News 24 Television
नेपाली नेताहरूको दास मानसिकता, स्वागतदेखि व्यवस्थापन पक्षसम्म दरिद्र !

काठमाडौँ । मंगलबार कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा ओर्लिए । कतारका राष्ट्र प्रमुखसमेत रहेका थानीलाई स्वागत गर्न नेपालका राष्ट्रप्रमुख (राष्ट्रपति) रामचन्द्र पौडेल विमानस्थमै गए ।

विदेशी समकक्षीको स्वागतमा राष्ट्रपति पौडेल विमानस्थलमा जानु मर्यादाका हिसाबले उचित हो । तर उदेक के कुरामा लाग्छ भने राष्ट्रपतिले स्वागत गरिसकेपछि पनि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उप–प्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायत मन्त्रिपरिषद्का अन्य सदस्य समेत लहरै थानीको स्वागतका लागि विमानस्थल पुगे । भ्रमण सकेर थानी बुधबार स्वदेश फिर्ता भएका छन् । उनको बिदाइ गर्दा पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरु उसरी नै विमानस्थल पुगेको देखियो ।  

सामान्यतया विदेशी विशिष्ट पाहुनाको स्वागतका लागि सकेसम्म मर्यादाक्रम मिल्ने समकक्षी मात्र विमानस्थलमा पुग्ने परम्परा छ । तर नेपालमा राजा र राजतन्त्र लखेटेर गणतान्त्रिक व्यवस्थाका शासक बनेका नेताहरू विदेशी राजाको स्वागतमा किन यसरी मरिहत्तेगरी सबै विमानस्थल पुगे ? यो प्रश्नले सचेत नेपाली नागरिकको मथिंगलमा घोचेको हुनुपर्छ । जतिसुकै शक्तिशाली राष्ट्र भए पनि राष्ट्रिय सार्वमौमिकताका हिसाबले सबै राष्ट्र समान मानिन्छन् । कतारी राजाका सामु यसरी नेपाली शासकहरू डल्लै लम्पसार पर्नुले उनीहरूको दास मानसिकता तथा भिखारी चरित्र नाङ्गै प्रदर्शन भएको छ । 

अर्को लज्जास्पद घटना

कतारी राजा थानीले नेपाल सरकारले उपलब्ध गराएको कार चढ्न नमानेको घटना लज्जास्पद देखिन्छ । विमानस्थलबाट बाहिरिने क्रममा नेपालले उपलब्ध गराएको साँघुरो कार चढ्न खोज्दा थानीको घुँुडा ठोक्किएपछि उनी त्यस कारबाट ओर्लिएर कतार राजदूतावासले उपलब्ध गराएको फराकिलो कारमा चढेको दृश्य मिडियामा आएको छ ।

नेपाली नेताहरूभन्दा अग्लो कदका कतारी राजाका लागि सवारी साधन व्यवस्थापनमा नेपाली पक्षबाट भएको यो लज्जास्पद घटना हो । सामान्यतया ठूला र शक्तिशाली देशका विशिष्ट व्यक्ति अन्य देशको भ्रमणमा जाँदा विशेष विमानमार्फत आफ्नै कारसमेत लैजाने गर्दछन् । कतारले पनि थानीको नेपाल भ्रमणमा कारको व्यवस्था आफैँले गर्ने प्रस्ताव पठाएको तर नेपाल सरकारले यतै व्यवस्था गर्ने बताएको खुल्न आएको छ । उसोभए थानीको कद सुहाउँदो कारको व्यस्था गर्नेतर्फ भने सरकारी पक्षको ध्यान नगएको देखिन्छ ।

कमजोर मिडिया कूटनीति

कतारी राजाको भ्रमणलाई सत्ता पक्षबाट जुन ढंगले महत्व दिइयो र स्वागत–सत्कार गरियो, त्यसको प्रचार–प्रचारमा भने सरकारी मिडिया नै चुकेको देखिन्छ । सरकारको लगानीमा चल्ने अंग्रेजी भाषाको पत्रिका ‘द राइजिङ नेपाल’ले कतारी राजाको नेपाल आगमनबारे मुखपृष्ठमा सामान्य समाचारबाहेक अरु केही लेखेको देखिन्न । सम्पादकीय लेखेर तथा दुई देशबीचका सम्बन्धबारे चर्चा, बहस चलाएर अन्तर्राष्ट्रिय भाषामा मिडिया कूटनीति झल्काउन सक्नुपर्ने कूटनीतिक विज्ञहरू बताउँछन् ।

कतारको अंग्रेजी भाषाको पत्रिका ‘गल्फ टाइम्स’ले भने थानीको यो भ्रमणका विविध पाटोलाई व्यापक रुपमा कभरेज गरेको छ । नेपालमा कतारको लगानी र आपसी सहकार्य, दुई देशका राजदूतहरूको भनाइ, विगतमा भएका अन्य भ्रमण लगायत विषय समेत बहसको रुपमा गल्फ टाइम्सले छापेको देखिन्छ । कतारी राजाको यो भ्रमणमा नेपालको पक्षबाट भने ‘मिडिया कुटनीति’ कमजोर देखिएको छ ।

वार्ता र सम्झौता

यस क्रममा नेपाल र कतारबीच द्विपक्षीय सहकार्यका ६ क्षेत्रमा सम्झौता भएको छ । बुधबार प्रधानमन्त्री प्रचण्ड र अमिर थानीको भेटवार्तामा दुवै देशका प्रतिनिधिमण्डलबीच भएको छलफलपछि सम्झौता–पत्रमा कानूनमन्त्री पदम गिरी र उनका कतारी समकक्षीले हस्ताक्षर गरे । दुई देशका संस्कृति र कलाको प्रवर्धन, कतार र नेपालका राष्ट्रिय समाचार संस्थाबीच समाचार आदानप्रदान, उच्चशिक्षा र वैज्ञानिक अनुसन्धानसम्बन्धी, युवा र खेलकुद सहकार्यसम्बन्धी समझदारी तथा दुई देशका महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो ।

यस्तै निजीस्तरमा कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच २ वटा सम्झौता भएका छन् । तर नेपाली पक्षले अपेक्षा गरेको पोखरा तथा भैरहवाबाट कतारको सीधा उडान लगायत अन्य महत्वपूर्ण विषयमा भने कुनै समझदारी भएन । 

र, अन्त्यमा

राजा भन्दैमा श्रीपेच नै लगाएका र तामझामपूर्ण जीवनशैली बाँच्ने नहुँदा रहेछन् भन्ने कतारी राजाको सादा जीवनशैलीले दर्शाएको छ । नेपालमा अढाई वर्षको सामन्ती राजसंस्था मासेर गणतन्त्र ल्याएका र अहिले त्यही व्यवस्थाको आडमा जनता चुसेर राजा–महाराजाभन्दा बढ्ता विलासी जीवनशैली बाँचिरहेका राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीलगायत शासकहरू छन् ।

सत्ता–भोग गरेर विलासको लालसमा चुलुम्म डुबेका नेपाली शासक तथा नेताहरूका अघि कतारी राजा त एक सामान्य नागरिकसरह लाग्नु अनौठो विषय हो । कुनै पनि देश विकसित र शक्तिशाली हुनका लागि तन्त्र वा व्यवस्थाले खासै फरक पार्ने रहेनछ, शासनशैली र शासकहरूको नियतले फरक पार्ने रहेछ । नत्र ता नेपालमा राजा लखेटेर विकास ल्याउँछौ भन्ने अहिलेका नवराजाहरू कतारी राजाका सामु भीख माग्न लम्पसार पर्ने थिएनन् ।

देश बनाउनका लागि ठूला भाषण र रवाफिलो जैवनशैली चाहिँदैन, शासकहरूको नियत, विवेक, बुद्धिमत्ता, व्यक्तित्व, कूटनीति, दुरदर्शिता र क्षमतादेखि व्यवस्थापन पक्ष ‘स्मार्ट’ हुनुपर्छ भन्ने कुरा कतारी राजाबाट सिक्ने कि ? 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update