काठमाडौं । प्रतिनिधिसभामा शीर्ष नेताहरुले सम्बोधन गरेका छन्। प्रतिनिधिसभा बैठकमा सरकारले नीति तथा कार्यक्रम पेश गरेपछि दलका शीर्ष नेताहरुले सम्बोधन गरे। उनीहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममा टिप्पणी गर्नुका साथै सरकारले सहि बाटो समात्न नसकेको आरोप समेत लगाए ।
प्रतिनिधिसभाको बैठक चलिरहेको छ। संसदमा विभिन्न दलका शीर्ष नेताहरुले गरेको सम्बोधनमा सरकारमाथिका प्रश्न, नीति तथा कार्यक्रमबारेको टिप्पणी र राजनीतिक घोचपेच चल्यो। संसदमा पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक समेत रहेका नेकपा संसदीय दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संख्याको दम्भ नराख्न आग्रह गरे ।
अघिल्लो सरकारमा रास्वपासंग दह्रो सहकार्य गरेको स्मरण गरेका प्रचण्डले तत्कालीन माओवादीले प्राप्त गरेको जनमत, नेकपा बन्दा प्राप्त गरेको जनमतलाई स्मरण गराउदै रास्वपालाई सतर्क बन्न आग्रह गरे ।
प्रचण्डले लामो सम्बोधनमा जनतातर्फ फर्किन आग्रह गर्दै सुकुम्बासीमाथि राज्यले देखाएको व्यवहारको विरोधमात्रै गरेनन्, माओवादीले लडेको जनयुद्धको स्मरण समेत गराए। माओवादी जनयुद्धका कारण अहिलेको स्थिति बन्न पुगेको दाबी गरेका प्रचण्डपछि कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देङ्वेले सम्बोधन गरे। कांग्रेसले पनि सरकारले सहि दिशा समात्न नसकेको भन्दै आलोचना ग¥यो ।
सरकारको नीति तथा कार्यक्रमपछि संसदमा विपक्षी आवाजहरु पहिलो पटक मुखारित बन्न पुगेका हुन्। संसदमा विपक्षी दलकातर्फबाट श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको सम्बोधनमा पनि आलोचना र आक्रोश देखिन्थ्यो। राप्रपाले त झन, नीति तथा कार्यक्रम हुबहु सारिएको आरोप नै लगायो।
यसरी विपक्षीका आवाज चर्किएका थिए भने स्वतन्त्र सांसद महावीर पुनले पनि आफूलाई दिइएको समयमा आपत्ति जनाउदै सरकारले नवप्रर्तनमा काम गर्न नसकेको आरोप लगाए।
यस्ता प्रश्नकाबीच राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिले आफ्नो सरकारले विपक्षीका घोषणापत्रलाई समेत समेटेर अघि बढेको भन्दै आशा पलाएको दाबी ग¥यो।
संसदमा नीति तथा कार्यक्रममा यसरी भएको छलफलमा एमाले भने आक्रामक मात्रै देखिएन, नेपाली सेनाको भूमिकामा गम्भिर प्रश्न नै उठायो। यसअघि पनि सेनामाथि आक्रोश पोखेको एमालेले यो पटक पनि सेनाको सक्रियता, सरकारसंगको सम्बन्ध र रास्वपाको राजनीतिक चरित्रबारे गम्भीर आरोप लगाएको छ।
संसदमा शीर्ष नेताहरुले गरेको सम्बोधनमा सबैभन्दा धेरै एमालेले गरेको टिप्पणीको चर्चा चलिरहेको छ। उसोतः विपक्षी दलहरुले प्रधानमन्त्री वालेन्द्र शाहको प्रवृत्ति र संसदीय गरिमामाथि खेलवाड गरेको भन्दै आपत्ति जनाएका छन्। कांग्रेसले त उनको स्वास्थ्य परिक्षण नै गर्न माग गरेको छ। जसकारण राजनीतिक ध्रुबिकरण तीब्र बन्दै गएको देखिन्छ।
