सुर्खेत । सुर्खेतकोे बड्डीचौर खम्बागाडे सडक निर्माण शुरु गरिएको २ वर्ष वितीसक्यो । तर सडक निर्माणले पूर्णता पाउने छाँटकाँट भने कतै दखिदैन ।
स्थानीय तहले निर्माण कार्यलाई वेवास्ता गर्दा सडक अलपत्र भएको स्थानीयको आरोप छ । सम्झौता अवधि सकिएर फेरि आउँदो असारसम्मका लागि एक बर्ष समय थप गरिएको छ । तर निर्माण कम्पनीले अझै काम सुरु गर्ने सुरसार नै गरेको छैन ।
२ बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको सुर्खेतको बड्डीचौर खम्बागाडे सडकको सम्झौता अवधि गत असार २४ गते सकिएको थियो । तर सम्झौताको पहिलो म्याद सकिदाँसम्म सडक निर्माणको भौतिक प्रगति भने जम्मा १८ प्रतिशत मात्रै भएको छ ।
१३ किलोमिटर सडकको स्तरोन्नती सहित कालोपत्रे गर्नका लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेत र अनक जयदेवी बीच १४ असार २०७९ मा सम्झौता भएको थियो । निर्माण कम्पनीले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।
२ वर्षमा सक्ने भनिएको निर्माण कार्यको सम्झौता अवधि सकिएर फेरी आउदो असारसम्मका लागि एक बर्ष समय थप गरिएको छ । थपिएको समय अवधिभित्र काम सक्ने गरी निर्माण कम्पनीले अझै केही सुरसार गरेको छैन ।
कामममा ढिलाई गरेपछि निर्माण कम्पनीको चौतर्फि आलोचना भइरहेको छ । दबाब दिन स्थानीयले रुख–रुखमा ठेकेदारको फोटो टाँसेर विरोध गरेका थिए ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडकमा पश्चिम सुर्खेतको बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिकाका नागरिक सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।
संघीय सरकारले मदन भण्डारी राजमार्ग अन्तर्गत राखेको भएपनि स्तरोन्नतिको काममा ढिलाई भएको भन्दै सोही मापदण्ड बमोजिम निर्माण गर्नेगरी कर्णाली प्रदेश सरकारले बड्डीचौर–खम्बागाडेसम्मको सडकखण्डको ठेक्का लगाएको थियो ।
निर्माणको जिम्मा लिएका दिकपाल शाही हाल दैलेख निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य छन् । शाही सांसदमा निर्वाचित भएपछि भने कम्पनीको जिम्मेवारी उनका छोरा सन्देश शाहीले सम्हाल्दै आएका छन् ।
निर्माण कम्पनीले रुख कटान, जग्गा भोगाधिकार लगायतका सरकारी प्रक्रियामा ढिलासुस्ती भएका कारण नै काममा सुस्तता आएको दाबी गरेको छ ।
त्यस्तै बालुवा गिट्टी संकलनका लागि स्थानीय तहबाट उचित सहयोग नपाएको आरोप पनि निर्माण कम्पनीले लगाएको छ ।
यता स्थानीय तह भने आफूहरुबाट निर्माण कार्यका लागि आवश्यक सबै सहयोग भइरहेको बताउँछ । रुख कटान बाँकी छोडेर अन्य ठाउँमा काम गर्न सकिने अवस्था भएपनि ठेकदार कम्पनीले रुखलाई नै देखाएर ढिलासुस्ती गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
आई.ई.ई. प्रतिवेदन अनुसार उक्त सडक खण्डमा आठ सय रुख कटान गर्नुपर्नेछ । तर रुख कटान गर्नु नपर्ने करिब आधाभन्दा बढी क्षेत्रफलमा पनि काम नगरेको पूर्वाधार निर्देशनालयको भनाई छ ।
सडक निर्माणमा भैरहेको ढिलाईबारे गत साउनमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले समेत सम्बन्धित कार्यालय र निर्माण व्यवसायीलाई राखेर छलफल गरेका थिए । तर छलफलपछि पनि निर्माण व्यवसायीले काम सुरु गरेका छैनन् । थप गरिएको एक बर्षभित्रै निर्माण सम्पन्न गर्नेगरी काम गर्न बारम्बार ताकेता गरिरहेको पूर्वाधार निर्देशनालयको भनाई छ ।
सडक सञ्जाल नागरिकको सहजता र विकासका लागि अति महत्पूर्ण पक्ष हो । त्यसैले राजनीतिक आडमा ठेक्का लिने तर समयमै काम सम्पन्न नगर्दा पश्चिम सुर्खेतबासीले दुख त पाएका छन् नै यो कार्यले देशको नियम कानुनलाई नै गिज्याइरहेको छ भने देशमा जे काम पनि कहिल्यै समयमा पुरा हुँदैन भन्ने भाष्यलाई स्थापित गर्न झन मलजल गरिरहको छ ।