News 24 Television
काठमाडौँका नीजि विद्यालयले टेरेनन् महानगरलाई

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशी नाम राखेर सञ्चालन भईरहेका निजी विद्यालयलाई नाम परिमार्जन गर्न निर्देशन दिए पनि अटेरी गर्दै आएका छन् । 

महानगरपालिकाले सूचना प्रकाशन गरि संस्थागत विद्यालयहरुलाई मौलिक नेपाली नाम राख्न निर्देशन दिएको छ । 

केही विद्यालयले नाम परिमार्जन गर्न तयार भए पनि विदेशी नाम राखेर विद्यार्थीलाई आकर्षित गर्ने गरेका १ सय २२ निजी विद्यालय सञ्चालकले  महानगरले दिएको निर्देशनको अटेर गरेका छन् । नेपालमा विगत लामो समयदेखि दुई शिक्षा रहेको भन्दै विभिन्न कोणबाट हुने गरेको बसह नयाँ होइन । 

निजी विद्यालयहरुले अंग्रेजी माध्यामबाट पठनपाठन गरेपछि त्यसतर्फ विद्यार्थीहरुलाई आकर्षित हुनु स्वभाविक नै हो । 


निजी विद्यालयहरुले अंग्रेजी माध्यामको पठनपाठन मात्र होइन, विदेशी मोह झल्काउने गरी विद्यालयको नाम राखेर विद्यार्थीलाई आकर्षित गरिरहेका छन् । 

त्यस्ता कतिपय विद्यालयले विद्यार्थी युरोप, अमेरिका पठाउने पुलको कामसमेत विद्यालयबाट गरिरहेका छन् । युरोप अमेरिकाको पठाउन सजिलो हुने भन्दै अभिभावकहरुले पनि यस्तै विद्यालयको पछाडि दगुरिरहेका छन् । 

विदेशी मोह झल्काउने गरि सञ्चालन भइरहेका यस्ता विद्यालयको नाम परिमार्जन गर्न केही वर्षअघि भएको प्रयास भने सफल हुन सकेन । 

अहिले काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह भने कुनै पनि हालतमा विद्यालयको विदेशी नाम हटाउने योजनामा छन् । त्यसैले महानगरपालिकाले मौलिता झल्किने नाम राख्न त्यस्ता विद्यालयहरुलाई निर्देशन दिएको छ । 

महानगरको निर्देशनपछि केही विद्यालयले नेपाली नाम जुराउन थालेका छन् । केहीले नयाँ राख्दा त्यसको अगाडि दर्ता कसैले लिए÷नलिएको खोज्न थालेका छन् । केही पुरानो नाम फेर्दा व्यवसायमा असर पर्ने भन्दै अटेरी गरेका छन् । 

अहिलेसम्म २ सय २ विद्यालयले प्रस्तावित नाम बुझाएका छन् भने १ सय २२ विद्यालय महानगरको सम्र्पकमा नै आएका छैनन् । विद्यालयको नाम नेपालीमा नराख्ने निजी विद्यालयलाई महानगरले शिक्षा ऐन अन्र्तगत कारवाही प्रकृया अघि बढाउने तयारी गरेको छ । 

काठमाडौ महानगरपालिकाले गत चैत्र १५ गते १ महिनाको समय दिएर नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको थियो । 

महानगरपालिका भित्र ५ सय १२ वटा संस्थागत विद्यालय छन् । ती मध्ये ३ सय २४ वटा निजी विद्यालयले अंग्रेजी नाम राखेका छन् । 

२०२८ को शिक्षा ऐन तथा नियमावलीमा नै विद्यालयको नाम नेपालीपन झल्कने खालको राख्नु पर्ने प्रावधान छ । 

२२ बर्ष अघि बनेको शिक्षा नियमावली र ६ बर्ष अघि बनेको काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा पनि नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । 

समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक सम्पदाका नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न सकिने प्रावधान नियमावलीमा छ । 

नियमावली अनुसार २५ प्रतिशत विदेशी विद्यार्थी रहे मात्रै विद्यालयले ‘अन्तर्राष्ट्रिय’ (इन्टरनेसनल) भनेर राख्न पाउँछन् । १ जना पनि विदेशी विद्यार्थी नै नराखी धेरै शैक्षिक संस्थाले ‘इन्टरनेसनल स्कुल’ भनेर नामकरण गरेका छन् । 

सरकार आफैले नै  ऐन मिचेर धमाधम अंग्रेजी नामलाई स्विकृत दिएका कारण समस्या देखिएको विज्ञको तर्क छ ।कानुनले शैक्षिक संस्थाको नाम नेपालीपन झल्कने खालको राख्नुपर्ने व्यवस्थामा केही विद्यालय सञ्चालनहरुले  राजनीतिक पहुँचका आडमा आलटाल र मोलमोलाइ गर्दैछन् । 

शैक्षिक क्षेत्रमा अंग्रेजी नामबाटै आफ्नो ब्रान्डिङ गर्न सफल केही निजी विद्यालय भने नेपाली नाम राख्न सहमत भएका छन् । 

 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update