
काठमाडौं । हरेक आर्थिक बर्षमा सरकारले आफनो राजश्वको स्रोत र अनुमान गरे अनुसारको बजेट कार्यान्वयन गर्न सकेको छैन । अनावश्यक आयोजनाहरु थप्ने र बजेट खर्च गर्न नसक्ने अवस्थामा सरकारले हरेक बर्ष बिनियोजन गरेको बजेट अनुरुप कार्यान्वयन हुन नसकेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको स्वीकारोक्ति छ । आगामी आर्थिक वर्षको बजेट कस्तो आउँदैछ त ?
आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याइँदैछ । बजेट ल्याउनुअघि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा छलफलकै क्रममा छ ।
नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याउने गरिन्छ । तर त्यसको तादाम्य नमिलेको बहस संसदमै चलेको छ । हरेक बर्ष बिनियोजन गरेको बजेट अनुरुप कार्यान्वयन हुन नसकेको अर्थमन्त्री विष्णु पौडेल पनि स्वीकार्छन् । त्यसैले आगामी वर्षको बजेट वास्तविक धरातलमा रहेर ल्याउने तयारी भएको अर्थमन्त्री पौडेलको भनाई छ ।
अर्थतन्त्रमा आफूहरुले नै खाल्डो खनेको स्वीकार्दै आफूले त्यो खाडल पुर्न चाहेको भन्दै उनले आफूलाई साथ दिन पनि आग्रह गरेका छन् । संविधानको सीमाभित्र रहेर बजेट विनियोजनमा विकृति नहुने उनको विश्वास छ । अनुमान गरेभन्दा बाहिरबाट स्रोत सिर्जना हुँदा चालु खर्च बढ्ने गरेको अर्थमन्त्रीको भनाई छ ।
अर्थमन्त्रालयले प्रस्तुत गरेको बजेटको खर्च र निनियोजन हुन नसकेको अवस्थालाई अर्थले नै सुधार गर्न सक्ने तर्क पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालको छ ।
बजेटमा बहुवर्षिय स्रोत सुनिश्चिततामा अभिलेखमा समस्या रहेको भन्दै कैयौं दशकमा पूरा गर्न नसक्ने आयोजना रहेको हुदाँ आयोजना छनौटमा समस्या रहेको अर्थविद एवम् अर्थका जानकारहरु बताउँछद्धन् ।
निराशाजनक अवस्थामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाउने गरी बजेट ल्याउनुपर्ने अवस्थाछ । बजेटमा पुँजीगत खर्च र राजश्वमा सन्तुलन नभएको हुदाँ समस्या भएकोले बजेटको कार्यान्वयन र कमी कमजोरीमा अर्थ मन्त्रालय नै जिम्मेवार हुनुपर्ने निजी क्षेत्र उद्योगी ब्यवसायीहरु बताउँछन् ।
राजश्व र साधारण खर्चको सन्तुलन देखाउन कटौती गर्नै नसकिने कतिपय नियमित तलव भत्ता तथा खर्चले हरेक बर्ष बजेटमा साधारण खर्चको चाप बढ्ने गरेको छ ।
सरकारको लक्ष्य अनुरुपको राजश्व तथा स्रोतको परिचालन नहुँदा बजेट लक्ष्य अनुरुप कार्याँन्वयन हुन सकेको देखिदैन । राजश्वले साधारण खर्च धान्न पनि मुश्किल परेको छ ।