News 24 Television
भारत–पाकिस्तानमा विध्वंश ! अमेरिका–चीन सिधा आमनेसामने !

काठमाडौँ । सन् २०१९ को कश्मीर झडपका तरङ्ग सेलाउन नपाउँदै फेरि एक पटक आणविक हतियारधारी छिमेकी मुलुक भारत र पाकिस्तानबीच तनावको आँधी चरमता तर्फ अग्रसर  छ । पछिल्ला सैन्य नवीकरण र घातक प्रविधिहरूको प्रदर्शनले यो द्वन्द्व अब केवल सीमित क्षेत्रको मामिला रहेन । यो दक्षिण एशियामात्र नभई विश्व शान्तिकै चुनौती बन्दै गएको छ । कश्मीरमा भएको आक्रमण, प्रतिआरोप र युद्धको सम्भावित रणनीतिले झन् क्षेत्रीय शक्ति सन्तुलन कसरी जटिल बनिरहेको छ त ? 

भारत र पाकिस्तानबीचको द्वन्द्वात्मक अवस्थाले विध्वंसको बाटोतर्फ पाइला अघि बढाइरहेको छ । कुरा यि दुई देशमा मात्रै सीमित नरहेर विश्वलाई नै प्रभाव पार्नेगरि भारत र पाकिस्तान  आपसमा टकराव बढाइरहेका छन् । सन् २०१९ मा भएको भीषण कश्मीर झडपपछि आणविक हतियारधारी छिमेकी भारत र पाकिस्तानबीचको तनाव फेरि चुलिएको हो । दुबै देशले पछिल्लो पाँच वर्षमा आफ्नो सैन्य क्षमतामा उल्लेखनीय सुधार गरेका छन्, जसले सानो स्तरको भिडन्तलाई समेत खतरनाक मोडमा पुर्याउने जोखिम बढाएको सुरक्षा विश्लेषकहरूको चेतावनी छ । गत हप्ता पहलगाममा भएको घातक आक्रमणलाई लिएर भारतले पाकिस्तानमाथि सीधा आरोप लगाएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारीहरूलाई कल्पनाभन्दा परको सजाय दिने चेतावनी दिएका छन् । यता पाकिस्तानले आक्रमणमा संलग्नता अस्वीकार गर्दै भारतको सम्भावित आक्रमणमा कडा जवाफ दिने चेतावनी दिदैआएको छ । चार वर्षअघि कश्मीरमा भारतीय अर्धसैनिक बलको काफिलामाथि भएको आत्मघाती हमलाको जवाफमा भारतले पाकिस्तानको भित्री भागमा हवाई हमला गरेको दाबी गर्यो । 

त्यसपछि पाकिस्तानी लडाकु विमानहरूले पनि प्रतिआक्रमण गर्दै दुई देश बीचको तनाव दुई दिनसम्म चुलिएको थियो । त्यस क्रममा पाकिस्तानले एक भारतीय लडाकु विमान खसालेको थियो । दुबै देशले कश्मीरलाई आफ्नो क्षेत्रको हिस्सा दाबी गर्दै १९४८, १९६५ र १९७१ मा तीनवटा युद्ध लडिसकेका छन् । सयौं साना ठूला झडपहरू निरन्तर भइरहेका छन् । आणविक हतियार प्राप्त गरेपछि पनि कश्मीर तनावमुक्त हुन सकेको छैन ।

नयाँ सशस्त्र दौड

सन् २०१९ को घटनाबाट भारतले आफ्नो हवाई सुरक्षामा कमजोरी देखिएको ठहर गर्दै सैन्य पुनर्गठन थालेको थियो । फ्रान्सबाट खरिद गरिएका ३६ राफेल लडाकु विमानहरू अहिले भारतीय वायुसेनाको रीढ बनेका छन् । थप विमानहरू नौसेनाका लागि अर्डरमा छन् । पाकिस्तानले पनि चीनसँगको सैन्य साझेदारीलाई थप मजबुत पार्दै जे–१०सि लडाकु विमानहरू प्राप्त गरेको छ । 

पाकिस्तानसँग कम्तीमा २० वटा उन्नत जे–१० विमानहरू छन् जसले राफेलको बराबरीमा उभिन सक्ने क्षमता राख्छन् । त्यस्तै भारतले हवाई रक्षा सुदृढ बनाउन रुसी एस–४०० मिसाइल प्रणाली प्राप्त गरिसकेको छ जुन युद्धमा परीक्षण भइसकेको छ । पाकिस्तानले चीनबाट एचक्यू–९ प्रणाली ल्याएको छ जुन रुसकै एस–३०० मा आधारित भए पनि एस–४०० भन्दा एक तह कमजोर मानिन्छ ।

ड्रोन र मिसाइलको रणभूमि

नयाँ युगको युद्धमा ड्रोन र मिसाइलको भूमिका अत्यन्त महत्वपूर्ण हुँदै गएको छ । भारतले इजरायलबाट हेरोन मार्क ड्रोन भित्र्याइसकेको छ भने अमेरिका निर्मित प्रिडेटर ड्रोनहरू अर्डरमा छन् । पाकिस्तानले युक्रेन–रुस युद्धमा प्रभावकारी देखिएको टर्कीको बायकर टिबी–२ ड्रोन तथा उन्नत एकिन्सी ड्रोन प्राप्त गरिसकेको छ । मिसाइल क्षमताको कुरा गर्दा भारतसँग सुपरसोनिक ब्रह्मोस (३०० किमी दूरी) र अग्नि सिरिजका अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलहरू छन् । पाकिस्तानसँग जमिन, समुद्र र आकाशबाट प्रहार गर्न सक्ने मिसाइलहरूको श्रृङ्खला छ जसले सम्भावित संघर्षलाई गहिरो बनाउने संकेत दिन्छ ।

चीनको चासो र अमेरिका

यस शक्ति सन्तुलनमा सधैंको रहस्यमयी कारक बनेको छ चीन । भारतको रणनीतिक प्रतिद्वन्द्वी र पाकिस्तानको सबैभन्दा ठूलो सैन्य सहयोगी । चीनबाट पाइएका जे–१० विमान र एचक्यू–९ प्रणालीले पाकिस्तानको रक्षा कवच मजबुत पारेको छ । अमेरिकाले दुबै पक्षलाई संयमित रहन आग्रह गरिरहे पनि चीनको हवाई क्षमता र क्षेत्रीय रणनीतिमा चासोसाथ नजर राख्ने जनाएको छ । 

परमाणु तनाव : युद्धको साया र संयमको बाध्यता

विश्वमै शक्तिशाली सेनामध्ये एक मानिने भारत र रणनीतिक रूपमा प्रभावशाली पाकिस्तानबीचको यो प्रतिस्पर्धा केवल सीमित भूभागमै सीमित छैन यसले वैश्विक शान्तिलाई समेत चुनौती दिइरहेको छ । 

भारतले सन् १९७४ मा पहिलोपटक परमाणु परीक्षण गर्दै आफ्नो शक्ति प्रदर्शन गरेको थियो भने सन् १९९८ मा परीक्षणमार्फत पूर्ण हतियार प्रणाली विकास गर्यो । पाकिस्तानले पनि त्यही वर्ष परमाणु परीक्षण गर्दै भारतलाई जवाफ दियो । अहिले भारतसँग १७२ र पाकिस्तानसँग १७० परमाणु वारहेड छन् । दुबै देशसँग लामो दूरीमा प्रहार गर्नसक्ने ब्यालिस्टिक मिसाइल छन् । भारतको ‘अग्नि–५’ र पाकिस्तानको ‘शाहीन–३०’ ।  यी हतियारले दुवै मुलुकलाई प्रत्यक्ष युद्धमा होमिन रोकिरहेका छन् । 

भारतले ‘नो फस्र्ट युज’ नीति अँगालेको छ जसअनुसार उसले पहिले परमाणु हतियार प्रयोग गर्दैन । तर पाकिस्तानले भने पहिलो प्रयोगको अधिकार सुरक्षित राखेको छ । यही नीतिगत अन्तरले कश्मीर र बलुचिस्तानजस्ता संवेदनशील क्षेत्रमा आतंकवादी घटनालाई जटिल बनाइदिएको छ ।  

सैन्य शक्ति : भारतको उन्नत प्रविधि, पाकिस्तानको रणनीतिक पहुँच

भारतको सैन्य बजेट हाल ७४ अर्ब अमेरिकी डलर पुगेको छ । १४ लाख सक्रिय सैनिक, २ हजार २ सय  भन्दा बढी लडाकु विमान (राफेल, तेजस, सु–३०), १ सय ५० भन्दा बढी नौसैनिक जहाज र ४ हजार ५ सय  भन्दा बढी ट्यांकसहित भारत विश्वको चौथो ठूलो सैन्य शक्ति बनिसकेको छ । उता पाकिस्तानको सैन्य बजेट १० अर्ब डलर मात्र भए पनि ७ लाख सक्रिय सैनिक, एक हजार ३ सय भन्दा बढी लडाकु विमान (जे–१७, एफ–१६०), ३ हजार २ सय  ट्यांक र एक सय भन्दा बढी नौसैनिक जहाज छन् । यद्यपि संख्यात्मक रूपमा कमजोर देखिए पनि पाकिस्तानले ड्रोन र मिसाइल प्रविधिमा उल्लेखनीय प्रगति गरेको छ ।

आर्थिक रूपमा भारत करिब ४ खर्ब अमेरिकी डलर बराबरको कुल ग्राहस्थ उत्पादन (जीडीपी) भएको छ जबकि पाकिस्तानको जीडीपी ३५० अर्ब डलर मात्र छ । भारतको वैदेशिक मुद्रा सञ्चय ६३० अर्ब डलर पुगेको छ  जसले लामो युद्ध धान्ने आर्थिक क्षमता दिन्छ । पाकिस्तान भने १० अर्ब डलरको सञ्चयमा सीमित छ  जसले युद्धको अवस्था आइपरे गम्भीर आर्थिक संकट निम्त्याउन सक्छ । भारतको आर्थिक शक्ति उसलाई कूटनीतिक रूपमा समेत मजबुत बनाउँछ । तर, पाकिस्तानले चीनसँगको रणनीतिक साझेदारीमा बढी भरोसा राखेको देखिन्छ । चीनसँगको सहकार्यले पाकिस्तानलाई सैन्य र आर्थिक दुवै क्षेत्रमा केही राहत दिएको छ ।

पूर्णयुद्ध असम्भव, तर सर्जिकल स्ट्राइक सम्भव

हालको परिप्रेक्ष्यमा पूर्ण युद्धको सम्भावना न्यून देखिए पनि सीमित सैन्य कारबाही अर्थात सर्जिकल स्ट्राइक भने सम्भव देखिन्छ । भारतको नौसैनिक शक्ति कराची बन्दरगाह जस्ता महत्वपूर्ण ठाँउमा प्रहार गर्नसक्ने अवस्थामा छ । उता पाकिस्तान कश्मीरको भूगोल र परमाणु हतियारका कारण रक्षात्मक रूपमा सजग छ । भारत लामो समय युद्ध धान्न सक्ने अवस्थामा छ भने पाकिस्तान छोटो र छरितो युद्धको रणनीतिमा केन्द्रित देखिन्छ ।

विश्लेषकहरू भन्छन्, दुवै देशको आन्तरिक समस्या (गरिबी, बेरोजगारी) बाट जनताको ध्यान मोड्न युद्धलाई प्रयोग गर्नसक्ने जोखिम पनि उत्तिकै छ । हालै भारतले सिन्धु जल सन्धिमा पुनरावलोकनको संकेत दिएपछि पाकिस्तानले त्यसलाई ‘युद्ध घोषणा’ सरह मानेको छ । यस्तो अवस्थामा संयमता र कूटनीतिक संवाद नै एकमात्र समाधानको बाटो देखिन्छ ।

युद्धको सम्भावनाले भय सिर्जना गरे पनि परमाणु हतियारको त्रासले दुवै देशलाई संयमता अपनाउन बाध्य पारेको छ । तर साना ठूला घटनाहरूले जबजब तनाव चुल्याउँछन् तब तब विश्व शान्तिमा प्रश्न उठ्ने गर्छ । अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय समुदायको भूमिकासमेत निर्णायक बन्नेछ । 


 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update