News 24 Television
सिद्धान्त र एजेन्डाविहीन दलहरूको गठबन्धनले देश दुर्घटनातर्फ

काठमाडौँ । नेपालमा राजनीतिक दल र नेताहरू चरम अवसरवादी रहेको कुरा कतैबाट छिपेको छैन । आफ्नो स्वार्थ, सत्ता, शक्ति र पदका लागि जे पनि गर्न तयार निष्ठाविहीन राजनीतिज्ञ भएकै कारण देशमा अस्थिरता व्याप्त छ । 

पछिल्लो एक वर्षकै अवधिमा तीन गठबन्धन बन्नु र सरकारमा पस्ने तथा बाहिरिने दलहरूको अवसरवादी चरित्र दोहोरिनुले पनि यही कुरा पुष्टि गर्दछ । राजनीतिक विश्लेषकहरू समेत नेपाली राजनीतिको यो दुर्दान्त चित्र देखेर चिन्तित छन् । नेपालमा सिद्धान्त र विचारविहीन राजनीतिक ध्रुवीकरण एवं गठबन्धन संस्कारले देश दुर्घटनातर्फ गइरहेको उनीहरूले औँल्याएका छन् । 

राजनीतिक दलहरूले विचार, सिद्धान्त र एजेण्डामा एकरुपता नहेरी सत्ता स्वार्थमा राजनीतिक ध्रविकरण गर्ने गरेकाले यसको निरन्तरता भइरहे निकट भविष्यमा राजनीतिक दुर्घटना निम्तिनसक्ने विश्लेषकहरू बताउँछन् । राजनीतिक दलहरूमा निश्चित एजेण्डा, भिजन र मापदण्डका आधारमा नभई केवल सत्ता स्वार्थका खातिर गठबन्धन गर्ने अथवा फुटाउने गलत संस्कार हाबी भएकाले यसले देशमा अस्थिरता कायम गरिराख्ने उनीहरूको मत छ । 

राजनीतिक विश्लेषक डम्बर खतिवडा नयाँ–पुराना सबै राजनीतिक दलहरूमा सत्तामा जानु नै उपलब्धि हासिल हुनु र सत्तामा जान नसक्नु नै असफल हुनु हो भन्ने भाष्य स्थापित भएको बताउँछन् । यसैकारण देशको राजनीति अवसरवाद र अनैतिकताको गोलचक्करमा पुगेको बताउँदै उनले वर्तमान राजनीतिक अवस्थालाई ध्रुविकरणको अवस्था भन्न समेत नसकिने तर्क गरे । 

देशका लागि साझा मुद्दाको आधारमा एकताबद्ध हुने कुरालाई ध्रुविकरण भन्न सकिने भए पनि नेपालमा भने सत्तालिप्सा, स्वार्थ र संसदीय अंक गणितको खेलमा मात्रै ध्रुविकरण हुने गरेकाले त्यो खासमा अवसरवादको गठबन्धन हुने उनले बताए । यसप्रकारको राजनीतिक परिपाटीले देशलाई यथास्थितिको गोलचक्करमा फसाउने र राजनीतिक शक्तिहरूको विश्वसनीयता पनि समाप्त हुने उनको भनाइ छ ।

अर्का राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पनि अहिलेको गठबन्धन अवसरवादको उपज मात्र भएको बताउँछन् । अहिले राजनीतिक गठबन्धनहरू आफूले अवसर पाउने कुरामा मात्रै केन्द्रित भएकाले देशका लागि फाइदाजनक नहुने उनले बताए । सिद्धान्तविहिन र नीतिविहिन ध्रुविकरण अर्थात् गठबन्धन केवल अवसरको भोगचलनका लागि मात्रै हुने उनको भनाइ छ । 

देशमा ठूलो संकट पर्दा र एक हुनुको विकल्प नहुँदा राजनीतिक दलहरूका बिचमा मिलेर देश चलाउनुपर्ने अवस्था आउने बताउँदै दाहालले अहिले त्यस प्रकारको अवस्था नभएको तर्क गरे । सत्तालाई नै अन्तिम सत्य मानेर केवल शक्ति र पद बाँडफाँटका लागि सरकार फेरबदल हुने गरेको भन्दै उनले यसले नागरिकको निराशालाई झनै बढाउने दाबी गरे । नागरिकको निराशा बढ्दै जाँदा त्यसले भयानक बिष्फोट गराउने र देश दुर्घटनामा पर्ने उनको भनाइ छ । 

राजनीतिमा न्युनतम नैतिकता समेत खस्कँदै गएको र दलहरूको अवसरवादी चरित्रकै कारण आम युवा निराश भएर विदेश पलायन भइरहेका छन् । पछिल्लो समय देशमा केही नहुने भन्ने भाष्य स्थापित हुनु र जनशक्ति पलायन हुनुमा राजनीति नै मुख्य कारण रहेको छ । नेपालको राजनीतिले किन स्थिरता पाउन सकेन र देश हितका लागि किन सहयोगी भएन भन्ने प्रश्न अहिले आम नागरिकले गर्न थालेका छन् । स्थिरता नभए पनि प्रगतिशीलता हुनुपर्ने हो, जवाफदेही, नैतिक, जनपक्षीय एवं विकासप्रेमी हुनुपर्ने हो । यसो भयो भने राजनीतिले देश र जनताको भलो गर्दछ । 

पुराना दल ज्यादै अवसरवादी र अकर्मण्य भए भन्दै केही गर्छौं भनेर उदाएका नयाँ दलहरू समेत गठबन्धनको सिकार नभई रहन सकेनन् । उनीहरूमा पनि सत्तामोह देखिएको छ, तर पुरानाभन्दा तुलनात्मक रुपमा काम गर्ने हुटहुटी नयाँ दलमै देखिन्छ । आगामी दिनमा उनीहरूले हस्तक्षेपकारी भूमिका खेल्न सके भने चाहिँ जनताले आशा गर्ने ठाउँ छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update