
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिंकरका स्थानीय सदरमुकाम खलंगामा आउनका लागी गोरेटो बाटो समेत छैन । नेपालतर्फबाट छाङरु र तिंकर जान बाटो नहुँदा स्थानीयले भारतीय बाटोको प्रयोग गर्ने गर्छन् । छाङरु र तिंकरवसीलाई आफ्नै भूमि जान भारतको अनुमति लिनुपर्ने बाध्यता छ । यो बर्षबाट भने गोरेटो बाटो निर्माण गर्ने भनी सरकारले ५ करोड ५० लाख विनियोजन गरेको छ । तर गोरेटो बाटो बन्नेमा स्थानीय विश्वस्त हुन सकेका छैनन् ।
तिंकर र छाङरुमा अल्पसंख्यक सौका समुदायको बसोबास छ । यहाँ अहिले १ सय १३ परिवार बसोबास गर्छन् । भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसँग जोडिएका छाङरु र तिंकरमा हिउँदमा चिसो अत्यधिक बढेपछि त्यहाँका बासिन्दा सदरमुकाम झर्ने गर्छन् । जाडो छल्न खलंगा झर्ने र गर्मी छल्न थातथलो चढ्ने यहाँको पुरानै चलन हो ।
नेपाली भूमिमा बाटो नहुँदा भारतीय पक्षको अनुमति माग गरेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता छ । यहाँका स्थानीयले भोगिरहेको सडक समस्या र नागरिकको पीडाबारे न्युज २४ टेलिभिजनले पटकपटक न्युज प्रसारण गर्दै आएको छ । टेलिभिजनमा प्रशारण भएको समाचारकै प्रभावकै कारण गोरेटो बाटो निर्माणका लागी सरकारले ५ करोड बजेट विनिेयोजन स्थानीय बताउँछन् ।
‘छाङरु र तिंकर पुग्न नेपालतर्फबाट बाटो छैन, बस्तुभाउसहित सदरमुकाम झर्ने त्यहाँका स्थानीय भारतीय बाटोकै प्रयोग गर्छन्, ।
संचारमामध्यकै कारण आज सरकारको ध्यानकेन्द्रित भएको र सो सडकको लागी बजेट निकासा भएको भन्दै व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले न्युज २४ टेलिभिजनलाई धन्यवाद दिएका छन् ।
एआई विश्व र दार्चुला
अहिले विश्वमा एआईको तरंग छ । मानिसका धेरै कामहरु एआईबाटै एक क्लिकमै हुन थालेका छन् । तर दार्चुलाको भने बेग्लै पीडा छ । हिडडुलका लागि सामान्य गोरेटो बाटो समेत नहुँदा यहाँका स्थानीय हारगुहार गरिरहेका छन् ।
बाटो बनाउनका लागि दार्चुलामा बजेट नजाने पनि होइन । तर गर्नुपर्नेले कामै नगरेपछि बजेट जानु र नजानुले दार्चुलामा केही फरक पारेन । तर यसपालीको बजेटले भने दृढताका साथ काम गर्ने योजनाका कारण गोरेटो बन्नेमा सरोकारवालाहरु विश्वस्त देखिन्छन् ।
राज्यको दृष्टिकोणमा आफ्नै भूगोलभित्र दुरी हुँदैन भन्ने विश्वव्यापी मान्यता छ । तर दार्चुलामा यो लागु हुँदैन । दार्चलाबासी लामो समयदेखि आफ्नै देशभित्र एकठाउँबाट अर्को ठाउँ जाँदा भारतीय भूमिको प्रयोग गर्न बाध्य छन् ।
यो उनीहरुको बाध्यवता र विवशताको बारेमा बोल्न थालेको लामै समय भयो । तर उनीहरुको आधारभुत आवश्यकता बनेको सडक निर्माणका लागि कसैलाई चासो छैन ।