काठमडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टी विरोधी गतिविधि गर्नेहरुमाथि निर्मम बन्ने संकेत गरेका छन् । पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सम्बोधन गर्दै उनले पार्टीभित्रको असन्तुष्ट समूहलाई विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
पार्टीविरोधी गतिविधि गर्ने जनप्रतिनिधिलाई पनि राजीनामा दिनु भनी उनले सचेत गराएका छन् । पार्टीविरुद्ध गतिविधि गर्नेदेखि सरकारको कार्यशैली र राज्य संयन्त्रको प्रयोगबारे पनि उनले गम्भीर प्रश्न उठाएका छन् ।
मंगलबारबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाको सम्बोधन आन्तरिक पार्टी अनुशासन र बाह्य राजनीतिक प्रतिरोधमा केन्द्रित थियो । सम्बोधनका क्रममा सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म गर्न लागेको १५औं महाधिवेशनप्रति कडा असहमति जनाए ।
असोज १८ देखि २२ गतेसम्म पार्टीको १५ औं महाधिवेशन सम्पन्न भइसकेको दाबी गर्दै उनले एउटै पार्टीको दुईवटा महाधिवेशन हुन नसक्ने स्पष्ट पारे ।
पार्टीबाटै निर्वाचित कतिपय जनप्रतिनिधिहरु पनि देउवा समूहमा सक्रिय छन् । त्यसैले उनले पार्टीबाट निर्वाचित प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसददेखि स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि पार्टीविरुद्ध गतिविधिमा लाग्ने भए राजीनामा दिन आग्रह गरे ।
राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलालगायत नेताहरू खुलेरै पार्टीविरुद्ध गतिविधिमा छन् । पार्टीमै रहेर लाभको पदमा रहेकाहरु पार्टीविरुद्ध गतिविधिमा लागेपछि थापाले विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।
यद्यपि थापाले आफूले कसैलाई पनि पार्टीबाट निकाल्न नखोजेको र सबैलाई जोड्ने प्रयास गरिरहेको बताए । तर अर्को पार्टीको सदस्यता लिएमा विधानले प्रष्ट व्यवस्था गरेको उनले स्पष्ट गरे ।
सरकारको काम कारबाहीप्रति पनि गगनको आक्रोश
कांग्रेस सभपाति थापाले पार्टीमा रहेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई मात्र होइन, सरकारप्रति पनि उत्तिकै आक्रोश ब्यक्त गरे । राष्ट्रिय राजनीति र वर्तमान सरकारका कामकारबाहीबारे पनि थापाले पार्टीको धारणा सार्वजनिक गरेका छन् । २०७२ सालपछि मुलुकको राजनीति पूर्णतया सत्ता केन्द्रित भएको स्वीकार गर्दै विगत १० वर्षमा जनसाङ्ख्यिक, आर्थिक र सामाजिक बदलावअनुसार डेलिभरी दिन चुकेको उनको भनाई थियो ।
आफूविरुद्ध सरकारले चालेको कदमको पनि थापाले आलोचना गरे । रास्वपाले प्राप्त गरेको पाँच वर्ष सरकार चलाउने बहुमतको जनादेशलाई सम्मान गर्ने तर अनुसन्धानका नाममा राज्यका संयन्त्रको दुरुपयोग गरिए प्रतिरोध गर्ने उनले चेतावनी दिए । सामाजिक सञ्जालमार्फत आफू र पार्टीलाई त्रसित बनाउने प्रयास भइरहेको आरोप लगाउँदै थापाले राजाको प्रत्यक्ष शासन, माओवादी द्वन्द्वकाल र केपी ओली नेतृत्वको सरकारका बेलामा समेत कांग्रेसले गलत कामको विरोध गरेको स्मरण गराए ।
बालेनको भारत भ्रमणबारे गगनको टिप्पणी
कांग्रेस सभपाति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भएको दुई दिने भारत भ्रमणको सन्दर्भ पनि पार्टी बैठकमा उठाएका छन् । प्रधानमन्त्री शाहको भारत भ्रमण उपलब्धीमुलक नभएको उनको भनाई थियो । प्रधानमन्त्री शाहको भारत भ्रमणको क्रममा दीर्घकालीन महत्वका काम नभएको टिप्पणी गर्दै भ्रमणका उपलब्धिबारे जनतालाई जानकारी गराउनुपर्ने थापाले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको पछिल्लो भेटका सन्दर्भमा पनि थापाले पार्टीलाई जानकारी गराएका छन् । सबै दलका नेतासँगको भेटघाट स्वाभाविक भए पनि त्यसलाई लिएर अनावश्यक आशंका र प्रचार गरिएको उनले स्पष्ट गरे ।
नेपाली कांग्रेसको देउवा समूहले आगामी मंसिर २१ गतेदेखि पुनः महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टी संस्थापन विरुद्ध गतिविधि गर्दै आएको देउवा समूह समानान्तर महाधिवेशनको सन्निकटमा आएको बेला कारबाहीको चेतावनीले भने पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई भने झस्काएको छ ।


