News 24 Television
भारतलाई नेपालको कडा जवाफ ! लिपुलेकमा अडान

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको भन्दै नेपाल सरकारले आफ्नो अडान पुनः दोहो¥याएको छ । सुगौली सन्धि, ऐतिहासिक नक्सा र प्रमाणका आधारमा भूभाग नेपालकै भएको दाबी गर्दै सरकारले भारत–चीनबीच लिपुलेक मार्ग हुँदै सञ्चालन हुन लागेको कैलाश मानसरोवर यात्राप्रति कूटनीतिक आपत्ति जनाएको हो । यता भारतले भने नेपालको दाबी अस्वीकार गर्दै पुरानै अडान दोहो¥याएको छ । 

नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको विषयमा आफ्नो अडान पुनः दृढतापूर्वक दोहो¥याएको छ । परराष्ट्र मन्त्रालयले १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका सम्पूर्ण भूभाग नेपालकै रहेको स्पष्ट गर्दै राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने सन्देश दिएको हो । 

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक मार्ग हुँदै भारत र चीनबीच सञ्चालन गरिने भनिएको कैलाश मानसरोवर यात्राप्रति नेपालले गम्भीर चासो व्यक्त गर्दै कूटनीतिक माध्यमबाट दुवै छिमेकी राष्ट्रलाई आफ्नो धारणा अवगत गराइसकेको जानकारी दिए । सीमा विवाद समाधानका लागि ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा संवादमार्फत अघि बढ्न नेपाल प्रतिबद्ध रहेको उनको भनाइ छ ।

भारतको पुरानै अडान !

नेपालले यो विषयमा असहमति जनाउँदै आएपनि भारतले यसलाई वेवास्ता गर्दै आएको छ । बिहिवार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक पत्रकार सम्मेलनमा लिपुलेकमा नेपालको दाबीलाई अस्वीकार गर्दै कैलाश मानसरोर मार्ग नयाँ विषय नभएका दोहो¥याए । 

वैशाख २० गते नेपाल सरकारले लिपुलेक हुँदै भारत र चीनले सञ्चालन गर्न लागेको कैलाश मानसरोव यात्राप्रति आपत्ति जनाउँदै दुवै देशलाई कुटनीति नोट पठाएको थियो । यसको भोलीपल्टै भारतको विदेश मन्त्रालयले नेपालका दाबीलाई अस्वीकार गर्दै आफ्नो धारणा प्रस्तुत गरेको थियो । 

नेपाल सरकारले वैशाख २० गते लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेको विषयमा आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । तर यसमा असहमति जनाउँदै प्रवक्ता जैसवालले उक्त मार्ग सन् १९५४ देखि नै प्रयोगमा आएको दाबी गर्दै नेपालले उठाएको सीमा सम्बन्धी विवादलाई एकतर्फी भनेका छन् । यद्यपी यो विषयमा भारत संवाद गर्न तयार उनले उल्लेख गरेका छन् । 

लिपुलेकमा नेपालको प्रमाण 

भारतले नेपाली भूमि मान्न अस्वीकार गर्दै आएपनि लिपुलेक नेपालकै भएको धेरै प्रमाणहरु रहेको नेपाली सिमाविद्हरु बताउँछन् । लिपुलेक क्षेत्र नेपालको अभिन्न अंग भएको प्रमाणित गर्ने ऐतिहासिक तथा कानुनी आधारहरू सुगौली सन्धि १८१६ को धारा ५ अनुसार महाकाली नदी नेपालको पश्चिमी सीमा हो । 

लिम्पियाधुरा उद्गम रहेको मुख्य काली नदीको पूर्वी भाग लिपुलेक र कालापानी नेपालकै हो भन्ने स्पष्ट उल्लेख छ । ब्रिटिस कालका विभिन्न नक्साहरू१८१९, १८२७ र १८५६ ले पनि लिपुलेक क्षेत्रलाई नेपालभित्र देखाएका छन् । भौगोलिक र नदी विज्ञानको आधारमा लिम्पियाधुरालाई नै काली नदीको मुख्य मुहान मानिन्छ । 

नेपाल सरकारले पछिल्लो पटक जारी गरेको नयाँ नक्सामा पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई स्पष्ट रूपमा समावेश गरिएको छ । यी प्रमाणहरूले लिपुलेक नेपालकै भूमि हो भन्ने दाबीलाई बलियो बनाएका छन् । 

 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update