News 24 Television
घना जंगलले घेरेको विशाल थानीढुंगा

ओखलढुङ्गा । ओखलढुंगाका कतिपय स्थानीय तहहरूले प्रचारप्रसारको अभावमा रहेका पर्यटकीय स्थलहरूको खोजी गरी प्रचारप्रसार गरे । कतिपयले प्रचारप्रसारको अभावमा ओझेलमा परेका क्षेत्रहरूको खोजी कार्यलाई निरन्तरता दिन सकेनन् । नाम चलेका पर्यटकीय क्षेत्रहरूको मात्र प्रचारप्रसार मात्रै भएकाले केही पर्यटकीय स्थलहरू अझै प्रचारको अभावले पर्यटकको पर्खाइमा छन् । तीमध्येको एक हो, मोलुङ गाउँपालिका २ मा रहेको विशाल थानीढुंगा । 

धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हँुदाहँुदै पनि ओझेलमा छ ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा रहेको विशाल थानीढुंगा क्षेत्र । थानीढुंगामाथि पर्याप्त खोज, अनुसन्धान र प्रचारप्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो ।  रामपुर बजारबाट झन्डै साढे २ घण्टाको पैदल यात्रा पश्चात यो ढुंगा रहेको स्थानमा पुग्न  सकिन्छ । परापुर्वकालमा यसै ढुंगाको ओडारमा झाँक्रीहरु बस्ने र गाउँलेहरुको रक्षा गर्ने गरेको किम्बदन्ती छ ।

रामपुरको सबैभन्दा उच्च भागमा रहेको यो ढुंगालाई चारैतिरबाट घना जंगलले घेरेको छ । यस ढुंगा र आसपासमा फोहार गरिए जनधनको समेत क्षति हुने जनविश्वास छ । यस क्षेत्रको धार्मिक एवम् ऐतिहासिक महत्व छ नै । रमणीयताको हिसाबले पनि यस क्षेत्रलाई उत्कृष्ट मानिन्छ । यहाँ अध्ययन, अवलोकन तथा वनभोजका लागि पनि मानिसहरु जाने गरेका छन् । यस स्थानबाट रामपुरबजार र आसपासका दृश्य समेत प्रष्ट देखिने भएकोले ओखलढुंगा स्थित विभिन्न स्थानका पर्यटकहरु कठिन यात्रा गरेरै भएपनि थानीढुंगा पुग्छन् ।

पछिल्ला दिनहरुमा आन्तरिक पर्यटकहरुले नै यस क्षेत्रको प्रचार गर्न थालेपछि स्थानीय सरकारले केही चासो राख्न थालेको छ । 

थानीढुंगासम्म जाने पदमार्ग र अन्य भौतिक संरचना निर्माण गरे यहाँ पर्यटन व्यवसाय फस्टाउने देखिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update