काठमाडौं । गत भदौको जेनजी आन्दोलनबाट सत्ताच्यूत भई गत फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट कमजोर बनेको नेकपा एमालेलाई फेरि अर्को संकट आइ लागेको छ । ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयसमेत एमालेले खाली गर्नुपर्ने भएको छ ।
७९ सालको निर्वाचनमा संसदको दोस्रो ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएको थियो । कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेका थिए । तर गत वर्ष भदौको जेनजी आन्दोलनबाट एमाले सत्ताच्यूत हुन पुगेको थियो । जेनजी आन्दोलनपछि गत फागुन २१ मा भएको निर्वाचनबाट एमाले झनै कमजोर बन्न पुग्यो ।
२ सय ७५ सदस्य प्रतिनिधिसभामा एमालेले मात्रै २५ सिटमा खुम्चिन पुगेको छ । साथै निर्वाचनपछि जेनजी आन्दोलनका क्रममा दमन गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनबारे अनुसन्धान गर्न गठित आयोगको प्रतिवेदनका आधारमा बालेन्द्र नेतृत्वको सरकारको तारो समेत बन्न पुगे ।
प्रहरी हिरासतमा राखिएको १३ दिनपछि मात्रै ओली रिहा भएका थिए । हिरासतमुक्त भएपछि पत्थरीको अपरेशन गरेका कारण उनी अझैसम्म पनि पूर्ण रुपमा निको भएका छैनन् ।
एमालेलाई फेरि अर्को संकट
एमाले अध्यक्ष ओली विरामी भएकै कारण एमालेको राजनीतिक गतिविधि पनि ठप्पजस्तै बनेको छ । यहिबेलामा फेरि एमालेलाई अर्को संकट आइपरेको छ । नेकपा एमालेले ललितपुरको च्यासलमा रहेको पार्टी कार्यालय नै हटाउनुपर्ने भएको छ । भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेको संरचना खाली गर्न भन्दै सरकारले सूचना जारी गरेपछि एमालेको ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा रहेको पार्टी कार्यालय खाली गराउनुपर्ने अवस्था आएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेको संरचना खाली गर्न भन्दै सूचना प्रकाशित गरेको छ । ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित)’ को दफा २१ को उपदफा (२) बमोजिम भोगाधिकार प्राप्त भएको र हालसम्म लिजमा परिणत नगरेको जग्गा तत्काल खाली गर्न’ मन्त्रालयले निर्देशन दिएको छ ।
‘२०७३–२–३१ र मिति २०७४–०१–२१ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागबाट प्रकाशित भएको सूचनाको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरुले भोगाधिकार लिएको जग्गाको भोगाधिकार स्वतः समाप्त भइसकेकोले सम्झौताको शर्तबमोजिम तिर्न बुझाउन बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्तो जग्गा र त्यसमा निर्मित संरचनासमेत तत्काल खाली गर्न भोगाधिकार लिने’ सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।
एमालेले तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा २०५८ चैतमा मन्त्रिपरिषद्बाट स्वीकृत गराएर १२ रोपनी ६ आना पाँच पैसा तीन दाम जग्गा भोगचलन गर्दै आएको छ । तर, उक्त जग्गा लिजमा परिणत नगरिएको हुँदा पार्टी कार्यालय खाली गर्नुपर्ने अवस्था बनेको छ । यो कार्यालयमा गत भदौ २४ मा जेनजी युवाहरुले आगजनी गरेका थिए ।
