News 24 Television
सरकारी अस्पतालमा करोडौंका उपकरण प्रयोगविहिन

काठमाडौँ । सरकारी स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य उपकारण र मेसिन प्रयोगविहिन बन्दा सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ । विशेष गरी आर्थिक अवस्था कम्जोर भएका व्यक्तिको रोजाइमा पर्ने वीर अस्पताल, पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान लगायतका सरकारी अस्पतालको अवस्था उस्तै उस्तै छ । 

कुनै पनि रोग लागेको अवस्थामा स्वास्थ्य उपचार पाउनु प्रत्येक नागरिकको अधिकार हो । तर सरकारी अस्पतालमा उपचारका लागि जडान भएका उपकारण र मेसिन नै पूर्ण रुपमा प्रयोगमा आउँदैनन् । जसका कारण सेवाग्राहीले सास्ती व्यवहोर्नु परेको छ । 

वीर अस्पतालमा बिरामीले शल्यक्रियाको लागि १ हप्तादेखि रोगको प्रकृति अनुसार १ वर्ष सम्म पालो कुर्नुपर्ने देखिएको महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नै उल्लेख छ । त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी परीक्षण गर्न ३ देखि ६ घण्टा तथा शल्यक्रियाको लागि रोगको प्रकृतिअनुसार ४ देखि १२ हप्ता, हेमोडाइलासिस सेवाको लागि ४ देखि ५ महिना अनि इण्डोस्कोपीको लागि पनि १ हप्तासम्म कुर्नुपर्ने  अवस्था  छ । 

अन्य अस्पतालमा कस्तो छ अवस्था ? 

-    बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, रेडियोथेरापी गर्न ४५ दिनसम्म प्रतीक्षा गर्नुपर्छ । 
-   कान्ति बाल अस्पताल सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष पालो पर्खिनुपर्छ भने जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पर्खनुपर्ने बाध्यता छ ।  
-    सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिसका लािग करिब ७ सय बिरामी प्रतीक्षारत छन् भने बिरामीले सेवा लिन ६ महिनादेखि १ वर्ष पालो कुर्नुपर्ने अवस्था छ ।

सरकारी स्वास्थ्य संस्थामा विरामीले सास्ती व्यहोर्नुपर्ने कारणमा अस्पतालमा भएका स्वास्थ्य उपकरण नै प्रयोगविहिन हुनु हो । यस्ता अत्यावश्यक र महत्वपूर्ण उपकरण प्रयोगमा ल्याउनेतर्फ स्वयम् अस्पताल प्रशासनले समेत चासो दिने गरेको छैन । स्वास्थ्यकर्मीबाहेकका कर्मचारी जागिरका जागिर खाएको जस्ता देखिन्छन् ।  

कुन अस्पतालमा प्रयोगविहीन ? 

-    स्वास्थ्य सेवा विभागले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई उपलब्ध गराएको रु १ करोड ३० लाख मूल्यको ७ थान हेमोडायलासिस मेसिन प्रयोगविहिन छ ।
-    कोशी अस्पतालमा उपलब्ध गराएको २१ लाख १० हजारको १० थान बाइपास मेसिन र रु ७४ लाख ८२ हजारको दुई थान भेन्टिलेटर मेसिन प्रयोगविहिन छ ।
-     चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा हस्तान्तरण भएको १० करोड ६९ एक हजार मूल्यको ४५ थान भेन्टिलेटर सहितका उपकरण प्रयोगविहिन छ । 
-    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८६ डायलासिस मेसिन रहेकोमा ६१ मात्र चालु अवस्थामा रहेको छ । 

प्रदेश मातहतका जिल्ला अस्पतालहरुको अवस्था पनि उस्तै छ । अधिकांश जिल्ला अस्पतालहरुमा प्राविधिक जनशक्तिको अभावमा यस्ता थुप्रै उपकरणहरु प्रयोगमै आएका छैनन् । यस्ता महत्वपूण उपकरणहरु वर्षौदेखि कवाडीका रुपमा स्टोरमा थन्किने गरेका छन् । 

कुनै पनि स्वास्थ्य उपचारका लागि विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति मात्र नभएर स्वास्थ्य उपकरणको महत्व पनि उत्तिकै छ । तर सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य उपचारका लागि आवश्यक उपकरण भएर पनि प्रयोगविहिन बन्दा विरामीले प्रभावकारी सेवा पाउनै मुश्किल छ । उपयुक्त ठाउँ अभाव तथा उपकरण चलाउन जान्ने दक्ष जनशतिm अभाव भएका कारण भएका उपकरण पनि प्रयोगविहिन बन्न पुगेको विज्ञहरुले औलाउँदै आएका छन् । 

तर यसतर्पm सम्बन्धित निकायले ध्यान दिन नसक्दा राज्यकोषबाट उपकरण किन्नकै लागि करोडौं खर्च त भएको छ नै । अर्कोतर्फ खरिद गरिएका स्वास्थ्य उपकरण प्रयोगविहिन बन्दा अस्पताल पुग्ने सेवाग्राहीले समेत सास्ती व्यवहोर्नु परिरहेको छ । 

 


 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update