News 24 Television
खेलकुदका लागि २०८० वर्ष कस्तो रह्यो ? यी हुन् मुख्य उपलव्धि

काठमाडौं । नेपाली खेलकुदका लागि २०८० साल अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धिको हिसाबले सामान्य रह्यो । क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दोजस्ता खेलका नियमित गतिविधिले घरेलु खेलकुदलाई वर्षभरि नै व्यस्त बनाइरह्यो । तर, अन्तर्राष्ट्रिय स्तरका ठुला प्रतियोगितामा केही खेलले मात्र देशलाई महत्त्वपूर्ण उपलब्धि दिलाउन सके । समग्रमा २०८० साल खेल क्षेत्रको लागि कस्तो रह्यो ? 

केही वर्षयता नेपाली खेलकुदमा क्रिकेटले राज गर्दै आएको छ । २०८० साल पनि क्रिकेटमय नै बन्यो । नेपालले २०८० वैशाखमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएर सुरु गरेको थियो । 

वर्षको अन्तिम दिन पनि नेपालले फेरि एसिया कपमा छनोट हुने र उपाधि जोगाउने लक्ष्यसहित प्रिमियर कपकै अर्को संस्करणको सुरुवात गरेको छ । 

एसियन गेम्समा नेपालले टी–ट्वान्टी आईको एकै खेलमा सबैभन्दा छिटो शतक र अर्धशतकको कीर्तिमानसहित एकै खेलमा सर्वाधिक रन बनाउने र फराकिलो अन्तरको जितको कीर्तिमान बनायो । तर, वर्षको अन्तिमतिर सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान भने नामिबिया तोड्यो । 

उमेर समूहमा नेपालको अन्डर नाइटीन टोलीले ८ वर्षपछि विश्वकप खेल्यो । महिला क्रिकेटमा पनि रुविना क्षेत्रीले ठूलो सफलता हात पारिन् । एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध शतक प्रहार गर्दै उनी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनिन् ।

फुटबलमा निराशाजनक

नेपाली फुटबल भने यो वर्ष निराशाजनक रह्यो । विगतका वर्षजस्तै यो वर्ष पनि विभिन्न क्लबको सक्रियतामा देशभित्र फुटबलका थुप्रै प्रतियोगिता आयोजना भए । तर, लोकप्रिय खेल फुटबलले वर्षभरि नै समर्थकको मन कुँड्याउने काम मात्र ग¥यो । नेपाली फुटबलले अन्तर्राष्ट्रियस्तरमा गर्व गर्न लायक कुनै उपलब्धि हासिल गर्न सकेन । 

नेपाली फुटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारी वर्षभरी नै आपसी विवादमा अल्झिरहे । फुटबल विकासभन्दा पनि आन्तरिक कलह र एकपछि अर्को साधारणसभा गर्नमै व्यस्त बने । 

आर्थिक अनियमितताको विषयलाई लिएर एन्फा पदाधिकारीहरूविरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी प¥यो । वर्षको अन्त्यतिर युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबिचको जुहारीले खेलकुदलाई मजैले ततायो । 

एन्फाका पदाधिकारीहरू आपसी विवादमा अल्झिरहँदा फिफा विश्वकप छनोट फुटबलमा नेपालको निराशाजनक प्रदर्शन रह्यो । विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले चारमध्ये एक खेल पनि जित्न सकेन । 

दोस्रो चरणको विश्वकप छनोटमा अब नेपालले दुई खेल खेल्न बाँकी छ । तर, नेपाल प्रतियोगिताको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । 

घरेलु मैदानमा आयोजना भएको साफ अन्डर सिक्सटिन महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा पनि निराशाजनक प्रदर्शन रह्यो । पश्चिम एसियाली फुटबल महासंघ महिला च्याम्पियनसिपको आठौँ संस्करणमा नेपालले सहभागिता जनायो । आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको नेपाल उपविजेता बन्यो । 

नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी सामबाले देश विदेशी भूमिमा ऐतिहासिक प्रदर्शन गर्दै कीर्तिमान बनाइन् । यस्तै विदेशी लिगमा उनले उडान भर्दै फ्रान्ससम्म पुगिन् । 

कराँते, म्याराथन र कबड्डी सफलता 

कराँते खेलाडी एरिका गुरुङले विश्व च्याम्पियनसिपमा स्वर्ण र एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितिन् । यसैगरी एरिकाले यूएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पनि स्वर्ण र रजत पदक जितिन् । 

सन्तोषी श्रेष्ठले यस वर्ष अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा डेब्यूमात्र गरिनन्, डेब्युमै उनले ऐतिहासिक स्वर्ण पदक समेत जितिन् । चिनमा भएको चौंथो पारा एसियन गेम्समा पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जितिन् । 

यस्तै एसियाली खेलकुदमै नेपालको महिला कबड्डी टोलीले पनि ऐतिहासिक कांस्य पदक जित्यो । महिला धावक रशिला तामाङले एसिया ट्रेल मास्टर्स सिरिजको फाइनल इभेन्टको उपाधि जित्दै इतिहास रचिन् । यस्तै अर्की चर्चित धाविक सुनमाया बुढाले चीनमा भएको गोल्डेन ट्रेलको उपाधि जितिन् । 

मुआथाईका खेलाडी गुणराज रुचालले पनि विश्व मुवाथाई च्याम्पियनसिपमा सेमी–प्रोतर्फ ऐतिहासिक स्वर्ण जिते । राजनीतिक रुपमा भने यो वर्ष पनि खेल क्षेत्र उपक्षेमै पर्यो । खोलाडीहरुले सरकारबाट घोषित पुरस्कार समेत पाएनन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update