News 24 Television
डिजिटल वित्तीय कारोबारमा कुनबेला शुल्क लाग्छ ?

काठमाडौं । बैंकहरुले प्रविधिको प्रयोगबाट नगद कारोबारलाई डिजिटल कारोबारमा रुपान्तरण गर्दै लगेका छन् । यसबाट पैसाको कारोबार गर्न सजिलो भएको छ । तर कतिपय सानोसानो कारोबारमा पनि महँगो शुल्क तिर्नुपरेको गुनासो हुने गरेको छ । कस्तो कारोबारमा शुल्क लाग्छ र कस्तोमा लाग्दैन ? यसबारे हामी सबैलाई थाहा हुन जरुरी छ । 

उपभोक्ताले वस्तु तथा सेवा खरिद गरेबापत् मोबाइल एप, क्यूआर कोड, कार्ड वा पस मेसिन जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट व्यवसायिक संस्थालाई भुक्तानी गर्दा कुनैपनि शुल्क लाग्दैन । 

कुनै व्यवसायीले कारोबार रकम व्यक्तिगत खातामा माग्यो र त्यहाँ भुक्तानी गरियो भने शुल्क लाग्छ । कुनै एक बैंकको कार्ड सोही बैंकको कार्ड वा पस मेसिनमा प्रयोग गर्दा शुल्क लाग्दैन तर अन्यकोमा गर्दा शुल्क लाग्छ । 

मोबाइल बैंकिङ, वालेट वा क्यूआरबाट भुक्तानी गर्दा आफ्नै मर्चेन्ट बाहेक व्यक्तिगत क्यूआर वा अन्य बैंकमा पठाउँदा शुल्क लाग्ने व्यवस्था छ ।

आयकर ऐन, २०५८ ले व्यवसायीक कारोबारको पैसा व्यक्तिगत खातामा माग्न वर्जित गरेको छ । त्यसैले व्यवसायीक कारोबारको भुक्तानी व्यक्तिगत खातामा नगरौं । 

एक व्यक्तिको खाताबाट अर्को व्यक्तिको खातामा पैसा पठाउँदा लाग्ने शुल्क केन्द्रीय बैंकले तोकेअनुसार हुनुपर्छ । बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले यस्तो शुल्क कारोबार रकममा नभई कारोबार भएवापत लगाउँछन् । 

वस्तु तथा सेवा खरिद गरेवापत व्यवसायीक संस्थालाई अनलाइन भुक्तानी गर्दा पनि कुनै शल्क लाग्दैन । तर व्यक्तिगत कारोबारमा भने शुल्क लाग्छ । त्यसैले आफूले कुन प्रयोजनका लागि कसलाई भुक्तानी दिँदैछु भन्ने कुराको यकिन गरेर मात्रै भुक्तानी गर्ने बानी गरे हामीले डिजिटल भुक्तानीका क्रममा अनावश्यक शूल्क तिर्न पर्दैन । 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update