News 24 Television
स्थानीय नेताहरूको पौठेजोरी, विद्यार्थीको बिचल्ली

बारा । सरकारले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा वृद्धिमा वर्षेनी करोडौं रकम लगानी गर्दै आएको छ । तर, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार सरकारी अपेक्षा अनुसार हुनै सकेको छैन । सामुदायिक विद्यालयमा राजनीतिक भर्ति गराउने प्रवृतिले पठनपाठननै ठप्प हुनेसम्मका घटना भइरहेका छन् । 

सरकारी विद्यालयहरु राजनीतिक अखडा भइरहेका उदाहरण थुप्रै छन् । जसमध्ये एक बाराको निजगढ नगरपालिका वडा नम्बर १० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हो । यहाँ स्थानीय राजनीतिज्ञको इसारामा आफुले चाहेको मान्छे विद्यालयमा ल्याउन स्थानीय दबाब दिँदै गएको मंगलबारदेखि तालाबन्दीमा उत्रेका छन् । स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन सञ्चालन हुन सकेको छैन ।

निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनुपर्ने माग स्थानीयको छ । विद्यालयमा तालाबन्दी गर्ने राजनीतिक दलका प्रतिनिधिहरुले आफुहरुको  योजनामै तालाबन्दी भएको स्वीकार गर्दै आफुले चाहेको नभएमा कुनै पनि हालतमा तालाबन्दी नखोल्ने चेतावनी दिइरहेका छन् ।

यता, विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदस्थापन गरेका शिक्षकहरुलाई प्राथमिकतामा राखेर हाजिर गराउनु पर्ने अवस्था रहेको बताइरहेको छ । सरुवा प्रक्रिया पनि पूरा नभएकोले शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने विद्यालय प्रशासनले प्रष्ट बताएको छ । अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भएपनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएका  छैनन् ।   

स्थानीय नेताहरुले विद्यालय क्षेत्रमा यस्तो दादागिरी देखाउनु राम्रो नभएकाले यस विषयलाई समाधानको बाटोमा जानुपर्ने यहाँका जनप्रतिनिधि बताउँछन् ।

विवादको जड के ?

यस विद्यालयमा विवादको जड भनेको  आफ्नो मान्छे कसरी स्थापित गराउने भन्ने नै देखिन्छ । शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेकाहरुलाई जिल्ला शिक्षा समन्वय ईकाइ बाराको सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गराएपछि विवादले उग्र रुप लियो । समितिबाट पदस्थापन गरिएका शिक्षकहरुलाई हाजिर नगराउन दबाब दिँदै अभिभावकहरुले प्राधानाध्यापक दिनानाथ साहको कार्यकक्षमै तालाबन्दी कायम राखेका हुन् ।  तालाबन्दी खोल्नेबारे खासै छलफल भएको छैन ।

विद्यालयमा यसअघि देखिनै शिक्षक पदपूर्ति गर्दा राजनीतिक दलहरुले आफू निकटको व्यक्तिलाई हेर्ने आधारमा नियुक्ति हुने गरेको पनि स्थानीय नै बताउछन् । राजनीतिक दलहरुको यो रवैयाका कारण विद्यालय क्षेत्र नै नाजुक बनिरहेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थी छन् । शिक्षक, कर्मचारी गरी १७ जना रहेका छन । तर, स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुको खिचातानीका कारण  ४ सय ५० विद्यार्थीको पढाई बन्द छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update