काठमाडौँ । निम्न व्यापारी संघका अध्यक्ष लक्ष्मी प्रसाद ओली, महासचिव दीपककुमार कार्की र कार्यसमिति सदस्य राजकुमार तिमल्सेनाका अनुसार काठमाडौं भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि काठमाडौं निम्न व्यापारी संघ ले रु. १३ लाख ५१ हजार सहयोग गरेको छ।
संघले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो। भृकुटीमण्डप क्षेत्रमा व्यवसाय गर्दै आएका करिब १,३०० व्यवसायी सदस्य आबद्ध रहेको काठमाडौं निम्न व्यापारी संघ व्यवसायीहरूको हकहितसँगै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय रहँदै आएको छ।
भृकुटीमण्डप खुला बजारको इतिहास वि.सं. २०४९ साल पुस २ गते देखि जोडिएको छ। तत्कालीन काठमाडौं नगरपालिका, समाज कल्याण परिषद् र व्यापारीबीच भएको त्रिपक्षीय सम्झौताबाट भृकुटीमण्डप खुला बजार सञ्चालनमा आएको हो। तत्कालीन काठमाडौं नगरपालिका हाल काठमाडौं महानगरपालिका का रूपमा रहेको छ।
खुला बजारमा व्यवसाय गर्दै आएका व्यापारीहरूले करिब ३३ वर्षदेखि विभिन्न चुनौतीका बीच व्यवसाय सञ्चालन गर्दै आएका छन्। सीमित पूर्वाधारमा, लामो समयसम्म प्लास्टिकको छानामुनि समेत व्यवसाय गर्दै आएका व्यापारीहरूले आफ्नो जीविकोपार्जनसँगै राज्यलाई नियमित रूपमा ठूलो आर्थिक योगदान पुर्याउँदै आएका छन्। संघका अनुसार व्यवसायीहरूले मासिक करिब रु. ४५ लाख तथा वार्षिक झण्डै रु. ६ करोड भाडा सरकारलाई बुझाउँदै आएका छन्।
संघका महासचिव दीपककुमार कार्कीका अनुसार विपद्को कठिन घडीमा बाढीपीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले संघले उक्त रकम प्रदान गरेको हो।
हामी व्यवसायीहरूको हकहितका लागि मात्र सीमित छैनौँ। समाजमा आइपर्ने विपद् र दुःखमा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नु हाम्रो सामाजिक तथा मानवीय दायित्व हो, महासचिव कार्कीले भन्नुभयो।
कार्कीका अनुसार संघले भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका विभिन्न प्राकृतिक तथा मानवीय विपद्का समयमा विगतमा पनि पटक–पटक राहत तथा आर्थिक सहयोग गर्दै आएको छ। यसपटकको सहयोग पनि संघको निरन्तर सामाजिक उत्तरदायित्वकै एउटा हिस्सा भएको उहाँले बताउनुभयो।
भृकुटीमण्डपका व्यापारीहरू आफैं अनेकौँ चुनौतीबीच व्यवसाय गर्दै आएका छन्। तर देश र समाजमा विपद् पर्दा सहयोग गर्न हामी कहिल्यै पछि हटेका छैनौँ। हाम्रो सामूहिक प्रयासबाट गरिएको यो सहयोगले पीडित परिवारको दुःखमा केही राहत पुग्ने विश्वास लिएका छौँ, कार्कीले भन्नुभयो।

उहाँले विपद्को समयमा सबै व्यवसायी, संघ–संस्था तथा नागरिकलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोगमा जुट्न आग्रहसमेत गर्नुभयो।
काठमाडौं निम्न व्यापारी संघले आगामी दिनमा पनि सामाजिक सेवा, विपद् राहत तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
करिब १,३०० व्यवसायी सदस्यको प्रतिनिधित्व गर्ने संघले गरेको रु. १३ लाख ५१ हजारको सहयोगले भृकुटीमण्डपका व्यवसायीहरू व्यापारसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पनि प्रतिबद्ध रहेको सन्देश दिएको छ।
आफैं प्लास्टिकको छाना र त्रिपालमुनि बसेर भृकुटीमण्डपमा गरिब, निम्न र सामान्य वर्गका लागि सामान बिक्री गर्दै आएका साना व्यापारीहरूले यसरी एक जुट भई ठूलो राहत रकम संकलन गरेर विपद्को घडीमा सहयोग पुर्याउनु अत्यन्तै सराहनीय र अनुकरणीय कार्य हो


