
काठमाडौं । सचिवालय विस्तारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नयाँ विवाद उत्पन्न भएको छ । कार्यवाहक सभापति डीपी अर्यालले सचिवालय विस्तार गर्दै चार जना थपेका छन् । सोविता गौतम, शिशिर खनाल, हरि ढकाल र गणेश पराजुली सचिवालयमा मनोनित हुँदा असन्तुष्टि चर्किएको हो । रास्वपा नेतृ तोषिमा कार्कीले आर्यालको निर्णयमा प्रति प्रश्न उठाउँदै पार्टी नै पुर्नगठनको माग गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाभित्र अहिले पुनः विवाद उत्कर्षमा छ । आन्तरिक असन्तुष्टि चुलिने क्रममा छ । पछिल्लो समय कार्यबाहक सभापति डीपी अर्यालले सचिवालय विस्तार गरेको र सचिवालयमा मनोनित भएका व्यक्तिको विषयलाई लिएर असन्तुष्टि चुलिएको हो ।
पार्टीभित्र सभापति रवि लामिछाने वा नेतृत्वकर्ताको इच्छाभन्दा एक बचन पनि बाहिर बोल्दा बहिर्गमनको यात्राको तरखर गर्नु पर्छ भन्ने छाप रास्वपाका नेताहरुमा परिरहेको छ । त्यसका पछिल्ला उदाहरणहरु संस्थापक महामन्त्री मुकुल ढकाल र तत्कालिन सहमहामन्त्री सुमना श्रेष्ठ हुन् भनि चर्चा र आरोप बढेको छ । अहिले पुनः सचिवालयमा मनोनित व्यक्तिको विषयले यस आरोपमा बल पु¥याएको छ ।
रास्वपाको विगतको परिवेश र अहिलेको अवस्था
के राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछाने क्लब जस्तो छ त ?
यो रास्वपाको बर्खास्तीमा परेका संस्थापक महामन्त्री मुकुल ढकालको अभिव्यक्ति हो । उनी यहि अभिव्यक्तिले सभापति रवि लामिछानेको निसानमा पर्दै पार्टीबाट बर्खास्तीमा परेका थिए । नेतृत्व माथि प्रश्न उठाउँदैमा पार्टी छाड्नुपर्छ र ? भन्ने प्रश्न त्यसबेला पनि उठेको थियो । तर, कसैले यसबारे खुलेर बल्न सकेका थिएनन् । पार्टी नेतृत्वबारे प्रश्न उठाएकै भरमा पार्टीभित्र प्रदान गरिने भुमिकामा काखापाखा गर्न खोजिएको रास्वपा नेताहरुले अहिले अनुभुति गर्न थालेका छन् ।
सभापति रवि र पार्टी नेतृत्व पंक्ति माथि प्रश्न उठाएकै भरमा किनाराकृत हुने त होइन भन्ने डर आलोचनात्मक चेत भएका नेताहरुले गर्न थालेका छन् । उदाहरण हुन्, सुमना श्रेष्ठ । रास्वपाबाट शिक्षामन्त्री नै बनेकी सुमनाले पार्टी नेतृत्वको एकाधिकार बारे सार्वजनिक रुपमा आलोचना गरिकी थिइन् । त्यसपछि उनी रास्वपा पार्टी परित्याग गर्न बाध्य भएको बताइन्छ । अहिले अर्की नेतृ तोषिमा कार्की रास्वपा पुर्नगठन र नेतृत्व परिवर्तन बारे बहस छेडिरहेकी छिन् । आइतबार तोषिमाले सचिवालय विस्तारबारे प्रश्न उठाएकि छिन् ।
अर्यालको रोजाईमा परिनन् तोषिमा
कार्यावाहक सभापति डिपि अर्यालले विस्तार गरेको सचिवालयमा नेतृ डा.तोषिमा कार्की परिनन् । पार्टी भित्रको अन्र्तसंघर्षबारे निरन्तर आलोचनाको मत जाहेर गरिरहेकी तोषिमा विस्तारित सचिवालय सदस्यमा परिनन् । त्यसलगत्तै कार्कीले पार्टी नेतृत्व परिवर्तन सहितका कुरामा जोड दिएकी छिन् ।
सामाजिक संजालमार्फत् असन्तुष्टि पोखिरहेकी उनले पार्टी पुर्नगठनको जोडदार माग गरेकी छिन् । पार्टी विधानको धारा २६ अनुसार अर्यालले सोविता गौतम, शिशिर खनाल, हरि ढकाल र गणेश पराजुलीलाई सचिवालयमा मनोनित गरेका छन् । योसंगै रास्वपाको सचिवालय १४ सदस्यीय बनेको छ । यसअघि १० सदस्यीय सचिवालय रास्वपामा थियो ।
तोषिमाको माग : पार्टी पुर्नगठन र नेतृत्व परिर्वतन
सुमना श्रेष्ठले रास्वपा परित्याग गरे यता पार्टीमा नेतृत्व परिवर्तन र महाधिवेसनको स्वर चर्किदै गएको छ । सुमनाले रास्वपा त्याग्दा सभापति रवि कार्यशैलीको खुलेरै आलोचना गरेकी थिएन् भने उनी निकट नेतालाई समेत ढाडस दिएकी थिइन् । यतिबेला नेतृ तोषिमा कार्की समेत त्यहि विषयमा पार्टी भित्र संघर्ष गरिरहेकी छिन् । तत्कालिन अवस्थामा सभापति रवि लामिछानेमै निर्भर नभएरै पार्टी चल्नुपर्ने उनको अडान छ भने महाधिवेसन र पार्टीं पुर्नगठनमा जोड दिइरहेकी छिन् ।
रास्वपाको अबको बाटो के ?
रास्वपामा सभापति रवि लामिछानेको विकल्पमा जाने की नजाने अन्योलतामा रुमलिरहेको छ । सभापति रवि नख्खु कारागारमा पुर्पक्षकामा हुँदा पार्टीको नैतिक र राजनीतिक धरातल बारे समेत प्रश्न उठिरहेको छ । शिरमा मुद्धाको भारी बोकेका सभापति बोकेर कतिञ्जेल रास्वपा चल्ने भन्ने बहस सर्वत्र भइरहेको पनि छ । यस्तो अवस्थामा रास्वपाले नयाँ उत्तराधिकारीसहित अघि बढ्नुपर्नेसम्मका सुझाव रास्वपामा छन् ।
तर रास्वपाको संस्थापन पक्ष रविको विकल्प चाहदैन, बरु रक्षार्थ देखिन्छ । यस्तो अवस्थामा फरक मत राख्नेहरुलाई रास्वपामा उकुकसमुकसको अवस्था बनेको हो । विषम अवस्थामा पुगेको रास्वपालाई निकास दिन पार्टी महाधिवेसन र नयाँ उत्ताराधिकारी उत्तम विकल्प हुने राजनीतिक विश्लेषकले बताउने गरेका छन् ।
जान्नेलाई छान्ने नारासहित नेपाली राजनीतिमा कहलिएको दल हो, रास्वपा । २०७९ असार ७ मा स्थापना भएर सोहि बर्ष मंसिर चारको चुनावमा ठुला राजनीतिका दलका किल्ला भत्काउँदै उदायको वैकल्पिक शक्ति पनि हो । रास्वपाको उदयले ठुला राजनीतिक दलका नेताको मुटु हल्लिएको पनि थियो । तर जबजब रास्वपा नेपाली राजनीतिमा भिज्दै गयो पार्टी भित्रको अन्तरविरोध र कलहले थिलोथिलो हुँदै गएको छ । २ करोडको ढाकाकुमार अडियो प्रकरण, सभापति रवि लामिछानेको सहकारी घोटाला प्रकरण, संस्थापक महामन्त्री मुकुल ढकाल बर्खास्ती प्रकरण, सुमना श्रेष्ठको विद्रोह हुँदै भदौ २४ को जेनजी आन्दोलनसम्म आइपुग्दा रास्वपा सक्किने की सच्चिने अवस्थामा नआउला भन्न सकिदैन् ।