News 24 Television
प्रहरीलाई गृहमन्त्रीको निर्देशन- 'यत्तिले पुगेन, अपराध अनुसन्धानको दायरा बढाउनूस् !'

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरु थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न निर्देशन दिएका छन् । आईतवार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा बिस्ता गर्न निर्देशन दिएका हुन् ।

उनले नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको दायरालाई फराकिलो बनाइ शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए । उनले २५-३० वर्ष पहिलाको भन्दा अहिले धेरै राम्रो रहेको भए पनि पछिल्ला समयमा आएका नयाँ अपराधका आयामहरु अनुसार अनुसन्धानमा पनि नयाँ प्रविधिको माध्यमबाट पहुँच बढाउनुपर्ने बताए । नेपाल प्रहरी कानून कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयानुसार अघि बढ्न सक्नुपर्ने बताए ।

उनले भने, ‘आज भन्दा २५-३० वर्ष पहिला म वकालत पनि गर्दथेँ । वकालातका क्रममा मैले अपराधिक मुद्दाहरुमा पनि धेरैमा वहस पैरवी गरेको छु । त्यो बेलाको अनुसन्धान र आजको अनुसन्धानमा मैले धेरै फरक पाएको छु । राम्रो भएको छ । त्यो बेलामा प्रहरीको अनुसन्धानमा धेरै ल्याप्सेसहरु हुने, अनुसन्धामा मात्रै होइन, प्रसिक्युसनमा पनि तमाम ल्याप्सेसहरु हुने अनि कहिले कहीँ के हुने भने डिफेन्स लयर्सका लागि त्यो अनुसन्धान त प्याराडाइज अफ लयर्स हो नि । तर अहिले त्यस्ता कमी कमजोरी कम हुँदै गएका छन् । आधुनिक तरिकाले अनुसन्धान भएका छन् । वैज्ञानिक र प्रमाणिकताको गुरुत्व बढेर गएको छ । अनुमान र आशंकाको आधारमा गरिने अनुमानजन्य विषयहरु घटेका छन् । प्रमाणिकता, वैज्ञानिकता, प्रमाणको ठोस मूल्यांकन यि कुराहरुमा परिवर्तन भएको मैले देखेको छु । कमी कमजोरी हुन्छन्, त्यसलाई सच्याउँदै ठिक गर्दै जाने हो । तर अझ राम्रो गर्नुछ, यत्तिले पुगेन । यत्तिले पुगेको छैन । किनभने नयाँनयाँ कुराहरु आइरहेका छन् । नयाँ विषयहरु प्रवेश गरिरहेका छन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण, अपराधको अनुसन्धान गरेर अगाडि बढ्ने सवाल वा प्रहरी ल इम्प्लिमेन्टेसनको महत्वपूर्ण एजेन्सी भएको कारणले कानून प्रचलनको सवाल होस्, नयाँ चुनौति, जोखिम र विषयले होस्, तदनुकुल तयार गर्नुछ आफूलाई । त्यसैले अझै धेरै गर्न बाँकी छ । बिल्कुलै नभएको र खराब मात्रै भएको होइन, राम्रो भएको छ, राम्रो हुँदै गएको छ तर थप राम्रो गर्न जरुरी छ ।’

गृहमन्त्री लेखकले सुरक्षामा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न थप परिस्कृत बन्नुपर्ने जरुरी रहेको बताए । समाज दिन प्रतिदिन रुपान्तरण भइरहेको र प्रगतितर्फ अघि बढिरहेको भएपनि त्यसमा अपराधिक क्रियाकलापको संख्या पनि बढ्दै गएको बताए । अवसर र सम्भावनासँगै चुनौति, जोखिम उत्तिकै रहेको गृहमन्त्री लेखको भनाइ छ । त्यसलाई नियन्त्रण गर्न नयाँ तौर तरिकाहरु सिक्न जरुरी रहेको बताए ।

गृहमन्त्री लेखकले भने- ‘विगतमा भन्दा आज परिवर्तन भएको छ । थप नयाँ चुनौतिहरु आएका छन् । आज भन्दा २०—२५ वर्ष पहिला हामी सुरक्षाका सन्दर्भमा सुरक्षामा देखिएका चुनौतिहरुलाई सम्बोधन गर्नका लागि जे जस्ता, तौर तरिकाहरु अपनाउँथ्यौँ, आज तिनले नपुग्ने भएको छ । नयाँ किसिमका सोचहरु बढी विकास गर्नु परिरहेको छ । जसरी समाज दिन प्रतिदिन रुपान्तरण भइरहेको छ, परिवर्तन भइरहेको छ, प्रगतितर्फ अगाडि बढिरहेको छ, त्यसरी नै चुनौतिहरु पनि थपिएका छन् । अवसरहरु बढेका छन्, सम्भावनाहरु बढेका छन्, अवसर र सम्भावनासँगै चुनौति, जोखिम र खतराहरु बढेका छन् । त्यो परिवर्तित अवस्थामा देखापरेका नयाँ चुनौतिहरु, नयाँ जोखिमहरु, नयाँ खतराहरुलाई ठिक ढंगले निदान गर्न, पहिचान गर्न, त्यसलाई ठिक ढंगले उपचार गर्नका लागि पनि हामीले नयाँ नयाँ तौरतरिकाहरु सिक्न जरुरी छ । जुन यस्ता खालका कोर्षहरुले गर्नसक्छ भन्ने मैले विश्वास गरेको छु । अपराधकै क्षेत्रमा पनि धेरै नयाँनयाँ चुनौतिहरु थपिएका छन् । आज भन्दा २० वर्ष पहिला साइबर क्राइमको कुरा थिएन । परम्परागत अपराधहरु थिए, नयाँ अपराधहरु थिएन । वित्तीय अपराधहरु एक ढंगले बढेर गएका छन् किनभने वित्तीय क्षेत्रमा नयाँ अवसर, नयाँ सम्भावना, नयाँ प्रगतिका कुराहरु विकास भएका छन् । चुनौतिहरु र अपराधहरु पनि त्यही ढंगले बढेर गएका छन् । डिजिटलाइजेशनको युग छ । सबैले हातमा मोबाइल बोकेको छ । त्यही मोबाइलमा संसार बुझ्न सकिन्छ । त्यो प्रगतिको ठाउँमा हामी पुगेका छौँ । तर त्यही मोबाइलबाटै तमाम अपराध भइरहेको स्थिति पनि छ । दिनानुदिनको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठिक ढंगले सम्बोधन गर्नका लागि पनि यस्ता कोर्षहरु आवश्यक हुनेछन् । अनुसन्धानको क्षेत्रमा पनि धेरै कुरा हामीले गर्नुछ । धेरै राम्रा कुराहरु हुँदै गएको छ ।’

उनले पछिल्लो समयको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठिक ढंगले सम्बोधन गर्न नेपाल प्रहरी स्टाफ कोर्स लगायतका कोर्सहरुको भुमिका महत्वपूर्ण हुने बताए । 

आजबाट नेपाल प्रहरीमा पहिलो पटक लिडरसिप एण्ड स्टाफ कोर्स शुरु भएको हो । स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना प्रहरी नयाव उपरीक्षक (डिएसपी) मात्रै उत्तिर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको शुरुवात गरिएको छ । प्रहरीमा पहिलोपटक शुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउनेछ । अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ ।

कुनै सेमेस्टरमा अनुत्तिर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाइनेछ । प्रश्तावित विधेयक संसदबाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायव उपरीक्षक (डिआईजी) बन्न पाउने छैनन् । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि स्टाफ कलेज गरेका र नगरेकाका लागि छुट्टै कोटा तोकिएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update