News 24 Television
ओलीसामु लम्पसार प्रचण्ड : सत्ताको आयु कि एकताको आशा ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ एकताका निम्ति हतारिएको मनस्थितिमा देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीसँग निकटता बढाउने प्रयत्न समेत गर्ने र ओलीका आक्रोशलाई अभिव्यक्तिबाट सच्याइदिने प्रयत्नमा जोडिदा, के प्रधानमन्त्री प्रचण्ड पार्टी एकताका निम्ति हतारिएका हुन ? प्रश्न उठेको छ । 

माओवादी केन्द्र शान्ति प्रक्रियापछिकै कमजोर स्थितिमा छ । जनताको उपेक्षामा परेको माओवादि केन्द्रलाई आफ्नो विरासत कसरि जोगाउने भन्ने चिन्ता उत्तिकै छ । पुराना दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको दबदबा र नयाँ दलहरुले जबरजस्त स्थान बनाइरहेको बेला माओवादी भने समिकरण, गठबन्धन र सहकार्यमै अल्झिन खोजिरहेको छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि जनमतको संकटमा फसेको विषयमा जानकार छन् । उनले यहि देखेर नै हुनुपर्छ, घरिघरि पार्टी विघटन नै गरिदिउँ कि जस्तो लाग्छ भन्दै चेतावनी नै दिने गरेका छन् । संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता जस्ता मुद्दा स्थापित गराउन सफल माओवादी केन्द्र पार्टी विभाजन, गुट परस्त मानसिकता लगायत विषयले थिलोथिलो बन्न पुगेको छ । यस्तोमा पछिल्लो समय फेरि प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको सराहना गर्न समय खर्चिन थालेका छन् । 

प्रधानमन्त्री प्रचण्डले ओलीलाई सार्वजनिक कार्यक्रममै विश्वास गर्न चाहन्छु भन्दै गरेको भाषणको तात्पर्य पार्टी एकीकरणसँग शक्ति आर्जन हो वा सत्ता लम्ब्याउने खेल ? धेरै मानिस अलमलमा परिरहेको देखिन्छ । प्रचण्डले वामपन्थी एकताको विषयलाई जोड दिदै गर्दा ओली भने तत्काल एकता गरे किन फुट्यौं भन्ने प्रश्नको सामना गर्न कठिन हुने तर्क गरिरहेका छन् । यस्तोमा प्रचण्ड पनि हो मा हो मिसाइरहेका छन् । 

पार्टी एकतासम्म जानलाई एमाले अध्यक्ष केपी ओली लगभग तयार नै देखिन्छन् । तर, ओलीका केहि सर्त गम्भीर किसिमका भएकाले प्रचण्ड हच्किएको र ओलीले सार्वजनिक रुपमाएकता तत्काल नहुने हभिव्यक्ति दिएर प्रचण्डमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्न खोजेको बताइन्छ । यतिमात्रै नभई नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा ओलीले सुखी नेपाली समृद्ध नेपाल भन्ने शब्दबारे दिएको अभिव्यक्तिलाई प्रचण्डले हुबहु उतारिदिएका छन् । 

ओलीको भनाइमा सही थाप्दै 

प्रधानमन्त्री प्रचण्ड आफ्नो सत्ताको आयुबारे अत्यन्तै सचेत छन् । पार्टीको घट्दो लोकप्रियता र अर्को चुनावमा अस्तित्व रक्षाको लडाई चर्को पर्ने देखिएकाले पनि उनी सकेसम्म एमाले पंक्तिलाई सहज रुपमा लिने गरि अघि बढ्न खोज्दैछन् । देशैभर बलियो संगठन भएको एमालेसँग एकता वा तालमेल गर्न सकेमात्रै पनि माओवादीको अस्तित्वमा प्रश्न उठ्दैन भन्ने बुझाई प्रचण्डमा छ । तर, ओली भने स्थिति जे जस्तो भएपनि मिसन ०८४ को नारासहित एक्लै चुनाव लड्ने र गठबन्धन र समिकरणले मुलुक नबन्ने भन्दै कडा अभिव्यक्ति दिन थालेका छन् । 

ओलीले यस्ता अनेक अभिव्यक्ति दिएपनि प्रधानमन्त्री प्रचण्ड भने ओलीको पक्षमा समय खर्चिन थालेका छन् । 

रक्षात्मक प्रचण्ड

माओवादी केन्द्र जनमतको संकटमा छ । माथि फुकेको तल सुकेको पार्टी बन्न थालेको माओवादी केन्द्रमा सत्ताको लुछाचुडी भने तीब्र बनिरहेको छ । पार्टीको आन्तरिक विवाद उत्कर्षमा छ । प्रचण्डमाथि परिवारवादको आरोप लागिरहेको छ । उनले केन्द्रमा गर्ने निर्णय लागू गराउनैपर्ने बाध्यताकाबीच पछिल्लो समय माओवादी थप संकटतर्फ हेलिएको छ । यसमा प्रतिपक्ष कांग्रेसले दिएको चुनौति र उसले चालेका कदमहरुले पनि प्रचण्डलाई झस्काएको छ । 

कांग्रेस र एमाले नेताहरुबीचको निकटता र कांग्रेस नेताहरुले ठोकुवा गरेरै सत्ता गठबन्धनको आयु समेत तोक्न थालेपछि प्रचण्ड झस्किएका छन् । त्यसैले पनि   प्रचण्ड एमाले लगायत वामपन्थी दललाई लिएर शक्ति आर्जन गर्ने मुडमा पुगेका देखिन्छन् । यहि कारण पनि उपचुनावमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार दिएर मत सुरक्षित गर्ने सम्म सोचेन् । उम्मेदवार नै नउठाउदा भएको मत पनि विस्तारै भाँडिने देखिन्छ । जुन माओवादी केन्द्रका निम्ति नै घातक विषय बन्ने खतरा छ । 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update