News 24 Television
अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ, १६ अक्टोबर। विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य, सामाजिक उत्तरदायित्व र जिल्लाको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन शनिबार धादिङबेँसीमा आयोजना हुने भएको छ।

समाजको चौथो महाधिवेशन यही असोज ३१ गते शनिबार बिहान १० बजेदेखि धादिङबेँसीस्थित शीतल बजारको क्रिक रिसोर्टमा आयोजना हुने कार्यक्रम तय गरिएको छ।

प्रवासमा रहेका धादिङवासीको साझा संस्थाका रूपमा क्रियाशील अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वभर छरिएर रहेका जिल्लावासीबीच सम्बन्ध विस्तार, आपसी सहयोग र जन्मभूमिप्रतिको उत्तरदायित्वलाई प्रवर्द्धन गर्दै आएको छ।

महाधिवेशनले संस्थाको आगामी कार्यदिशा, संगठनात्मक सुदृढीकरण तथा प्रवासी धादिङवासीको सहभागितालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई साझा उद्देश्यमा जोड्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा प्रवासी समुदायको भूमिका विस्तार गर्ने दृष्टिले पनि महाधिवेशनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

महाधिवेशनमार्फत संस्थाको आगामी नेतृत्व तथा भावी कार्यक्रमबारे समेत महत्त्वपूर्ण निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update