काठमाडौं । टेकुस्थित कौसी थिएटरमा आजदेखि नाटक ‘विश्वन्तर’ मञ्चन हुने भएको छ। बौद्ध जातक कथामा आधारित यस नाटकको निर्देशन चन्द्रमान मुनिकारले गरेका हुन्।
इँगिहोपो कोँइच सुनुवारले नाट्य रूपान्तरण गरेको नाटक बज्रकला कुञ्जको प्रस्तुतिमा तयार भएको हो । नाटकमा काठमाडौं महानगरपालिकाले सहकार्य गरेको छ।
थिएटरका अनुसार नाटक मंसिर २० गतेसम्म मञ्चन हुनेछ। हरेक साँझ ५ः१५ बजे सुरु हुने नाटक शनिबार भने दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ।

निर्देशक मुनिकारका अनुसार ‘विश्वन्तर’ले परहितका लागि बोधिसत्त्व चर्या गर्दै दानपारमिताको अभ्यासमार्फत बुद्धत्व प्राप्तितर्फ अघि बढ्ने यात्राको सन्देश प्रस्तुत गर्न खोजेको छ।

त्याग, दान र परोपकारको महत्त्वलाई नाटकीय प्रस्तुतिमार्फत दर्शकमाझ पुर्याउने उद्देश्यले नाटक तयार गरिएको निर्देशक मुनिकारले बताएका छन्।

‘दिने सबै धनी अनि लिने सबै गरिब हुदैन’ बौद्ध जातक कथामा आधारित नाटक ‘विश्वन्तर’मा दान दिने स्वभावको मानिसले जे पनि दान दिन्छ भन्दैमा दान लिने मान्छेले लोभ र स्वार्थमा जे पनि माग्न हुन्न होला भन्ने सन्देश दिएको छ ।

उत्कृष्ट संगीत एवं प्रकाशको संयोजनमा नाटकले गति लिदा संवादमा प्रयोग हुने नेवाः खँग्वः (शब्द)ले स्थानीयता दिने कोसिस गरेको छ । दर्शकलाई हसाउन र भावुक बनाई आँसु झार्ने स्थितिमा पुर्याउन नाटक सफल भएको छ ।


