
पोखरा । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखराका पर्यटन परिषदले नेपाल पर्यटन बोर्डको कार्यकारी बोर्ड सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । परिषदले पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र लेख्दै पर्यटन बोर्डमा पोखरामा पर्यटन व्यवसाय गरिरहेकामध्येबाट प्रतिनिधित्व गराउन माग गरेको हो ।
बोर्डमा पोखराबाट प्रतिनिधित्व नभएकाले हाल रिक्त रहेको सदस्य पदमा पोखराबाट नियुक्त गर्न माग गर्दै परिषदले पत्र पठाएको परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।
पोखरामा निजी क्षेत्रको ६ खर्ब भन्दाबढी लगानी रहेको पोखराबाट बोर्डमा प्रतिनिधित्व नभएकोप्रति ध्यानाकर्षण भएको भन्दै परिषदका अध्यक्ष तारानाथ पहारीले लेखेको पत्रमा भनिएको छ, ‘विश्व पर्यटन बजारमा नेपालको पोखरा शहर स्थापीत भैसकेको, पर्यटनको राजधानी समेत घोषणा भइसकेको र पर्यटनको राजधानी स्थापित गर्न आवश्यक पूर्वाधार र नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सोही अनुरुप पोखराको भावना बुझ्ने पात्र बोर्ड सदस्य नियुक्त गर्न आग्रह गर्दछौं ।’
परिषदले पोखरा भ्रमण वर्ष–२०२५ समेत घोषणा गरी विभिन्न कार्यक्रमहरु आगाडि सारिएकाले यसलाई समेत सहयोग गर्नेगरी संघमा अभिभावकत्व लिन आग्रह गरिएको छ ।
‘देशकै पर्यटकीय राजधानीको रुपमा घोषणा भई सकेको यस क्षेत्रवाट नेपाल पर्यटन बोर्डको हाल रिक्त हुन लागेका कार्यकारी बोर्ड सदस्यमा पोखरामा नै प्रत्यक्ष लगानी गरि पर्यटन व्यवसाय संञ्चालन गरी रहका व्यवसायी मध्येवाट पोखराको प्रतिनिधित्व सुनिश्चित्तताका लागि आवश्यक पहल तथा निर्णय लिईदिनुहुन बिनम्र अनुरोध गर्दछौं’ पत्रमा भनिएको छ ।
(विज्ञप्ति)