काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले तिब्बततर्फबाट भोटेकोशी हुँदै रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले बाढीको जोखिम अझै कायम रहेकाले अनावश्यक जोखिम नलिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका तथा जोखिममा रहेका व्यक्तिहरूको सुरक्षामा परिवार र समुदायले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
खोज तथा उद्धार वा अन्य कुनै प्रकारको सहायता आवश्यक परे सम्बन्धित निकायको टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न संघले आग्रह गरेको छ।
अध्यक्ष मोक्तानले विपद्को यस कठिन परिस्थितिमा राज्यका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा उद्धार टोलीलाई तत्काल परिचालन गरी जोखिममा रहेका नागरिकको शीघ्र उद्धार, राहत तथा आवश्यक सहयोगलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
उनले बाढी प्रभावित सम्पूर्ण नेपालीको सुरक्षा तथा कल्याणप्रति ऐक्यबद्धता जनाउँदै सबैलाई संयमित, सुरक्षित र उच्च सतर्कताका साथ रहन आग्रह गरे ।
