News 24 Television
विदेशी संस्थाको सहयोगले सुधार हुँदै दैनिकी

मुगु । मुगुको शैक्षिक गुणस्तर सुधार गर्दै आर्थिक रूपमा विपन्न, एकल तथा सहाराविहीन जेहेन्दार विद्यार्थीहरूलाई शिक्षाको मूल प्रवाहमा ल्याउन विशेष सहयोग कार्यक्रम सञ्चालन गरिएको छ । गुड नेबर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र किडार्क नेपाल मुगुद्वारा सञ्चालित आईसीडीपी परियोजनाअन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीका साथै आवास र शौचालय निर्माणमा सहयोग पु¥याइएको हो । 

हाम्रो मुगु, राम्रो शिक्षा’ अभियान अन्तर्गत मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका लगायत ४ वटा स्थानीय तहका ६० वटा सामुदायिक विद्यालयमा अध्ययनरत १४ सय २ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । 

गुड नेबर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र किडार्क नेपाल मुगुद्वारा सञ्चालित आईसीडीपी परियोजना अन्तर्गत सो सामग्री वितरण गरिएको हो । सन् २०१८ देखि ४ वर्ष देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई प्रतिव्यक्ति २ हजार २ सय ३३ रुपैयाँ बराबरको पोसाक, झोला, जुत्ता, कापी, कलम, पेन्सिल तथा इरेजर–कटर वितरण गरिँदै आएको छ । 

यसैगरी, १५ जना विद्यार्थीका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले कुल ३० लाख रुपैयाँको लागतमा आवास निर्माण गरिएको छ भने ५० जना विद्यार्थीका लागि प्रतिव्यक्ति १५ हजारका दरले कुल ७ लाख ५० हजार रुपैयाँ लागतमा शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ । 

यसबाहेक विद्यार्थी तथा अभिभावकका लागि जनचेतनामूलक तालिम, गोष्ठी र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएका छन् । विद्यार्थीहरूलाई वार्षिक रूपमा प्रतिव्यक्ति ५० हजार रुपैयाँ सम्म उपचार खर्च र उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ नगद सहयोगसमेत प्रदान गरिँदै आएको छ ।

संस्थाबाट नियमित शैक्षिक सामग्री, घर तथा शौचालय निर्माणमा सहयोग पाएपछि विद्यार्थी र उनीहरूका परिवारको जीवनस्तर तथा स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

बालबच्चा पढाउन आर्थिक अवस्था कमजोर भएका परिवारले निकै समस्या भोगिरहेका थिए । पुरानो जिर्ण घरमा जोखिम मोलेर बस्नु पर्ने अवस्था थियो । संस्थाले शैक्षिक सामग्री, शौचालय निर्माणका सामग्री र कामदारको ज्याला समेत सहयोग गर्दा ठूलो राहत मिलेको छ । 

शैक्षिक सामग्री तथा भौतिक पूर्वाधार सहयोगले मुगुका विपन्न बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्नुका साथै समग्र जिल्लाको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  ०८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update