News 24 Television
तिहारमा मनमोहक लाइटहरु, झरना झै बहने बत्तीले बजार छपक्कै

काठमाडौं । तिहार अर्थात उज्यालो पर्व, अर्थात दीपावली । तिहारमा उज्यालोको रौनक मात्रै होइन, उज्यालोको व्यापार पनि राम्रै हुन्छ । यसले अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । उपभोक्ताले थरिथरीका  झिलिमिली बत्तिहरु किन्दा ठूलो रकम बजारमा पुगिरहेको छ, भने यसले अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ पुगेको हो ।

तिहार अर्थात उज्यालोको पर्व । मुलुकनै तिहारको रौनकमा छपक्कै रहेका बेला उज्यालो र फूलको व्यापार विशेष फस्टाएको छ । फूलको व्यापार जस्तै उज्यालोको व्यापार पनि अत्याधिक हुने गर्छ तिहारमा । तर, उज्यालोको व्यापारमा नेपाल कमजोर छ । यद्दपि, आयातित बत्तीहरुले नै भएपनि नेपाली अर्थबजार भने चलायमान बनेको छ । 

बत्तीको व्यापार अवस्था 

व्यवसायीहरुकाअनुसार अहिले विभिन्न थरीका झिलिमिलि बत्तीहरु किन्न बजारमा उपभोक्ताको घुँइचो लागेको छ । तर, ती बत्तीहरु नेपालमा बनेका भने होइनन् । खासगरी चीनबाट बढी आइरहेका त्यस्ता झिलीमिली बत्तिहरुले बजार हिस्सा बढी ओगटेका छन् । तिनै बत्तीहरुमा उपभोक्ता झुम्मिरहेका छन् । उज्यालोको पर्व दीपावलीमा करिव ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती विक्री हुने व्यवसायीहरुको भनाइ छ ।

नेपाल विद्युत्तीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाका अनुसार यस वर्षको तिहारमा पनि बत्तीको कारोबार राम्रै देखिएको छ । यद्दपि, विगतका वर्षहरुको तुलनामा बत्तीहरुको व्यापार केही घट्नसक्ने उनको भनाइ छ । घर निर्माणहरु कम हुँदै गएको र एकपटक किनेको बत्ती पुनः प्रयोग गर्न मिल्ने भएकाले पनि कारोबारमा केही घट्ने अनुमान गरिएको छ । 

-   बजारमा झिलिमिली बत्तीहरू फरक–फरक मूल्यमा उपलब्ध छन् । 

-  न्युनतम प्रतिगोटा डेढ सयदेखि २० हजार रुपैयाँसम्म पर्ने बत्तीहरू तिहारका लागि आयात हुन्छन् । 

-   विभिन्न रङमा बल्ने–निभ्ने यस्ता बत्ती उपभोक्ताले घर, बगैंचा, कार्यालय, बिजनेस मल लगायतको सजावटका लागि अत्यधिक प्रयोग गर्छन् । 

-   खासगरी तिहार सकिने बित्तीकै छठ पर्व शुरू हुने भएकाले व्यवसायीहरुले सो समयसम्मका लागि धान्ने गरी बत्ती आयात हुने गरेको छ । 

-   अहिले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका सहरमा यस्ता बत्तीको माग बढ्दै गएको छ । 

आपूर्तिमा कठिनाई तर बजार सहज

-   झिलिमिली बत्ती लगाएत सामान आपूर्ति प्रायः चीनबाट ल्याउने गरिएको थियो । 

-   तर, रसुवा र तातोपानी नाकामा बारम्बार बाटो बिग्रिने समस्या हुँदा यस वर्ष पनि केही असहजता भोग्नुप¥यो । जसकारण धेरै व्यवसायीहरूले वैकल्पिक रूपमा कलकत्ता, बीरगंज, विराटनगर, भैरहवा, र नेपालगंज हुँदै सामान ल्याएका छन् । 

-    चीनबाहेक अन्तबाट ल्याउँदा ढुवानी खर्च केही बढ्यो तर समयमै सामान बजारमा पुग्ने भएकाले व्यवसायीहरूलाई सहज भएको छ ।

गत वर्ष तिहारमा मगाएका समान तिहारपछि मात्र आइपुगेका थिए । जसले गर्दा व्यापारीहरूलाई ठूलो क्षति भएको थियो । गोदाम भाडा, ब्याज, र अन्य खर्चहरू तिर्नुपर्ने स्थिति आएको थियो । यस्तै कठिनाइहरू यसपटक दोहोरिन नदिन व्यवसायीहरूले वैकल्पिक आपूर्ति मार्ग अपनाएका देखिन्छन् ।   

कस्ता बत्ती उपभोक्ताको रोजाईमा ? 

-   अहिले नयाँ डिजाइनका ‘वाटरफल’ लाइटहरू उपभोक्ताको रोजाईमा 

-   वाटरफल लाइटहरू सामाजिक सञ्जाल, जस्तै टिकटक र फेसबुकमा धेरै देखिन थालेका कारणले ग्राहकहरू यसमा आकर्षित
 
-   वाटरफल लाइटहरु सजिलै जडान गर्न सकिने भएकाले इलेक्ट्रिसियनको सहयोग नचाहिँदा घरधनीले आफैँले पनि सजाउन सक्ने 

-    बगिरहेको जस्तो झरना–शैलीको प्रकाश देखिने भएकाले घरमा निकै सुन्दर देखिने 

-   हाल बजारमा माग अनुसार पर्याप्त सामान उपलब्ध 

यता, काठमाडौं विद्युत व्यवसायी संघका अध्यक्ष मिलन शिवाकोटीका अनुसार कोभिड समयभन्दा पहिलेको तुलनामा पछिल्ला वर्षहरुमा भने झिलिमिली बत्तिको बिक्री सन्तोषजनक छैन । 

कोभिडपछिदेखि विद्युत् व्यवसाय निरन्तर घट्दो क्रममा छ ।  निर्माण कार्यमा आएको सुस्ती र देशको राजनीतिक अनिश्चितताले बजारमा नकारात्मक असर पारेको  छ ।  

२०७६\७७ सालदेखि सुरु भएको घट्दो व्यापार अहिले सम्म आइपुग्दा करिब १५ देखि २० प्रतिशतले घटेको छ । अहिले बजारमा भीडभाड देखिए पनि बिक्री अपेक्षाअनुसार बढ्न सकेको छैन ।

ग्राहकहरूको रुचि भने परिवर्तन हुँदै गएको छ । पहिले साना र सस्ता आइटमहरूमा बढी ध्यान दिने ग्राहक अहिले अलि आधुनिक र प्रविधियुक्त सजावटी लाइटतर्फ आकर्षित भएका छन् । सामाजिक सञ्जाल—जस्तै टिकटक र फेसबुकमा देखिने नयाँ डिजाइनहरू र घरमै सजाउन सकिने सुविधाजनक झिलीमिलीहरू अहिलेको मुख्य आकर्षण बनेका छन् । 

यी नयाँ प्रकारका सामानहरू आकर्षक त छन् नै, सजिलै जडान गर्न मिल्ने भएकाले धेरै ग्राहकहरू आफैंले घर सजाउने प्रवृत्तिमा गएका छन् । त्यसैले अहिले बजारमा ‘एडभान्स टेक्नोलोजी’ र ‘सेल्फ–इन्स्टलेसन’ प्रकारका झिलीमिली सामग्रीको माग बढी छ ।

समग्रमा अहिलेको बजारमा व्यापार घट्दो भएपनि प्रविधिमा आधारित नयाँ उत्पादनहरूप्रति ग्राहकहरूको चासो बढ्दो रहेको र व्यवसायीहरूका लागि  पनि चुनौती र अवसर रहेको भने देखिन्छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update