ध, चेतन वा उर्जीय सम्बन्ध । यो क्रममा आएका दर्शन तथा सिद्धान्तको चर्चा गरेको छ । जगतका, जीवनका, मनका, हिरण्यगर्भका र तिनका अकाट्य सम्बन्धका । पुस्तकका विषयवस्तुलाई ।
पुस्तकले कहीँ व्याख्या दिन्छ । कहीँ प्रश्नको झटारो हान्छ । कहीँ समस्या दिन्छ । कहीँ समाधान दिन्छ । विषयवस्तु भने शिक्षाकै सेरोफेरोमा छ ।
पुस्तकमा स्वाद खोज्नेले अनेकन स्वाद पाउँछन । यस अर्थमा बहु स्वाद । गहिराइ बुझ्नेले बहुज्ञान पाउँछन । शिक्षासँगै रुमलिएका । यस अर्थमा पुस्तक बहु उमेरको खजाना बनेको छ । जोशिलाका लागि । होशिलाका लागि । जोश र होश मिलाउनेका लागि । सोच्न खोज्नेका लागि । सम्भावना देख्नेका लागि । त्यहाँ भेटिने भँगालाहरू देखाएको छ । ती भँगालाहरूलाई मूल बनाउने उपायहरू सुझाएको छ । जहाँ समस्या छ त्यहीं समाधान खोज्नुपर्छ भन्ने सन्देश पनि छ ।
यस्ता सन्देश बाहकले नै शिक्षा सुधार्न सक्छन भन्ने जिकिर छ । पुस्तकमा भएका मेरा दावीमा पाठकको कार्यगत, विचारगत, विधागत तथा प्रस्तुतिगत प्रतिक्रिया एवं सुझावको प्यासी छु । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु. ९९५।– रहेको छ ।
