News 24 Television
मोदीलाई तेस्रो कार्यकालका चुनौतिहरु 

काठमाडौं । भारतको १८औँ लोकसभा निर्वाचनको नतिजाले झन्डै दुई तिहाइ नजिक रहेको प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टी भाजपा २४० सिटमा खुम्चिएको छ । 

मोदीको लोकप्रियताको बलमा ४०० भन्दा बढि सिटका लागि सत्तामा नयाँ जनादेशसहित जाने भाजपाको रणनीतिलाई चुनावी परिणामले नराम्रो धक्का लागेको छ ।

देशका ठुला मिडिया र सत्ताको आडमा आफुलाई देवत्वकरण गर्ने पथमा रहेका मोदी फेरि प्रधानमन्त्री त बन्दैछन् तर यसपटक उनको सत्ता यात्रामा धेरै लगाम लाग्नेछ । 

एक दशकदेखि सत्ताको नेतृत्व गर्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शक्तिलाई लोकसभा चुनावको परिणामले धक्का दिएको छ । 

मोदीको नेतृत्वमा भारतीय जनता पार्टी भाजपाले लगातार दुई पटक बहुमत ल्याउन सफल भएको थियो । तर, यो चुनावको नजिता भने मोदी र भाजपा नेताहरूले अपेक्षा गरे जस्तो भएन । एकल बहुमत नहुँदा आफ्नो गठबन्धनमा रहेका दलहरुसँगको सहकार्यमा सरकार गठन गर्नु पर्ने बाध्यतामा मोदी पुगेका छन् ।

उता, विपक्षी इन्डिया गठबन्धनले २३० भन्दा बढी सीट ल्याउँदा त्यसको प्रमुख घटक इन्डियन नेशनल कंग्रेसले ९९ सीट जितेको छ । मोदीका दुई कार्यकालमध्ये पछिल्लो कार्यकाल एकदमै तानाशाही प्रवृत्तिको रह्यो । धार्मिकरुपमा मोदीको प्रस्तुति अतिवादलाई प्रश्रय दिने किशिमको थियो । 

उनले खासगरी मुस्लिम समुदायमाथि एकदमै द्वेष राख्ने अभिव्यक्ति दिएर आफ्नो कार्यकालभरी भारतको कुल जनसंख्याको झण्डै १५ प्रतिशत हाराहारीमा रहेका मुस्लिम धर्मावलम्वीको मन दुखाउने र आतंकित बनाउने काम गरिरहे । 

भारतलाई रिब्राण्डिङ गर्न धेरै हदसम्म सफल भएका मोदीलाई उनको अतिवाद सोच र अल्पसंख्यमा धार्मिक समुदायमाथिको व्यवहारका कारण राजनीतिकरुपमा सचेत भारतीयले निको मानेनन् । यसको सोझो असर निर्वाचनमा देखियो । 

मोदीको चुनौति 

गठबन्धनको बलमा पुनः प्रधानमन्त्री बनेपछि मोदीका लागि अघिल्ला कार्यकाल जस्तो सहज हुने छैन । अघिल्ला २ कार्यकालमा मोदीले कठोर र अनुदार नेताको छवि स्थापित गरेका थिए । तर अब गठबन्धनसहित सरकारमा हुँदा मोदीले आफ्नो त्यही शैलीलाई निरन्तरता दिन पाउँदैनन् । 

अब सत्तामा टिकिरहन मोदीलाई विहारका नितिशकुमार र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुको साथ चाहिन्छ । तर यी दुवै नेता विपक्ष गठबन्धनसँग पनि सम्पर्कमा छन् । त्रिसंकु सरकारमा एक दलले हात झिक्ने बित्तिकै सरकार कमजोर हुन्छ । यस्तो अवस्थामा कांग्रेस सहितको गठबन्धनले गर्ने प्रस्तावमा नितिशकुमार वा चन्द्रबाबु नायडुले काँध फेरे भने मोदी त्यसै धरापमा पर्ने छन् । 

यसमा नितिशकुमार राजनीतिक फाइदाका लागि जतिसुकै बेला पनि सत्ता परिवर्तन गर्न खप्पिस छन् । मोदी सत्तामा आउनु अघि करिब ३५ वर्ष भारतमा गठबन्धन सरकारले शासन गरेको थियो । १० वर्षपछि भारत पुन त्यही अवस्थामा फर्किएको छ । 

आफ्नै मनमौजी हिसावले सत्ता चलाइरहेका मोदी अब गठबन्धन दलको निर्देशनमा बाँधिनु पर्दा पक्कै सकस महशुष गर्नेछन् । 

त्यसमा विपक्षी गठबन्धनले जुनसुकै बेला पनि गठबन्धनमा रहेका नितिश कुमार र चन्द्रबाबुलाई आफुतिर तान्न सक्ने सम्भावना छ । यदी त्यस्तो भएका मोदी सरकारबाट बाहिरिने स्थिति नआउँला भन्न सकिन्न । तर अब सत्तामा हुँदा मोदीले आफ्ना अघिल्ला शैलीलाई परिमार्जन गर्नैपर्छ । धार्मिकरुपमा उनल अख्तियार गरेको कार्यशैलीलाई पनि उनले छोड्नै पर्छ । 

यही तेस्रो कार्यकालमा पनि उनले त्यही रवैया देखाए भने संसदमा विपक्षी दलको ठूलो प्रतिकार सहनु पर्छ भने नागरिकस्तरबाटै पनि मोदी आलोचित बन्दै जानेछन् ।

 


 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update