News 24 Television
डिजिटल बैंकिङ कारोबारमा किन सीमा तोकिन्छ ?

काठमाडौं । तपाईं डिजिटल वित्तीय कारोबार गर्दै हुनुहुन्छ भने एक दिनमा कति रुपैयाँसम्म कारोबार गर्न सक्नुहुन्छ ? यस्तै एक महिनामा कति कारोबार गर्न सकिन्छ ? नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारलाई व्यस्थित गर्न सीमा तोकिदिएको छ । कुनैपनि कार्ड, मोबाइल बैंकिङ, मोबाइल वालेट, इन्टरनेट बैंकिङ आदीबाट दैनिक कति रुपैयाँसम्म कारोबार गर्न सकिन्छ ? 

कारोबार गर्न सहज, सरल र छिटो हुने भएपछि हिजोआज डिजिटल बैंकिङ कारोबार लोकप्रीय बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले जारी गरेको कुनैपनि कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी सेवा प्रदायकको मोबाइल वालेटबाट डिजिटल भुक्तानी गर्न पाउँदा समयको बचत, पैसा हराउने र चोरि हुने जोखिम हुँदैन । यसले मानिसको जीवन सजिलो बनाएको छ । 

विद्युतीय कारोबारले गर्दा देशको कुनैपनि कुनामा कुनैपनि समयमा पुग्दा सजिलै भुक्तानी गर्न सकिन्छ । तर यस्तो भुक्तानीमा राष्ट्र बैंकले सीमा तोकिदिएको छ । डिजिटल कारोबारमा अनियमितता नहोस भनेर केन्द्रीय बैंकले कारोबारको सीमा तोकेर व्यवस्थित गरेको हो । 

विद्युतीय कारोबारले गर्दा पैसा निकाल्न वा जम्मा गर्न बैंकसम्म पुग्नु पर्दैन । यसले भुक्तानी सेवालाई सहज र सजिलो बनाएको त छ तर कारोबारमा सीमा तोकिएकाले ठूलो कारोबार एकैपटक गर्न भने सकिदैन । 

राष्ट्र बैंकको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८०’ अनुसार डेविट कार्डबाट एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा एक लाख र एक महिनामा ४ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । 

यस्तै, क्रेडिट कार्डबाट स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद कारोबार गर्न सकिन्छ । प्रिपेड कार्डबाट एक पटकमा १० हजार रुपैयाँ, एक दिनमा २० हजार रुपैयाँ र एक महिनामा २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ । 

मोबाइल बैंकिङबाट एक दिनमा ३ लाख रुपैयाँ, इन्टरनेट बैंकिङबाट एक दिनमा २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । बैंक खाताबाट मोबाइल वालेटमा र मोबाइल वालेटबाट बैंक खातामा एक दिनमा २ लाख रुपैयाँसम्म र एक महिनामा १० लाख रुपैयाँसम्म पैसा पठाउन सकिन्छ । यस्तै एक वालेटबाट अर्को वालेटमा एक दिनमा ५० हजार रुपैयाँ र एक महिनामा चार लाख रुपैयाँसम्म पैसा पठाउन सकिन्छ । 

प्राकृतिक व्यक्तिले प्रयोग गर्ने ई–सेवा, खल्ती, आइएमई पे जस्ता मोबाइल वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम पठाउन सकिन्छ भने अधिकतम ५० हजार रुपैयाँ भन्दा बढी मौज्दात राख्न पाईंदैन । 

यसरी कारोबारमा सीमा लगाइएपनि आम मानिसलाई दैनिक कारोबारमा बैंकसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त बनाएको छ । कारोबारमा लगाइने सीमाले कारोबार जोखिम, अनियमितता र सम्पत्ति शुद्धिकरण लगायतका विषयलाई व्यवस्थित गर्न भने सहयोग पु¥याएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update