
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हाल बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ । काभा नेसन्स कप खेल्दै नेपाली टोली करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किंदैछ । के कसरी भइरहेको छ त, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी ?
नेपाली राष्ट्रिय पुरुष भलिबल टोली अहिले आन्तरिक तयारीमा व्यस्त छ । करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किंन लागेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हाल बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ । नेपालले आगामी अक्टोबर २२ देखि २८ सम्म बंगलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्दैछ ।
यसको तयारीका लागि नेपाली टोलीले गत असोज २ गतेदेखि प्रशिक्षण गरिरहेको छ । करिव एक महिनाको तयारीबाट नै नेपालले ६ राष्ट्रले प्रतिष्पर्धा गर्ने काभा नेसन्स कपमा पदक जित्ने लक्ष्य राखेको छ । टोलीको तयारी छोटो छ भने अधिकांश युवा खेलाडी छन् । लामो समयदेखि खेलिरहेका अनुभवी खेलाडीहरू पलायन भइसकेका छन् । त्यसैले टोलीमा अधिकांश युवा खेलाडीहरू छन् । यसमा पनि टोलीले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।
उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य
भरत यादवको मुख्य प्रशिक्षणमा नेपाली टोलीले राउन्ड रोबिन लिगमा हुने प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । प्रशिक्षक भरतले दशैं अगाडिदेखि नै प्रशिक्षण गर्दै आएको र तयारी राम्रो भएको बताएका छन् । उनले श्रीलंका, बंगलादेश र तुर्कमिनिस्तान सबैभन्दा टोली रहेको बताए, तर, पनि पदक जित्ने लक्ष्यसहित यी देशविरुद्ध खेल्ने प्रशिक्षक यादवको लक्ष्य छ ।
लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाए पनि खेलाडीले नियमित घरेलु प्रतियोगिता खल्ने पाएको उनी बताउँछन् । व्यक्तिगत रूपमा पनि क्षमतावान् खेलाडीले रहेकाले म्याच एक्सपोजरको कमी नदेखिने प्रशिक्षक यादवको विश्वास छ । लगातार पाँच खेल्न सक्ने फिटनेस खेलाडीमा आएको प्रशिक्षकको दाबी छ । देशमा जटिल परिस्थिति सिर्जना भए पनि नेपाल भलिबल संघले ठूलो आर्थिक भार उठाउँदै टोली पठाउने तयारी गर्नु नै रहेको प्रशिक्षक यादवको भनाइ छ । टाइसिट सार्वजनिक भएलगत्तै नेपालले त्यहीअनुरूप तयारी गरिरहेको उनी बताउँछन् । काभा यु–१९ मा राम्रो नतिजा ल्याएकाले पनि टोलीको मनोबल उच्च रहेको उनको विश्वास छ ।
नेपाल भलिबल संघ (एनभिए) ले लिफ्टर हरिहजुर थापालाई नेपाली राष्ट्रिय भलिबल टोलीको कप्तानमा पुनः जिम्मेवारी दिइसकेको छ । विभागीय टोली त्रिभुवन आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरले पुनः नेपाली राष्ट्रिय टोलीको कप्तानीमा जिम्मेवारी पाएका हुन् । दुई वर्षअघि उनले पहिलोपल्ट देशको कप्तानी गर्ने अवसर पाएका थिए । तर, अनुशासनबाहिरको काम गरेको आरोपमा उनी एक महिनामै निलम्बनमा परे ।
त्यसपछि आर्मीकै मानबहादुर श्रेष्ठ नेपाली टोलीको कप्तानमा नियुक्त भए । तर, मानबहादुर अस्ट्रेलिया पलायन भएपछि नेपाली भलिबल टोली कप्तानविहीन थियो । संघले काभा नेसन्स कप अगाडि नै हरिहजुरलाई जिम्मेवारी दिएको हो । नवनियुक्त कप्तान हरिहजुरले तयारी कम भएको र त्यसैले टिम सेट हुने तरिकाले मात्र प्रशिक्षण गरिरहेको बताएका छन् । तर, आफ्नो टोली च्याम्पियन हुने लक्ष्यसहित तयारी गरिरहेको उनी बताउँछन् ।
खेल कहिले कोसँग ?
- नेपालले आगामी अक्टोबर २२ देखि २८ सम्म बंगलादेशको ढाकामा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कप खेल्दैछ ।
- उद्घाटन खेल नेपाल भर्सेस तुर्किमिनिस्तान
- अक्टोबर २३ मा हुने दोस्रो खेल नेपाल भर्सेस बंगलादेश
- अक्टोबर २४ मा माल्दिभ्ससँग खेल्ने तालिका
- राउन्ड रोविन लिगको चौथो खेलमा नेपालले एक दिनको आरामपछि अफगानिस्तानसँग खेल्ने
- त्यसपछि अक्टोबर २७ मा नेपालले श्रीलंकासँग खेल्ने
- लिगको शीर्ष दुई स्थामा रहने टोलीले फाइनल खेल्ने
यि खेलहरुका लागि १८ सदस्यीय प्रारम्भिक टोलीबाट यसअघि नै १४ सदस्यीय टोली घोषणा भइसकेको छ ।