News 24 Television
अमेरिकी सेनाको आशंका र भागेका अपराधीको त्रास

काठमाडौँ । नेपालमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले सुरुमा जायज माग (सुशासन कायम र भ्रष्टाचारको विरोध) उठाएको भए पनि पछि व्यापक हिंस्रक बनेपछि भने बदनामी मात्र कमायो । आन्दोलनमा भएको अनेक तहको घुसपैठका तथा हिंसात्मक घटनाका कारण समग्र आन्दोलन बदनाम भएको भनी विश्लेषण भइरहेछ । आन्दोलनको उद्देश्य शान्तिपूर्ण भए पनि पछि अराजक तत्त्वहरू र आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू प्रवेश गरे । यी समूहले तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति र आगजनी गरेपछि आन्दोलनले हिंसाको रूप लियो । हिंसा भड्किएपछि सम्पूर्ण आन्दोलनको उद्देश्यलाई ‘अराजकता फैलाउने’ भनी चित्रित गरियो । आन्दोलनकारीको भीडको फाइदा उठाउँदै देशभरका कारागारहरूबाट १५ भन्दा बढी कैदीहरू भागेको र सुरक्षाकर्मीका हतियार लुटिएको तथ्यले आन्दोलनलाई सामाजिक सुधारको भन्दा अराजकताको पराकाष्ठामा पु¥यायो । जसको सन्त्रास अहिले पनि व्याप्त छ ।

आगामी फागुनमा तोकिएको निर्वाचनमा जान दलहरु नै डराइरहेको अवस्था छ । यसैबीच आन्दोलनमा तिब्बती मूलका व्यक्तिको घुसपैठ, पश्चिमा स्वार्थको उक्साहटको आशंका र भारतीय भूमिकाका कारण पनि नेपालमा भूराजनीतिको प्रश्न पेचिलो भएर उठेको छ । दशवर्षे माओवादी जनयुद्धको धरातलबाट आएका नेत्रविक्रम चन्द विप्लवले नेपालमा अमेरिकी–नेपाली–तिब्बती सेना गठनको प्रयास त भइरहेको छैन भन्दै गम्भीर आशंका व्यक्त गरेका छन् । विप्लवले जेन–जी आन्दोलनमा देखिएको टीओबी समूहको संलग्नता र हतियार प्रदर्शनप्रति आपत्ति जनाउँदै वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यस्ता व्यक्तिहरूमाथि छानबिन गर्ने हैसियत नराख्ने बताएका छन् । वर्तमान सरकार जेन–जी विद्रोहको भावनाविपरित रहस्यमय ढंगले गठन भएको आरोप लगाउँदै उनले तत्काल खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रश्ताव समेत गरेका छन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानले आन्दोलन भड्काउनमा टिओबी समूहको हात रहेको निष्कर्ष निकालेको छ । बुलेट पड्काउँदै माहोल बिगार्नेगरी आन्दोलनमा घुसपैठ गरेको उक्त समूहले आफ्नो देश फिर्ताको नारा समेत लगायो । पानी बाँड्ने निहुँमा छिरेको हामी नेपाल संस्थाको भूमिका समेत शंकाकै घेरामा छ र थप अनुसन्धान हुनुपर्ने देखिन्छ । उक्त आन्दोलनमा कुनै स्पष्ट नेतृत्व नदेखिनुले पनि आन्दोलन नियन्त्रणबाहिर गयो । जब भीड उत्तेजित बन्यो, आन्दोलनलाई नियन्त्रण गर्न वा हिंसालाई रोक्न सक्ने कुनै केन्द्रीय संयन्त्र थिएन । सुरक्षा निकायले लत्तो छाड्यो । आन्दोलन स्वतन्त्र युवाहरूले थाले पनि राजनीतिक दलका स्वार्थी तत्त्वहरूको समेत घुसपैठ देखिन्छ । 

जेलबाट भागेका हजारौँ अपराधी र लुटिएका हतियारका कारण दलहरु निर्वाचनमा जान हिचकिचाइरहेका छन् । अघिल्ला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिरहेको र दुनियाँलाई ढाँटिरहेको आरोप लगाएका छन् । यद्यपि तिनै अपराधी र हतियारलाई दलहरुले गलत प्रयोग गर्छन् कि भन्ने आशंका सरकारमा पनि देखिएको छ । उक्त आन्दोलनको क्रममा लुटिएका हात–हतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेशन सञ्चालन गर्ने जनाएको छ । आईतवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले जेलबाट भागेका कैदीहरुलाई कारागर फिर्ता गर्न सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने समेत बताए ।

जेन–जी आन्दोलनको मुख्य मर्म (सुशासनको माग) राम्रो भए पनि, अराजक घुसपैठ र त्यसबाट सिर्जित हिंसात्मक घटनाहरूले यसलाई बदनाम ग¥यो । अहिले आम मानिसहरुले जेनजीको नाउँमा देखिएका अनेक समूह र उच्छृंखल गतिविधिको प्रतिवाद गर्न थालिसकेका छन्, जसका कारण दलहरु नै ठीक रहेछन् भन्ने भाष्य पुनःस्थापित हुन थालेको छ । अब असली जेनजीहरु एकजुट भएर सुशासन र विकासका लागि आवश्यक संरचनागत सुधारको बहसलाई प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने देखिन्छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update