News 24 Television
आइटीमाबाट महिनामै लाखौँ आम्दानी

काठमाडौं । पछिल्लो १० बर्षयता देशको अर्थतन्त्र र सामाजिक संरचनालाई नै असर पु¥याउने गरी शिक्षाका लागि विदेश जाने लहर बढेको छ । 

३ बर्ष यता त बार्षिक १ लाख हाराहारी अध्ययनका लागि विद्यार्थी बाहिरिने गरेका छन् । तर नेपालमै अध्ययन गरेर यही बसेर बिदेशी कम्पनीमा काम गर्नेहरुको संख्या रहरलाग्दो गरि बढिरहेको छ । सूचना प्रविधि (आईटी) क्षेत्रमा बिदेशी कम्पनीमा काम गर्ने उनीहरुले राम्रो आम्दानी गर्न थालेका छन् । 

ललितपुरको सानेपामा रहेको उल्फ म्याट्रिक्स नामक संस्थाले अष्ट्रेलिया र अमेरिकाको आईटी कम्पनीका लागि काम गरिरहेको छ । 

१० बर्ष अघि तीन जनाको लगानीमा खोलिएको संस्थामार्फत् सफ्टवेयर डेभलपमेन्ट, मोवाईल एप्पलिकेसन, क्लाउड सोलुसन लगायतको काम हुन्छ । 

अमेरिका र अष्ट्रेलियाका लागि काम गर्ने यो संस्थामा सूचना प्रविधि बिषयमा स्नातक सकेका २५ जना कार्यरत छन् । यहाँ आवद्ध कतिपय घरबाट नै काम गर्छन् भने केही कार्यालयमा आएर गर्छन् ।  

जसबापत उनिहरुले मासिक ३ लाख ५०  हजार सम्म पारिश्रमिक पाउँछन् । भक्तपुर बस्ने कृपा सुवेदीले नेपाल इन्जिनियरिङ् कलेजबाट ४ बर्ष अघि कम्युटर इन्जिनियरिङ्मा स्नातक सकाएकी थिइन् ।

स्नातक सक्ने बितिकै नेपालकै आइटी कम्पनीमा काम गरेकी उनी हाल २ बर्ष यता भने अमेरिकामा अवस्थित सफ्टवेयर कम्पनीमा काम गरिरहेकी छन् । जसबाट उनले राम्रो आम्दानी गछिन् । 

२२ बर्षका अकिंत पौडेल स्नातक तह तेस्रो बर्षमा अध्ययनरत छन् । आईटी इन्जिनियरिङ् पढिरहेका उनी हाल अमेरिकाको एक आइटी कम्पनीमा तीन महिनादेखि कार्यरत पनि छन् । 

जसबाट उनीे मासिक १ लाख सम्म कमाउन सक्ने भएका छन् । १२ कक्षा सकेपछि बाहिर जाने तयारी गरेका अकिंत हाल नेपालमा बसेर अमेरिकाको कम्पनीमा काम गर्न पाउदा निकै खुसी छन् । नेपालमा हाल सूचना प्रविधिमा काम गर्ने ५ सय भन्दा बढी कम्पनीहरु छन् । 

विश्वका ठूला ठूला कम्पनीले नेपालका कम्पनीहरुलाई आईटी सम्बन्धि बिभिन्न काम गर्न लगाउँछन् । केही संस्था दर्ता भएर नै काम गरेका छन् भने केही फ्रीलान्सरका रुपमा पनि काम गरिरहेका छन् । यसरी काम गर्नेहरुले देशमै बसेर  राम्रो आम्दानी गर्दै आइरहेका छन् । 

नेपालका कतिपय आइटी प्राविधिक वा कम्पनीहरुले हलिउडका ठूला लगानीका चलचित्रहरुमा समेत एनिमेसन, भिएफएक्स, कलर ग्रेडिङ लगायतका काम गरिसकेका छन् । विश्व श्रम बजारमा अन्य देशको तुलनामा नेपाली आइटी प्राविधिकको शुल्क कम छ । 

यसकारण पनि यस्ता कामका लागि पछिल्लो समय नेपाली प्राविधिकको खोजी हुने गरेको हो । सरकारको सहयोग बिनापनि सूचना प्रविधिको क्षेत्रमा काम गरेर धेरैले ठूलो लगानी स्वदेश भित्राइरहेका छन् । 

यही कुरालाई मध्यनजर गर्दै सरकारले आर्थिक वर्ष २०८१\०८२ को बजेटमा सूचना प्रविधिलाई महत्व दिएको छ । (आईटी) क्षेत्रमा १० वर्षमा ३० खर्बको सेवा निर्यात गर्ने र पाँच लाखलाई प्रत्यक्ष तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य सरकारले राखेको छ । 

आईटी क्षेत्रले युवा पुस्तालाई नेपालमै बस्न सक्ने वातावरण तयार गर्ने भन्दै सरकारले यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन खोजिरहेको जनाएको छ । तर नेपालले भने प्रविधिको विकासक्रमलाई गति अनुसार पछ्याउन सकिरहेको छैन । नेपालमा बार्षिक सूचना प्रविधि पढेका ५ हजार बढि जनशक्ति उत्पादन हुन्छन् । 

तीमध्ये निकै कम मात्रै स्वदेशमै बस्छन् नत्र धेरैकको ध्यान विदेशिने नै हुन्छ । श्रमको खोजीमा बाहिरिने जनशक्तिलाई यही विश्वस्तरको रोजगारीमा आवद्ध गर्न सकेमात्रै पनि ठूलो जनशक्ति यही रोक्न सकिने थियो । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update