
काठमाडौँ । पछिल्लो समय छिमेकी मुलुक भारत र पाकिस्तानबीच चर्किएको युद्ध र तनावका कारण ती दुवै देशमा रहेका नेपालीहरुको सुरक्षा चिन्ता बढेको छ । भारत–पाकिस्तानको सीमा आसपासमै लाखौँ नेपाली रोजगारीको सिलसिलामा बसोबास गर्दै आएका छन् । सीमा क्षेत्रमै गोलीबारी तथा हवाई हमला हुन थालेपछि उनीहरुको सुरक्षा चिन्ता बढेको हो । साथै दुई देशबीच पूर्ण युद्ध भएमा निकटको छिमेकी र खुला सीमा हुनुको नाताले नेपाल र नेपालीमा थप संकट निम्तिन सक्ने चिन्ता समेत बढेको छ । यसबारे शुक्रबार संसदमा समेत बहस भएको छ ।
सांसदहरुले आवाज उठाएपछि सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए । सभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले नेपालीहरूको सुरक्षालगायत नेपालमा पर्नसक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यसअघि बैठकमा सांसदहरुले भारत–पाकिस्तानबीचको सम्भावित युद्धबाट नेपाललाई पर्नसक्ने असरको विश्लेषण गरी आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमानाहरुमा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्ने उनीहरुको माग छ । रास्वपा सांसद शिशिर खनालले सार्वजनिक वक्तव्यमार्फत परराष्ट्र मन्त्रालयले आतंकवादविरुद्ध लिएको अडानको स्वागत गर्दै सम्भावित युद्धको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले भारत–पाकिस्तानबीच युद्धको स्थिति उत्पन्न भएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति, र आर्थिक असरहरूका साथै ती देशहरूमा रहेका नेपालीहरूको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन सरकारसँग माग गरे ।
यस्तै नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत–पाकिस्तानबीच सम्भावित युद्धको असरबारे सचेत हुनुपर्ने बताए । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले पनि भारत–पाकिस्तानबीच चुलिँदो तनावले नेपालमा पनि तत्काल असर पार्नसक्ने भन्दै सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गरिन् । उनले बढ्दो द्वन्द्व र अस्थिरताको प्रभाव नेपालमा प्रत्यक्ष देखिनसक्ने उल्लेख गरे । भारत–पाकिस्तानबीचको तनाव नरोकिए भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमाको सुरक्षा जोखिम, आर्थिक परनिर्भरता, आपूर्ति संकट, हवाई यातायात, पर्यटन र व्यापार समेत प्रभावित हुनसक्ने उनको भनाइ छ । सांसद सुब्बाले नेपालले असंलग्न परराष्ट्र नीतिको मार्गबाट नहटीकन भारत र पाकिस्तान दुवैसँग संवाद र कूटनीतिक समन्वय विस्तार गर्नुपर्नेमा जोड दिइन् ।
२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणको दुई सातापछि भारतले पाकिस्तानमाथि हवाई हमला गर्यो । लगत्तै पाकिस्ताने पनि जवाफी हमला गरेपछि दुवै देश युद्धको संघरमा प्रवेश गरेका छन् । ‘अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको छ । उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको छ । पाकिस्तानले बिहीवार अपरान्ह उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्षित गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दाबी छ । पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ । यी दुई देशबीचको बढ्दो तनावले नेपाल मात्र हैन, विश्व राजनीति समेत तरंगित भएको छ ।