काठमाडौं । नेपालको सत्ता फेरिएपछि शुरुदेखि नै छिमेकी मुलुकहरु चीन र भारतले नेपालप्रति स्वभाविक चासो देखाउने गर्छन्। यस्तो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनेपछि शुरुमै प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निम्तो दिने काम चलेको थियो। जुनक्रम भारतबाट भ्रमणकै रुपमा शुरु भएपनि चीनले समेत चासो बढाएको छ ।
प्रधानमन्त्री बनेको केहिदिनमै वालेन्द्र शाहलाई चीनले औपचारिक रुपमा भ्रमणको निम्तो दिएको थियो। तर, प्रधानमन्त्री वालेन्द्र शाहले एक वर्षसम्म कुनै पनि देश भ्रमण नगर्ने, कुटनीतिक रुपमा समेत मन्त्रीस्तरियभन्दा तलकोलाई नभेट्ने भनिदिए। त्यसपछि चीन र भारत भ्रमणको विषय कसिलो बन्न पुग्यो ।
अन्ततः भोटेकोशी बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने निर्णय गरे भने त्यसपछि भासरत भ्रमण समेत हुन पुग्यो। यस्तोमा चीनले समेत स्वभाविक रुपमा भ्रमणका निम्ति परराष्ट्र मन्त्रालय र सचिवालयमार्फत कुराकानी अघि बढाएको देखिन्छ । तर, चीन भ्रमण होला? प्रश्नहरु देखिन्छन्।
चीन सशंकित किन ?
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसदहरु चीन भ्रमणमा छन्। रास्वपा सांसदहरुको चीन भ्रमणमा समेत पार्टीकै सांसदहरुले प्रश्न गरे भने चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारेको बहसले थप शंका उत्पन्न गरायो। चीन जाने रास्वपा टोलीले प्रधानमन्त्री शाहलाई भेट्यो । जसमा प्रधानमन्त्रीले बीआरआई विवादास्पद कार्यक्रम भन्दै सोचेरमात्रै बोल्न निर्देशन दिए । जुन कुरा सार्वजनिक भएपछि यसको कतैबाट पनि खण्डन नहुँदा निर्देशन नै दिएको भन्ने कोणबाट चीनले शंकाको दृष्टीले हेरिरहेको देखिन्छ। यद्यपी रास्वपा सरकारको चरित्र र प्रधानमन्त्री वालेन्द्र शाहको मनस्थिति बुझ्न चीनले समेत भ्रमणका निम्ति पहल थालेको देखिन्छ।
के वालेन्द्र शाहले चीन भ्रमण गर्लान ?
प्रश्नहरु जिवितै रहेको बेला चीनले आन्तरिक तयारी र पहललाई भने जोड दिन थालेको छ। परराष्ट्रमार्फतमात्रै नभई चीनले सचिवालयमार्फत समेत पहल गरिरहेको छ भने प्रधानमन्त्री कार्यालयले समेत यसबारे धारणा बनाउनैपर्ने बाध्यता बनेको देखिन्छ।
रविको भ्रमण रोकिदा पनि शंका
चीनले रास्वपा सभापति रवि लामिछानेको भ्रमणलाई अन्तिम रुप नै दिएको थियो। तर, भोटेकोशी बाढीका कारण रविको भ्रमण स्थगित बन्न पुग्यो। रविको भ्रमण रोकिएपछि पुनः यो भ्रमणको पहल अघि बढ्न सकेको छैन भने चीनले प्रधानमन्त्रीस्तरमै भ्रमण गराउने पहल थालेको देखिन्छ । तर, चीनमा रहेको रास्वपा सांसदको टोलीले कसरी कुराकानी र छलफल गर्छ भन्ने विषयले समेत धेरै कुरा निर्धारण गर्ने भएकाले रविको भ्रमण समेत हुनसक्ने सम्भावना देखिन्छ । तर, चीनले प्रधानमन्त्री वालेन्द्रलाई नै लिएर केहि विषयका असन्तुष्टी र चीनबारेका धारणा बुझ्न चाहेको देखिन्छ। बीआरआईबारे प्रधानमन्त्रीको निर्देशनपछि सशंकित बनेको चीनले रविमार्फत समेत यो विषय बुझ्न सक्ने स्थितिलाई कायमै राख्दै भ्रमणको तयारीलाई भने जोड दिएको छ।
चिनियाँ चासो किन ?
नेपालमा तिब्बति शरणार्थीहरु बसोबास गर्दै आएका छन् । पछिल्लो समय सरकारले कडाई गरेका कारण उनीहरुले सार्वजनिक गतिविधि गर्न पाएका छैनन भने चीनले यस्ता विषय नेपालबाट अन्तराष्ट्रियकरण नहोस भन्ने चाहन्छ। यतिमात्रै नभई पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण र चिनियाँ ठेकेदारविरुद्ध मुद्दा नै चल्ने अवस्थाका कारण समेत उनीहरुमा एकखाले शंका र वेचैनी देखिन्छ । यतिमात्रै नभई चिनियाँहरुले नेपालबाट अन्य शक्ति राष्ट्रहरुले चीनविरोधि काम गर्न नसकुन भन्ने चाहेको देखिन्छ ।
विश्व शक्तिका रुपमा उदाउदै गएको चीनले आफ्नाविरुद्धका गतिविधि रोक्न र षडयन्त्र हुनबाट बच्न समेत नेपाली नेतृत्वलाई महत्व दिन थालेको छ। जसकारण सत्तारुढ दलका शीर्ष नेता, प्रधानमन्त्री र मन्त्रीहरुको भ्रमणलाई प्राथमिकता दिन थालेको छ । तर, चिनियाँ चासोकाबीच नेपालले आफ्नो प्रष्ट अडान राख्ने र नेपालको हितमा भ्रमणहरु गर्ने विषय भने अघि बढ्न सक्ने देखिन्छन् ।


