News 24 Television
सौराहामा आन्तरिक पर्यटक बढाउन घुमौ सौराहा अभियान 

रुपन्देही । चितवनको सौराहा त्यसैपनि स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र हो । विदेशी पर्यटक आउने निश्चित सिजन हुने भएकाले अहिले यहाँका पर्यटन व्यवसायीहरु स्वदेशी पर्यटकको संख्या बढाउन अनेक जुक्ति निकाल्न थालेका छन् । यसैक्रममा घुमौ सौराहा अभियान लिएर सौराहाका पर्यटन व्यवसायी पश्चिम नेपालका विभिन्न सहरहरुको भ्रमणमा छन् । मंगलवार व्यवसायीको टोली भैरहवा पुगेको छ । 

प्रकृतिको बरदान मानिन्छ चितवनको सौराहा । यही सौराहाको प्रबद्र्धन गरी धेरै भन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यसहित यतिबेला चितवनका पर्यटन व्यवसायीहरु घुमौ सौराहा चितवन अभियान लिएर पश्चिम नेपाल पुगेका छन् । 

रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ नेपाल चितवनमार्फत् पश्चिम नेपालका जिल्ला–जिल्ला पुगेर व्यवसायीले सौराहा घुम्न आह्वान गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने मुख्य पर्यटकीय प्रवेशद्वारको रुपमा समेत चिनिन्छ । 

राप्ती नदी र निकुञ्ज नजिकै अवस्थित सौराहाको ५० वर्षको इतिहास छ । थरिथरिका स्वाद, मनोरम दृश्य, वन्यजन्तुको दृश्यावलोकनले सौराहा पुग्न धेरैलाई लालायित गराउँछ । नेपालको तेस्रो चर्चित पर्यटकीय गन्तव्यका रुपमा परिचित चितवन जलचरदेखि थलचरसम्म हेर्न पाइने प्रमुख स्थल हो ।

मुलुकको पश्चिम नेपालका बासिन्दालाई लक्षित गरेर एकसाता लामो ‘घुमौं सौराहा चितवन अभियान सञ्चालन गरिरहेका व्यवसायीले अहिलेसम्म बर्दियाको ठाकुरद्वारा, बाँकेको नेपालगन्ज र कर्णाली प्रदेशको सुर्खेतस्थित बीरेन्द्रनगर पुगेर सौराहा घुम्न आह्वान गरिसकेका छन् ।

भैरहवामा आएका चितवनका व्यवसायीले सौराहा घुम्न रुपन्देहीबासीलाई निम्ता दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र लुम्वीनीका व्यवसायीले लुम्बिनी र बागमती प्रदेशका पर्यटकीय गन्तव्य जोडेर अघि बढ्नुपर्नेमा जोड दिए । दुवै प्रदेश पर्यटकीय हिसावले मुलुककै प्रमुख गन्तव्य भएकाले सहकार्य गरेर अघि बढे फाइदा लिन सकिने उनीहरुको तर्क छ । यस्तै, भारतीय पर्यटकलाई समेत केन्द्रमा राखेर अभियान चलाउनुपर्नेमा उनीहरुको सुझाव छ ।
 
व्यवसायीको तथ्यांकअनुसार सौराहासहित चितवनमा वार्षिक ४ लाख पर्यटक आउने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो वर्षहरुमा वार्षिक ११ लाख बढी पर्यटक आउने गरेका छन् । लुम्बिनी आएका पर्यटकलाई चितवन र चितवन आएका पर्यटकलाई लुम्बिनी ल्याउन सके थप फाइदा उठाउन सकिनेमा दुबै ठाउँका व्यवसायी एक मत छन् । 

पर्यटक आकर्षित गर्न देशव्यापी रुपमा २०७७ पुसदेखि सुरु भएको ‘घुमौं सौराहा चितवन’ अभियानलाई निरन्तरता दिँदै यसवर्ष पश्चिम नेपालका प्रमुख सहरमा व्यवसायीहरु आएका हुन् । चितवनमा २५० वटा होटल र एक सय रेष्टुरेन्ट छन् । सौराहामा जिल्लाभित्र रहेका यी होटलहरुम १५ हजार वेड क्षमता छ । 

निकुन्ज भित्र र मध्यवर्ती क्षेत्रमा गरि दुई सय वटा जिप सफारी संचालनमा छन् । चितवनमा निजि ६० वटा र सरकारी ५६ वटा हात्ती छन् । 

निजि हात्तीले पर्यटकलाई सफारी गराउँछन् भने सरकारी हात्ती वन्यजन्तु संरक्षणमा प्रयोग गरिन्छ । घुमौं सौराहा अभियान मार्फत् चितवन भित्रिने पर्यटकको संख्या दोब्बर बनाउने व्यवसायी र स्थानीय पालिकाको लक्ष्य छ । 

 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update