News 24 Television
नेपालमा कम्युनिस्टको नालीबेली, वर्तमानमा छिन्नभिन्न

काठमाडौँ । नेपालको कम्युनिष्ट आन्दोलनले ७५ औं वर्ष पार गरेको छ । २००६ सालमा खुलेको कम्युनिष्ट पार्टी विभिन्न आरोह–अवरोह पार गर्दै मुलुकलाई वामपन्थी भूमिको रुपमा चिनाउन सफल देखिए पनि कम्युनिष्ट दलहरु भने मिलापमा भन्दा विभाजनमै विश्वास गर्ने स्थिति सिर्जना गरिरहे । सशस्त्र युद्धदेखि विभिन्न आन्दोलनको अगुवाई गर्दै आएका दलहरु सरकारको नेतृत्वमा पुग्नेदेखि एकता–विभाजनको कोपभाजनबाट उनीहरुले कस्तो सन्देश दिन खोजिरहेका छन् ? वामपन्थी लिगेसी र एकताको विषय कस्तो बन्ला त ? 

मुलुक चरम संकटमा छ । भ्रष्टाचार, कुशासन, गरिबी र राज्यको अनियन्त्रित दमनका श्रृङ्खलाहरु रोकिएका छैनन् । मुलुकको वाहुल्य जनसंख्याले वामपन्थी रुझानलाई अनुमोदन गर्दै आएको देखिन्छ । तर, किन वापन्थीहरु एक हुन सक्दैनन् ? यो मूल प्रश्न बनिरहेको   छ । नेपालमा ठुलो कम्युनिष्ट दलमध्येको एक नेकपा एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्षको अवसरमा आयोजना गरेको हीरक जयन्ती उल्लासमय त बन्यो । 

तर, उनीहरु एकता र एकीकरणभन्दा पनि सुझबुझपूर्ण परिस्थिति निर्माणको पक्षमा बहसमा उत्रिएका छन् । कम्युनिष्ट वामपन्थी एकताका निम्ति जोखिम मोल्नुपर्नेमा जोड दिएका प्रधानमन्त्री प्रचण्डले समाजवादमा पुग्न पनि जोखिम मोल्नुपर्नेमा विश्वास व्यक्त गरे । केपी ओलीलाई विश्वास गर्न चाहन्छु भन्दै प्रधानमन्त्री प्रचण्डले सहकार्यको प्रस्ताव समेत गरे । तर, हौसिएर एकता गर्ने पक्षमा नरहेको उनको जोड छ ।

प्रचण्डले भनेजस्तै एमाले अध्यक्ष केपी ओली पनि तत्काल वामपन्थी एकताको माहोल नबनेकोमा दृढ देखिन्छन् । पार्टी किन फुट्यो भन्ने प्रश्नको जवाफ दिन नसक्नेबेलासम्म एकता हुन नसक्ने निष्कर्ष सुनाएका ओलीले सहमति, सहकार्यको वातावरण बनाएर अघि बढ्दै जाँदा एकता हुनसक्नेमा जोड दिएको देखिन्छ । 

नेपालको वामपन्थी आन्दोलन किन एकीकृत हुन सकेन भन्दै चिन्ता व्यक्त गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट एकता किन विभाजन हुन पुगे भन्ने प्रश्न गरिन् । पार्टी विभाजन हुनुका पछाडी वैचारिक कारण थिए वा पदीय लाभहानी भन्दै भण्डारीले खरो प्रश्न समेत गरिन् ।, 

छिन्नभिन्न कम्युनिष्ट

२००६ सालमा नेपालको कम्युनिष्ट आन्दोलन शुरुवात भएको मानेर मनाइएको हीरक जयन्तीसम्म आइपुग्दा पार्टीहरु छिन्नभिन्न देखिन्छन् । कम्युनिष्ट पार्टी भन्नेहरुले राजाको पक्षमा वकालत गर्नेदेखि संघीयताको विरोध गर्नेसम्मका चरित्र देखिएका छन् । कम्युनिष्ट नाम राखेपनि आफू एक्लै रहेर पार्टी सञ्चालन गर्ने प्रवृत्ति पनि उच्च छ । 

कुन कम्युनिष्ट पार्टी कसको नेतृत्वमा ?
१    नेकपा एमाले    -  केपी शर्मा ओली
२    नेकपा माओवादी केन्द्र  -   पुष्पकमल दाहाल ‘प्रचण्ड’
३    नेकपा एकीकृत समाजवादी  -  माधवकुमार नेपाल
४    नेपाल मजदूर किसान पार्टीे  - नायणमान विजुक्छें
५    नेकपा मसाल (भूमिगत पार्टी)  -  मोहनविक्रम सिंह
६    नेपाल कम्युिनष्ट पार्टी -   नेत्रविक्रम चन्द ‘विप्लव’
७    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल -   मोहन वैद्य किरण
८    नेकपा संयुक्त  -  चन्द्रदेव जोशी
९    नेकपा माले -   सीपी मैनाली
१०   नेकपा माक्र्सवादी -   लोकनारायण सुवेदी
११   वैज्ञानिक समाजवादी पार्टी  -  विश्वभक्त दुलाल ‘आहुति’
१२   नेकपा माओवादी  -  गोपाल किराती
१३   आम जनता पार्टी  -  प्रभु साह
१४   नेकपा एकता राष्ट्रिय अभियान  -  वामदेव गौतम
१५   नेपाल कम्युनिष्ट पार्टी  -  ऋषि कट्टेल
१६   राष्ट्रिय जनमोर्चा (खुल्ला पार्टी)  -  चित्रबहादुर केसी

 

कुन पार्टी कसरी बने ?

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएपनि एकता टुंगो लाग्न सकेन, विभाजनमा  पुग्यो । त्यसपछि एमालेबाट विद्रोह गर्दै माधव नेपालको नेतृत्वमा नेकपा एस बन्यो भने वामदेव गौतमले समेत छुट्टै पार्टीको अस्थित्व बनाए । यस्तै, माओवादी पृष्ठभूमिका पार्टीहरुमा वैद्य, विप्लव, आहुति, किराति, साह लगाएत हुन् ।  डा. बाबुराम भट्टराई पनि छुट्टै पार्टी बनाएर सक्रिय छन् । तर, उनले आफूलाई कम्युनिष्ट भन्न रुचाउदैनन् । 

कम्युनिष्ट लिगेसी

नेपालमा वामपन्थी दलहरुको संख्या नै १५ हाराहारी पुगेको देखिन्छ । यसरी हेर्दा २००६ सालमा स्थापना भएको कम्युनिष्ट आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने समेत मतभेद देखिन्छ । यस्तोमा माओवादीले १० वर्ष लामो युद्ध नै गरेपछि एमालेको प्रभाव कम हुने अपेक्षा नगरिएको होइन् । यस्तोमा एमाले–माओवादी एकताको अभ्यास पनि नभएको देखिन्न तर, विचारको नेतृत्व भने एमालेले नै गर्ने दाबी एमाले नेतृत्वको छ । 

विचारधारामा माक्र्सवाद, लेनिनवाद र माओवादमा कसलाई अंगाल्ने भन्ने विवाद कम्युनिष्ट पार्टीमा लामो समयदेखि नै देखिन्छ । यस्तोमा विभिन्न समयमा एकता हुने र टुट्ने प्रक्रिया समेत तीब्र नबनेका भने होइनन् । तर, अहिले एजेण्डाको हिसाब र संविधानको लय हेर्ने हो भने मुलुक माओवादीको एजेण्डामा नै हिडेको देखिन्छ । 

संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता लगायतका विषय माओवादीकै हुन् । तर, एमाले नेतृत्व भने यो मान्न तयार देखिन्न । हीरक जयन्ती मनाएर एमालेले कम्युनिष्ट पार्टीको लिगेसी भने आफूले लिन खोजेको प्रष्ट देखिन्छ । एमालेले वामपन्थी दलहरुलाईमात्रै नभएर अन्य दललाई समेत एक ठाउँ राखेर दिन खोजेको सन्देशले पनि अब वामपन्थी आन्दोलनको मुख्य लिगेसी एमालेले लिन अग्रसरता लिएको भने पक्कै देखिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update