News 24 Television
नपत्याउँदो किसिमले स्थापित भयो आलु महोत्सव

कास्की । देशका विभिन्न भागमा समय–समयमा अनेकथरी महोत्सव आयोजना गरिन्छ । तर, पोखरामा गरिने एउटा यस्तो महोत्सव जसले किसानको खेतबारी र हरेक घरको भान्सालाई जोड्ने काम गर्छ । कुनैबेला यस्तो नि महोत्सव हुन्छ भनेर खिल्ली उडाइएको पोखरामा आयोजना हुने आलु महोत्सवले हेम्जाको आलु भनेर आलुकै ब्राण्डीङ गर्न सफल भएको छ । 

कोही बडेमानको मुला काँधमा बोकेका छन् । कोहीले बन्दा र आलुको माला लगाएको देखिन्छ । कोही हलो जुवा काँधमा बोकेर हिडिरहेका छन् । अनि कसैको गला खाली छैन जसले आलुको माला नलगाएको होस् । एकथरी महिलाहरु लामो डोरीमा स्थानीय उत्पादन झुण्ड्याउदै मानव साङ्लो नै बनाइरहेका छन् । यी दृष्यहरु हुन् पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा आयोजित आलु महोत्सवका । 

खुला चौरमा निर्माण गरिएको एक कृतिम पहाड के को होला भन्ने लाग्यो होला तर नझुक्कीनुहोस् यो पनि आलु कै पहाड हो । पोखरा २५ हेम्जा आलु उत्पादनका लागि निकै चर्चित स्थान हो । त्यो सँगसँगै यहाँ उत्पादित तरकारीले पनि पोखराको ठूलै हिस्सा ओगट्छ । गाउँको उत्पादनले बजार नपाउने तथा युवाको पलायन बढ्न थालेपछि स्थानीय विष्णु पादुका युवा क्लबले हेम्जामा आलु महोत्सव गर्न सुरु गर्यो । त्यसयता यहाँको उत्पादनले बजार त पाएको छ नै झन हेम्जाको आलु भनेर देशभरनै ब्राण्डीङ भएको छ ।

हेम्जामा कृषि उत्पादनलाई प्रसय दिँदै आलु महोत्सव गर्न थालेको पनि १० वर्ष वितिसकेको छ । यहि महोत्सवकै कारण कृषकको उत्पादनले बजार पाउने र भाउ पनि राम्रै पाउने किसानहरु हर्षित देखिन्छन् । 

देशभर कृषि पेशामा लाग्ने किसानहरुमा विस्तारै कृषिप्रतिको मोह घट्दै गएपनि पोखरा हेम्जामा भने कृषिप्रति आकर्षण बढ्दो छ ।  साथै वैदेशिक रोजगारीको लागि विदेशिने युवाहरुको संख्यामा वर्षेनी कमी आएको अर्का कृषक टेकनाथ दाहालको भनाई छ ।

हो आलु खेतीकै कारण पोखरा २५ हेम्जाको परिचय फेरिएको छ । हेम्जामा मात्रै झण्डै ३ सय हेक्टरमा आलु खेती हुन्छ जहाँ ५ सय भन्दा बढी किसानले व्यवसायिक आलु खेती गर्दै आएका छन् । हेम्जामा बार्षिक ४ हजार ५ सय मेट्रीक टन भन्दा बढी आलु उत्पादन भई बार्षिक १० करोड बराबरको व्यापार हुने गरेको पोखरा महानगरको तथ्यांकले बताउँछ ।  

तर पछिल्लो समय घरघडेरीको विस्तार तथा ग्रामीण क्षेत्रहरुबाट बसाई सरेर आउनेका कारण कृषियोग्य जमिन घट्दै गएको छ । कृषियोग्य जमिन जोगाईराख्न सक्ने तथा आलु लगाएतका विभिन्न कृषि उपजको उत्पादनमा आधुनिकीकरण भित्र्याउन सक्ने हो भने पोखरामा आयातित तरकारीजन्य बस्तुलाई स्थानीय उत्पादनले नै विस्थापन गर्नेमा कुनै दुई मत छैन । 


 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update