News 24 Television
बालेन–मोदीको विकास कूटनीति : आठ समझदारी र २४ हजार करोडको सहायता

काठमाडौँ । सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता तथा संयुक्त पत्रकार सम्मेलनले नेपालको कूटनीतिक र जनवृत्तमा विशेष चासो बटुलेको छ । भ्रमणका क्रममा दुई देशबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारी क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद, दिगो सहरी विकास र पशुपालन तथा मत्स्य विकासलगायतका क्षेत्रमा आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । तर, नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेश मार्ग (एयर रुट) मा भने यसपटक पनि ठोस सहमति जुट्न सकेन ।

हवाई रुटमा किन भएन सहमति ?

नेपालको प्रमुख एजेन्डाका रूपमा रहेको नयाँ हवाई प्रवेश मार्गको विषय १२ वर्षदेखि निरन्तर अल्झिरहेको छ । नेपालले महेन्द्रनगरबाट ३१, ३३ र ३५ हजार फिटको उचाइमा एयर रुट उपलब्ध गराउनुपर्ने माग राख्दै आएको छ भने भैरहवाका लागि नयाँ कनेक्टर थपेर मार्ग दिन भारत सकारात्मक देखिए पनि समग्र प्याकेजमा कुरा मिल्न सकेन । पूर्वी नाका नजिकैको बागडोगरा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न भारतीय वायु सेनाका जहाजलाई समेत रुट मागिएपछि नेपालले थप प्राविधिक अध्ययन आवश्यक रहेको भन्दै सहमति नदिएको बताइएको छ । जनकपुर–पटना रुटमा पनि यसपटक सहमति बन्न नसक्दा अन्तरदेशीय हवाई सम्पर्क विस्तारको मुख्य अपेक्षा अधुरै रह्यो । अन्तिम समयमा भैरहवा रूटलालाई दुईतर्फी बनाउन भारत सहमत भएको छ, यद्यपि यसको कार्यान्वयनका लागि थप अध्ययन गर्ने र ठोस सहमति पछि नै तय हुने भनिएको छ । प्राविधिक परामर्शमार्फत आवश्यक मोडालिटी टुङ्ग्याएर कार्यान्वयनमा ल्याइने यो सहमति कार्यान्वयन भएमा नेपालले थप प्रवेशर्माग पाउनेछ ।

रूपान्तरणकारी साझेदारी र भ्रमणको निम्तो

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध हिमालयजस्तै अटल र समुन्द्रजस्तै विशाल रहेको बताउँदै आपसी विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेमा जोड दिए । दुई देशबीचका सम्झदारी र पूर्वाधारको प्रतिफल किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी, विद्यार्थीको नयाँ अवसर र उद्यमीको बजार विस्तारमा देखिनुपर्ने उनको भनाइ छ । हिमालयदेखि गङ्गासम्म जोडिएको साझा भविष्य र जलवायु परिवर्तनको चुनौतीमा सामूहिक सहकार्य आवश्यक रहेको औँल्याउँदै उनले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे, नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थी आउने वातावरण बनाउनुपर्ने बताए र प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिए ।

२४ हजार करोड सहायता र पूर्वाधार विस्तार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेका छन् । गत अगस्टमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मोदीले प्रभावितको जनजीवन सामान्य बनाउन र विपद् प्रतिरोधी क्षमता बढाउन भारतले सहयोग गर्ने बताए । 

प्रधानमन्त्री शाहको जनादेश र भिजनको प्रशंसा गर्दै उनले जनकपुर र अयोध्याबीच ‘सरयू कमला एक्सप्रेस’ रेल सेवा सुरु भएको, धार्चुला सडक पुल उद्घाटन गरिएको, बनबासामा एकीकृत जाँच चौकी शिलान्यास गरिएको तथा दोधारा चाँदनी जाँच चौकीलाई तीव्रता दिइने जानकारी दिए । साथै, काण्डला र पारादीप बन्दरगाहसम्म नेपालको पहुँच, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास, अरुण–३ को समयमै सम्पन्नता र ऊर्जा व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता मोदीले व्यक्त गरे ।

भ्रमणको सार 

बालेन–मोदी भेटवार्ताले आठवटा द्विपक्षीय समझदारी, २४ हजार करोड रुपैयाँको सहायता घोषणा र धार्मिक तथा सीमा पूर्वाधार विस्तारमार्फत सम्बन्धलाई नयाँ गति दिने संकेत दिएको छ । यद्यपि, १२ वर्षदेखिको हवाई रुट विवाद सुल्झाउन नसक्नुले ठोस कूटनीतिक र प्राविधिक मुद्दाहरूमा अझै गहन संवाद बाँकी रहेको यथार्थलाई उजागर गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update