News 24 Television
२५ जनाको क्षमता रहेको कारागारमा ६२ कैदीबन्दी

बाजुरा । जिल्ला कारागार बाजुराको भवन जीर्ण छ । जीर्ण भवनमा कैदीबन्दीहरूलाई राख्न समस्या त छँदैछ, अझ क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएका छन् । 

अहिले जताततै झाडापखाला, रुघाखोकि जस्ता सरुवा रोगको प्रकोप फैलिदो छ । बाजुरा कारागारमा रहेका अधिकांस कैदीबन्दीमा सरूवा रोगका लक्षण देखा परेको छ ।

यो  २०३७ सालमा निर्माण गरेको बाजुराको जिल्ला कारागार ।  यस कारागारमा हाल कैदी ४२ जना छन् भने २० थुनुवा गरि ६२ जना  रहेका छन् ।  १० जना महिला र १५ जना पुरूषको क्षमता रहेको कारागारमा यतिबेला क्षमता भन्दा दोब्बर, तेब्बर कैदीहरु राख्नु पर्ने भएकोले समस्या भएको छ । यो कारागारमा २५ जनाको लागि जम्मा ५ वटा ब्लक रहेका छन् । अहिले जसोतसो गरि त्यही पाँचवटा बलकमा ६२ जना कैदीहरूलाई राखिएको छ । सानो भवनमा धेरै कैदीहरू हुदा फोहोर ब्यवस्थापन गर्न नसक्दा आफुहरू विरामी हुनु परेको गुनासो उनीहरुको छ ।  

क्षमता भन्दा बढी कैदीहरू हुदा झाडापखाला, रुघा खोकी, जस्ता सरूवा रोगका लक्षण देखा पर्ने गरेको छ । सरूवा रोगबाट बच्नका लागि दुरी फराकिलो दुरी हुनुपर्छ तर कैदीबन्दीलाई कोँचाकोच गरी राखिएका छन् । २५ जनाका लागि निर्माण गरेको भवनमा बढी कैदीबन्दी राखिदा धारा, शौचालयमा घण्टौसम्म कुरेर लाइनमा बस्नुपर्ने बाध्यता पनि उनीहरुलाई छ । खानेपानी र शौचालयका कारण पनि स्वास्थ्य समस्या बढ्ने देखिएको छ ।   

६२ जना कैदी मध्य हरेक दिनमा १० जना भन्दा बढी बिरामीहरूको उपचार भइरहेको छ ।  कारागार विभागले सिमित मात्रामा ओैषधि दिएको हुन्छ । तर यता क्षमता भन्दा बढी कैदीहरू छन् ।  उनिहरूको खानपान, बसाइँ जस्ता अन्य कुराको ब्यवस्थापन गर्न नसक्दा उनिहरू धेरै मात्रामा विरामी हुने गरेको छ । विभागले सिमित मात्रामा दिएको ओैषधि पनि अपुग हुने गरेको छ ।  

क्षमता भन्दा बढी कैदी हुदा उनिहरूको उचित व्यवस्थापन हुन सकेको छैन । १० जना महिला कैदी राख्नलाई ठाँउ नहुदा उनिहरुलाइ अर्को जिल्लाको कारागारमा पठाउनु पर्ने बाध्यता छ । कारागार जस्तो संवेदनशील क्षेत्रमा विशेष ध्यान दिनु जरुरी छ ।

      
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update