News 24 Television
सडक निर्माणका क्रममा स्काभेटर दुर्घटना

रुकुमपूर्व । सडक निर्माणका क्रममा स्काभेटर दुर्घटना भएको छ । जिल्लाकाे पुथा उत्तरगंगा गाउँपालिकाको भिरालो क्षेत्रमा काम गरिरहेका बेला स्काभेटर करिब १५० मिटर तल खसेको हो। दुर्घटना गम्भीर भए पनि चालक भने सकुशल रहेका छन् । 

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँ भौगोलिक रूपमा जोखिमपूर्ण क्षेत्र  मानिन्छ । जहाँ सडक निर्माणकै क्रममा  स्काभेटर दुर्घटनामा परेको छ । गरालीदेखि चुमा जोड्ने सडक खन्ने क्रममा भिरतर्फको माटो अचानक भासिँदा स्काभेटर करिब १५० मिटर तल खसेको हो ।

शुक्रबार दिउँसो करिब १ बजेर ५५ मिनेट जाँदा रा १ क १०८३ नम्बरको स्काभेटर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

दुर्घटना गम्भीर देखिए पनि मानवीय क्षति भने टरेको छ । स्काभेटर चालक, जाजरकोट नलगाड नगरपालिका - ६ का २६ वर्षीय सशी विक सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ ।

हामी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेका छौँ। मानवीय क्षति छैन, थप विवरण संकलन भइरहेको छ ।दुर्घटनामा परेको स्काभेटर पश्चिम रुकुम कन्स्ट्रक्सन प्रालिको रहेको खुलेको छ । दुर्गम तथा भिरालो भूभागमा सडक निर्माण गर्दा पर्याप्त सावधानी नअपनाउँदा यस्ता घटना दोहोरिने जोखिम बढ्दै गएको देखिन्छ ।

रुकुमपूर्वका अधिकांश ग्रामीण सडकहरू जोखिमपूर्ण भूगोलमै निर्माण भइरहेका छन् । सुरक्षा मापदण्डमा कडाइ नगर्ने हो भने यस्ता दुर्घटना अझ गम्भीर हुन सक्ने देखिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update