News 24 Television
फेवातालमा तालबाराही तङ्गरिदै, दशैंसम्म पूर्ण हुने अपेक्षा 

कास्की । पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माणको काम दोस्रो चरणमा रहेको छ । आगामी दशंै र तिहारको बीचमा निर्माण सम्पन्न गर्नेगरि काम भईरहेको बताइएको छ । कुल एक करोड ४४ लाख रुपैयाँको लागतमा पुनःनिर्माण हुन लागेको तालबाराही मन्दिरमा हाल भक्तपुरका कालिगढहरुले मन्दिरको कलात्मक सजावटको काम गरिहेका छन् । 

पोखराको फेवातालमा रहेको प्रमुख आकर्षणमध्येको एक तालबाराही मन्दिरको पुनःनिर्माण कार्य आगामी दशैंतिहारसम्म सम्पन्न हुने गरि कामले तीव्रता पाएको छ । 

२०७२ सालको भूकम्पका कारण भूइँतलासहित तीन तले तालबाराही मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुनःनिर्माणका लागि मन्दिर भत्काएको थियो । २०७९ को कात्तिक महिनामा मन्दिर भत्काएपनि निर्माणको काम निकै सुस्त रुपमा भएको छ । तर अहिले निर्माणको दोस्रो चरणमा रहेको र दशै–तिहारसम्म निर्माण सम्पन्न गरिसक्ने गरि काम अगाडी बढिरहेको तालबाराही गुठी व्यवस्थापन समितिका सूचना अधिकारी राजेन्द्र खत्री बताउँछन् ।

सामान्यतया अहिलेको समयमा पोखरामा पर्यटकहरु तुलनात्मक रुपका कम आउने गर्दछन् । यद्दपी हाल दैनिक तीन सयदेखि चारसय जना दर्शनार्थीहरु तालाबाराही मन्दिरको दर्शनका लागि पुग्ने गरेका छन् तर मुख्य मन्दिर नहुँदा धेरै जनाले मन खल्लो बनाएर फर्कने गर्छन् । 

विशेषगरी तालबाराही माताको दर्शन र ढुङ्गा सयरका लागि पर्यटकहरु आउने गरेका छन् । पोखराको फेवाताल र तालमा रहेको तालबाराही मन्दिर, आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षणको केन्द्रको रुपमा लिने गरिन्छ । साथै पोखरालाई चिनाउन तालबाराही मन्दिरको ठूलो महत्व रहेको हुँदा हाल मन्दिर नभएको कारण दर्शनार्थीलाई निराशा बनाएको फेवा डुंगा व्यवस्थापन संगठनका अध्यक्ष बलराम गिरी बताउँछन् ।

२०७२ सालको भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुनःनिर्माणका लागि मन्दिर भत्काएको थियो । 

यो भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणको काम अहिले भने तिव्र गतिमा चलिरहेको छ । निर्माणको कार्य भने टिनले छोपेर बाहिरबाट नदेखिने किसिमले भइरहेको छ । 

मन्दिर निर्माणको लागि एक करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने समितिको अनुमान छ भने पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण हुनेछ । पछिल्लो समयको पुनःनिर्माणको गति तिव्र भएकाले यसले धार्मिक पर्यटकका लागि सकरात्मक सन्देश गएको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने बताउँछन् ।

धार्मिक हिसाबले समेत निकै प्रख्यात मानिने यो मन्दिरको पुनःनिर्माणले गति नलिदा समग्र पोखराको पर्यटनमै असर परिरहेको छ । त्यसैले पनि निर्माण कार्य छिट्टै सम्पन्न गरि धार्मिक पर्यटनलाई चलयमान बनाउनुपर्ने आवश्यकता देखिन्छ । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update