काठमाडौँ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल कलेजले मनोविज्ञान विषयमा मास्टर्स (स्नातकोत्तर) कार्यक्रम सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयको कन्स्टिच्युएन्ट कार्यक्रमका रूपमा रहने यो अध्ययन भारतको मुम्बईस्थित टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेजको सहकार्यमा अघि बढाइने भएको हो। दुई वर्ष तथा चार सेमेस्टर (६० क्रेडिट आवर) को यो व्यावहारिक तथा प्रयोगमुखी कार्यक्रमको औपचारिक शुभारम्भ आगामी असोज २२ गते बिहीबार कलेजको सभाहलमा गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नेपालमा परिपक्व मनोविज्ञान शिक्षा, व्यावसायिक प्रशिक्षण, अनुसन्धान तथा प्रमाणमा आधारित मनोवैज्ञानिक अभ्यासलाई सुदृढ गर्ने उद्देश्यका साथ यो कार्यक्रम तयार पारिएको छ। यसअन्तर्गत क्लिनिकल, परामर्श, जेरोसाइकोलोजी (ज्येष्ठ नागरिकसम्बन्धी), फोरेन्सिक, बाल तथा किशोर, र समुदाय, विपद्, मानसिक स्वास्थ्य तथा ट्रमा मनोविज्ञान गरी ६ वटा विषयगत क्षेत्रहरू समेटिनेछन्। शिक्षा, स्वास्थ्य, सामुदायिक विकास र अनुसन्धानका क्षेत्रमा दक्ष मनोविज्ञान जनशक्तिको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमबारे जानकारी दिँदै नेसनल कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले यस स्नातकोत्तर तहले शैक्षिक ज्ञान, व्यावसायिक प्रशिक्षण, अनुसन्धान र व्यावहारिक सिकाइलाई एकीकृत गर्दै व्यक्ति, समुदाय र समाजका बदलिँदा आवश्यकता सम्बोधन गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो। मनोवैज्ञानिक ज्ञान र सामाजिक उत्तरदायित्वबिचको सम्बन्धलाई बलियो बनाउँदै यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक सहकार्यको अवसर सिर्जना गर्ने उहाँको भनाइ छ।
त्यसैगरी नेसनल कलेज मनोविज्ञान विभागकी प्रमुख प्रा. डा. रिता श्रेष्ठले समाजका विभिन्न क्षेत्रमा योग्य र दक्ष मनोवैज्ञानिकको माग बढ्दै गएकाले कक्षाकोठाको सिकाइलाई प्रयोगात्मक अनुभव र समुदायमा आधारित अभ्याससँग जोडिने बताउनुभयो। विद्यार्थीहरूले सुपरिवेक्षणसहितको व्यावसायिक सीप, केसमा आधारित सिकाइ र प्रमाणमा आधारित अनुसन्धानका माध्यमबाट वास्तविक जीवनका समस्याहरू समाधान गर्न सक्ने क्षमता हासिल गर्ने उहाँले उल्लेख गर्नुभयो।
नेसनल कलेजले यस कार्यक्रमलाई नयाँ पुस्ताका मनोविज्ञानका व्यावसायिक जनशक्ति, अनुसन्धानकर्ता तथा अभ्यासकर्ताहरू तयार गर्ने माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। शुभारम्भ समारोहमा काठमाडौँ विश्वविद्यालयका अधिकारी, मनोविज्ञानका प्राध्यापक, विज्ञ, सरकारी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागिता रहने कम्पनीले जनाएको छ।


