
काठमाडौं । नेपालको अर्थतन्त्र विकासका लागि पर्यटन क्षेत्र मुख्य सम्भावना बोकेको क्षेत्र हो । स्थानीय सरकारदेखि संघीय सरकारले योजनाबद्ध काम गरे देशका प्राय सबै क्षेत्रले पर्यटकीय सम्भावना बोकेका छन् । तर, कमी छ त केवल रणनीतिक योजनाको । यद्दपी, केही क्षेत्रहरुमा पर्यटन प्रवद्र्धनका लागि प्रयास भने भइरहेका छन् । नेपाल, सामाजिक, साँस्कृतिक, भौगोलीक, प्राकृतिक विविधताले भरिपूर्ण देश हो । प्राकृतिक एवम् धार्मिक पक्षलाई पर्यटनसँग जोड्न सक्ने सम्भावना यहाँ उच्च छ ।
तर, तीनै तहका सरकारले योजनाबद्ध काम प्रभावकारी तवरले गरेकै छैनन् । अर्थतन्त्रको विकासका कुरा गर्दा पर्यटन क्षेत्रलाई मेरुदण्डका रुपमा ल्याउने भनिन्छ तर, व्यवहारमा त्यो देखिदैन । सरकारले विनियोजन गर्ने वार्षिक बजेटमा सम्भावित क्षेत्रको प्रवद्र्धनबारे सामान्य सम्बोधन भएका छन् तर पर्यटन क्षेत्रलाई उद्योगका रुपमा अघि बढाउने रुपरेखा देखिएका छैन । यि सबै समस्याका कारण ओझेलमा छन्, स्थानीय स्तरमा रहेका पर्यटनको उच्च सम्भावना बोकेका क्षेत्रहरु । यद्दपी, स्थानीय स्वयंमले पर्यटन प्रवद्र्धनको प्रयास गरिरहेका छन् ।
त्यसैमध्येको एक हो, मकवानपुरमा रहेको लटारम्मेश्वर महादेव मन्दिर क्षेत्र । पछिल्ला दिनहरुमा यो क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर धार्मिक पर्यटक एवं हाइकिङ रुचाउने पर्यटकको रोजाइमा पर्न थालेको हो । समुन्द्री सतहबाट एक हजार ८ सय ५६ मिटरको उचाइमा रहेको लटारम्मेश्वर महादेव मन्दिरबाट मनोरम हिम श्रृंखला पनि देख्न सकिन्छ । सामाजिक सञ्जालमार्फत चर्चा बटुलिरहेको लटारम्मेश्वर क्षेत्र डब्लु डाँडा नामले समेत चिनिन्छ ।
पौराणिक कथनअनुसार सतीदेवीको जटा पतन भएको स्थानका रूपमा लटारम्मेश्वरलाई धार्मिक दृष्टिले अति पवित्र मानिन्छ । भीमफेदी गाउँपालिका र वागमती प्रदेश सरकारको सहयोगमा लटारम्मेश्वर क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्न गुरुयोजना बनाइएको बताइएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा खानेपानी, विश्रामस्थल र पदमार्ग स्तरोन्नति लगायतका पूर्वाधार विस्तारको कार्य तीव्र गतिमा अघि बढिरहेको पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी बताउछन् ।
पर्यटकको सहजताका लागि पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ । स्थानीयवासीकाअनुसार पछिल्लो समय लटारम्मेश्वर क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको उल्लेख्य वृद्धि भएको छ । मन्दिर दर्शन गर्न आउने पयर्टकका कारण व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ । यस क्षेत्रको प्राकृतिक सुन्दरता र अनुभुतिबारे आन्तरिक पर्यटक यस्तो बताउँछन् । भौगोलिक अवस्थिति र धार्मिक महत्वका कारण लटारम्मेश्वरलाई पर्यटकीय हबको रुपमा विकास गरिनुपर्नेमा स्थानीयको जोड छ ।
लटारम्मेश्वर मात्रै होइन, वागमती प्रदेशमा यस्ता सयौं ठाउँ छन्, जहाँ तीनै तहका सरकारको खास नजर पुगेको छैन । रणनीतिक रुपमा नेपाललाई पर्यटकीय हव बनाउनका लागि यस्ता स्थानीयस्तरका साना–सान क्षेत्रको उचित संरक्षण, प्रवद्र्धन र व्यवस्थापन आवश्यक देखिन्छ । प्रदेश–प्रदेशबीचको आपसी सहकार्य र समन्वयमा समेत पर्यटन रुटको विकास गरि पर्यटन क्षेत्रलाई आयको मुख्य स्रोत बनाउन सकिने ठाउँहरु थुप्रै छन् । यसतर्फ ध्यान पु¥याउने कि ?