
काठमाडौं । इन्टरनेटको पहुँच र प्रविधिको विकाससँगै नेपालमा पनि डिजिटल बैंकिङको प्रयोग जसरी बढेको छ, त्यसरी नै चुनौति र जोखिम पनि थपिएको छ ।
अहिले सबै बैंकहरुले आफ्नो सेवालाई डिजिटलाइज गरिसकेका छन् । जसले पैसाको कारोबार छिटो¬–छरितो र सुलभ भएको छ । तर इन्टरनेटको प्रयोगबाट कारोबार गर्दा कहिलेकाही जोखिम हुन सक्छ । यस्तो अवस्थामा प्रयोगकर्ता स्वयं सजग हुनुपर्छ ।
डिजिटल बैंकिङ जति सजिलो र सहज छ यसबारे राम्रो ज्ञान भएन भने त्यति नै जोखिम पनि छ । किनभने यसले ग्राहकहरूको व्यक्तिगत र वित्तीय जानकारी राखेको हुन्छ ।
यस्तो जानकारी सुरक्षित राख्न सकिएन भने खातामा भएको पैसा चोरी हुन सक्छ । त्यसका लागि अनलाइन बैंकिङ सेवा लिनुअघि सबै जानकारी लिनुपर्छ ।
डिजिटल बैंकिङबारे पहिल्यै थाहा भएको भन्दै बेवास्ता गर्न नहुने र अनलाइन बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारिक एप र वेबसाइटबाट मात्रै गर्नुपर्छ । यस्तै, ल्यापटप, मोबाइल वा अन्य कुनै पनि ग्याजेटलाई पासवर्ड, पिन, प्याटर्न वा बायोमेट्रिकमार्फत लक गरेर सुरक्षित राख्नुपर्छ ।
सामाजिक सञ्जाल वा इमेलहरुमा आउने जथाभावी लिंकहरु क्लिक गर्नु हुँदैन । बैंकहरुले पनि अहिले ‘टु फ्याक्टर अथेन्टिकेसन’, मोबाइल नम्बर, ओटिपी, फिंगर प्रिन्टजस्ता मल्टिफ्याक्टर अथेन्टिकेसनको प्रयोगमा अनिवार्य गर्दै लगेका छन् ।
डिजिटल बैंकिङ प्लेटफर्महरुमा कुनैपनि समयमा साइबर आक्रमण र ह्याकिङको प्रयास हुन सक्छ । त्यसबाट जोगिन बैंकको पासवर्ड, पिन कोड, ओटिपी, एमपिन, ट्रान्जेक्सन पिन कसैलाई कहिल्यै कुनै पनि माध्यमबाट दिनु हुँदैन ।
आजभोली साइबर ठगी गर्नेहरुले म बैंकबाट बोलेको भन्दै पासवर्ड, पीन कोड वा ओटीपी माग्ने चलन छ । यसरी कुनै पनि बैंक वा वित्तिय संस्थाहरुले फोन गर्दैनन् । त्यसैले यसमा पनि हामी आफै सचेत हुनुपर्छ ।
त्यस्तै बैंकहरुले कहिले मोबाइल बैंकिङ वा अनलाइन बैंकिङ प्रयोग गर्दा नोटिफिकेसनजस्ता अलर्टह सेवा लिँदा रकम चोरी भइहालेमा तत्काल जानकारी हुन्छ ।
अनलाइन बैंकिङ सुरक्षाका लागि बलियो पासवर्डको प्रयोग गर्नुपर्छ र त्यसलाई बेला बेलामा परिवर्तन गर्नुुपर्छ । यो पासवर्ड कुनै पनि ब्राउजर इत्यादिमा सेभ गरेर राख्नु हुँदैन ।
सकेसम्म सार्वजनिक वाइफाइबाट मोबाइल बैंकिङ वा अनलाइन बैंकिङको प्रयोग गर्नु हुँदैन । गरिहालेमा तत्काल लगआउट गर्नुपर्छ । अनिमात्र आफ्नो डिजिटल बैंकिङ कारोबारलाई सुरक्षित बनाउन सकिन्छ ।