News 24 Television
नरेन्द्र मोदीको शक्तिको रहस्य, भारतमा तानाशाह शासन ! 

काठमाडौँ । भारतमा आगामी अप्रिल १९ बाट चरणबद्ध रूपमा निर्वाचनहरू तय भएका छन् ।  यस निर्वाचनमा पनि विजय हात पारी प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित हुने प्रयासमा छन् भने विपक्षी गठबन्धन उनलाई रोक्ने कोसिसमा लागिपरेका छन् । शक्तिशाली बन्दै गएका मोदी १० वर्ष भारतीय सत्तामा बसिसके । भारतको राजनीतिमा उनको दबदबा बलियो छ । तर, निर्वाचनको मुखैमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएपछि विश्वभरि भारतको प्रजातन्त्र र नरेन्द्र मोदीको शासनशैलीको आलोचना भइरहेको छ । यसरी भारतको निर्वाचनअघि भइरहेको यस्ता घटनाक्रमले के संकेत गर्दैछ त 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्ला १० वर्ष यता लगातार सत्ताको रजाईमै छन् । आगामि अप्रिल १९ बाट भारतमा चरणबद्ध रूपमा निर्वाचनहरू तय भएका छन् । यदि यो निर्वाचन पनि आफ्नो पक्षमा पारे मोदी तेस्रो पटक प्रधानमन्त्रीको रुपमा विराजमान हुने छन् । निर्वाचन आफ्नो पक्षमा पार्न मोदीले साम, दाम, दण्ड, भेदसबै प्रयोग गरिरहेको देखिन्छ । तर, मोदी फेरि प्रधानमन्त्रीका रुपमा चयन भए भारतमा लोकतन्त्र नबाँच्ने भन्दै विपक्षी गठबन्धनले ‘लोकतन्त्र बचाओ’ लाई प्रमुख चुनावी नारा बनाएका छन् । 

उता, प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबकी वार चार सय पार’ भन्दै चुनावमा होमिएका छन् । भारतको राजनीतिमा मात्रै मोदी हाबी छैनन् । उनको दबदबा सरकारी वेबसाइट, रेडियो, टेलिभिजन, बिलबोर्ड र रेल्वे स्टेशनमा राखिएका स्क्रीनमा पनि छ । हिन्दू राष्ट्रवादी चुनावी प्रचारले भारतमा ध्रुवीकरण निम्त्याएको भए पनि भारतीय जनता पार्टी सन् २०१४ र २०१९ का सजिलै विजयी बन्यो । त्यसैले पनि आगामी निर्वाचन पनि मोदीकै दलले जित्ने आकलन भइरहेको छ । तर, मोदीविरुद्ध निर्माण भएको विपक्षी इन्डिया गठबन्धनका मुख्य आकर्षण अरविन्द केजरीवाल नै थुनामा भएपछि विपक्षलाई असर पर्ने अनुमान सत्तापक्ष भारतीय जनता पार्टीले गरेको छ । 

भारतमा मानवअधिकारको अवस्था, धार्मिक स्वतन्त्रता, अरविन्द केजरीवालको गिरफ्तारी र कांग्रेसको खाता रोक्का गर्ने विषयमा अमेरिकाको टिप्पणीले पनि मोदी सरकारप्रतिको असहजता बढ्दै गएको देखिन्छ । विपक्षी दलहरूले सत्तारूढ भारतीय जनता पार्टीले देशका अनुसन्धान निकायहरूलाई प्रयोग गरी आफ्ना नेताहरूलाई गिरफ्तार गरेको र चुनावी अभियानबाट रोक्न खोजेको आरोप लगाइरहेका छन् । अमेरिकाले पनि केजरीवालको गिरफ्तारीलाई नजिकबाट निगरानी गरेको बताएको छ । जबकी योे आन्तरिक मामिला भएको जवाफ भारतले पठाएको छ । 

भाजपाले चुनावी लाभका लागि प्रवर्तन निर्देशनालय (ईडी), आयकर विभाग र सीबीआईको दुरुपयोग विपक्षी नेतामाथि गरेको विषयलाई टेकेर विपक्षी दलहरूले फाइदा पनि लिरहेका छन् । दुई सातादेखि केजरीवाल मात्रै होइन सरकारी जग्गा बिक्रीमा भ्रष्टाचारको आरोपमा झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेन इडी पनि हिरासतमा छन् । भाजपाले षड्यन्त्र गरेको भन्दै मतदाताको सहानुभूति बटुल्ने रणनीति ‘इन्डिया’ गठबन्धनको छ । 

यता, कांग्रेस नेता राहुल गान्धीले म्याच फिक्सिङको आशंका पनि गरेका छन् । मोदी सत्तामा रहँदा मानवाधिकारवादी समूहहरूमाथि दबाव बढेको, पत्रकार र अभियानकर्ताहरूले धम्की खेपिरहेको र विशेषतः मुसलमान समुदायमाथि आक्रमण भइरहेको भनि अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेको छ । 

फ्रिडम हाउसले सन् २०१४ मा मोदी सत्तामा आए यता भारतमा नागरिक स्वतन्त्रता खस्किँदै गएको र ‘स्वतन्त्र देशहरूको उपल्लो स्थानबाट भारतको स्तर खस्किँदा’ त्यसले विश्वको लोकतन्त्रको मापदण्डलाई क्षति पुर्याउने उल्लेख गरेको छ । ५ सय ४३ सदस्यीय भारतीय लोकसभाको चुनाव १९ अप्रिलबाट प्रारम्भ भएर सात चरणमा १ जुनसम्म हुँदैछ । 

 
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update