
काठमाडौँ । गभर्नर नियुक्ति राजनीतिक शक्ति संघर्ष र लेनदेनको चुलीमा पुग्ने खतरा बढ्न थालेको छ । चैत २५ गते नै गभर्नरबाट महाप्रसाद बाहिरएर उनी आफै गभर्नर सिफारिस समितिको सदस्य बनिसके तर, राष्ट्र बैंकले गभर्नर पाउने अझै कुनै टुंगो छैन । अर्थतन्त्रमाथि देखिएको खतरा र यसलाई लयमा पु¥याउन पर्याप्त काम गर्नुपर्ने संस्था नै नेतृत्वबिहीनताको स्थितिमा पुगेपछि गभर्नर पद सरकारको कठपुतली बन्ने खतरा बढेको छ ।
काठमाडौंका ठूला र महंगा चेन ब्राण्डका होटेल, रेस्टुरेन्टका गोप्य कोठामा अहिले गभर्नर कसलाई बनाउने भन्ने रस्साकस्सी चलिरहेको छ । को गभर्नर बन्दा के लाभ भन्ने हिसाबसंगै राजनीतिक उथलपुथलका कुराहरु समेत यसैमा मिसिन पुगेका छन्, जसकारण गभर्नरका लागि चर्चामा आउने नाम, व्यक्ति र उनीहरुको अनुहारले दिक्दारी थपिदिएको देखिन्छ । सरकारले आगामी वर्षका लागि बजेट ल्याउने तयारी तीब्र पारिरहेको छ । बजेटको प्रक्रिया शुरु हुँदा राष्ट्र बैंक नेतृत्वबिहीनताको अवस्थामा छ । कायममुकायमको जिम्मेवारीबाट कर्मचारीको राजीनामा नै स्वीकृत हुन सकेको देखिन्न भने अन्य कार्यसम्पादनका विषयमा धेरै विश्वास गरिहाल्ने स्थिति नभएको चर्चा चलिरहेको छ । यस्तोमा एक महिनाअघि नै गभर्नर नियुक्त गर्नुपर्ने कानूनी प्रावधानमात्रै मिचिएन गभर्नर पदको मर्यादा नै मिचिएको छ । जुन कारण गभर्नर ठूलो चुनौति र समस्याको विषय बन्न पुगेको छ ।
गभर्नरको दौड र अनुहार
राष्ट्र बैंकको गभर्नरमा कायमुकायम गभर्नर निलम ढुंगानादेखि नविल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना, गुणाकर भट्ट, राजेन्द्र क्षेत्री हुँदै डा. विश्व पौडेलसम्म आइपुगेको छ । जसमा गुणाकर भट्ट गभर्नर बन्ने अन्तिम तयारीमा रहँदा रहँदै किकआउट बन्न पुगे भने राजेन्द्र क्षेत्रीलाई वास्ता गरिएन ।
ज्ञानेन्द्र ढुंगानाले भने अन्तिमसम्म भए पनि पद पाउने अपेक्षामा जमेरै चलखेल गरिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई गुणाकरलाई गभर्नर बनाउनका लागि वचन दिएका प्रधानमन्त्री केपी ओली सल्लाहकार युवराज खतिवडाबाट निर्देशित बन्न पुगे ।
२०६१ सालमा युवराज खतिवडालाई गभर्नर बन्नबाट देउवाले आफू प्रधानमन्त्री हुँदा रोकेको झोक गुणाकरमा लागू गराउन खतिवडा सफल बने । देउवा प्रधानमन्त्री हुँदा एमालेका भरतमोहन अधिकारी अर्थमन्त्री थिए । त्यो बेला खतिवडा अहिलेको गुणाकरकै हैसियतमा थिए ।
एमालेले गभर्नर पाउने भन्दै खतिवडालाई अघि सारेपछि देउवाले महान्यायधिवक्तालाई सोधे र मिल्दैन भन्ने जवाफसहित खतिवडालाई किकआउट गरिदिए ।
अहिले ओलीले खतिवडाकै योजनामा देउवालाई किक त हानेका छन, तर लात्ति भेट्नेमा परे गुणाकर । तर, यी सबै विषयका पछाडी निलम ढुंगानालाई कारण बनाउन खोजिए पनि ज्ञानेन्द्र ढुंगानाले नै निलमदेखि अन्य कुरालाई चलाउने गरेको कतिपयको आरोप छ ।
यस्ता तमाम दिक्दारीको बीचमा आइपुगेका छन, कांग्रेस नेता डा. विश्व पौडेल । पौडेल गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा पुगेका छन भने पौडेलमाथि समेत अन्तिम समयसम्म रोक्ने प्रयास चल्नेमा शंका छैन ।
विश्व पौडेल बन्लान् गभर्नर ?
प्रधानमन्त्री केपी ओलीले गुणाकरलाई झैं गभर्नर बनाउने कुरामा प्राथमिक सहमति जनाएका छन् । देउवासंगको छलफलमा ओलीले हुन्छ भनेपनि गभर्नर सिफारिस समिति नै संकटमा छ । महाप्रसाद अधिकारी सदस्य बन्न योग्न नहुने भन्दै सर्वोच्चमा रिट दर्ता भइसकेको छ भने मंगलबार सुनुवाईका लागि पेशी चढेको छ ।
यता, पौडेलले राजीनामा दिएपनि उनको राजनीतिक दलसंगको आवद्धतादेखि कार्यक्षमताको प्रश्न मुख्य बनाउन खोजिएको छ । सिफारिस समितिबाट उम्मेदवार बन्न पुगेका पौडेलले कांग्रेसको सदस्यता नविकरण नगरेको भनिएपनि उनी सक्रिय नेता नै हुन् । यस्तो स्थितिमा पौडेल गभर्नर सहजै बन्ने स्थिति देखिन्न ।
समय गुज्रिएरै भए पनि नयाँ परिस्थिति बनाउने तयारीमा प्रधानमन्त्री ओलीले पाइला अघि बढाइरहेका छन् भने संवैधानिक नियुक्तिमा समेत हिस्सेदारीलाई बढाउदै लगेका छन् । यसले पनि ओलीको योजनाअनुसार विश्व पौडेल सहजै गभर्नर बन्ने स्थिति नहुने र त्यसपछि ज्ञानेन्द्र ढुंगानाले प्रयास गर्ने स्थिति बन्ने चर्चा चलिरहेको छ । उसो त अन्तिममा गभर्नरको माथापच्ची चर्किने र सत्ता समिकरणमै केही उलटपलट आउन सक्ने चर्चा चलिरहेको छ ।
गभर्नर पद कठपुतली बन्ने खतरा
राजनीतिक दाउपेचको चरम सिकार बनेको गभर्नर पद निष्पक्ष र मुलुकको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नेभन्दा पनि कठपुतलीजस्तो बन्ने चिन्ता व्यक्त गर्न थालिएको छ । राष्ट्र बैंक आफैमा स्वायत्त निकाय भए पनि राजनीतिक दलहरुले चर्को चलखेल गर्दा स्वायत्त संस्थाको औचित्यमाथि नै प्रश्न उठिरहेको छ । गभर्नर जो बनेपनि प्रश्न र शंकाबाहिर हुनै नसक्ने स्थिति निर्माण भएकाले यस्ता चुनौति चिरेर काम गर्नुपर्ने स्थिति निश्चित बन्न पुगेको छ ।