काठमाडौँ । नेपालको सबैभन्दा होचो ठाउँ झापाको कचनकवलदेखि सर्वोच्च शिखर सगरमाथासम्मको पदमार्ग प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्री ‘जिरो टु ८८४८’ (Zero to 8848) सार्वजनिक गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाज हलमा आयोजित कार्यक्रममा निर्माताले ट्रेलर सार्वजनिक गरेका हुन् ।
समुन्द्री सतहबाट ५८ मिटर उचाइमा रहेको कचनकवलदेखि ८८४८ मिटर उचाईको सगरमाथा चुचुरोसम्म ९० दिन लगाएर तयार पारिएको यो डकुमेन्ट्रीले नयाँ पदमार्गबारे संसारलाई जानकारी दिने सो अवसरमा बताइयो जिरो टु ८८४८’ नाम तय गरिएको ५१० किलोमिटर लामो उक्त रुटले नयाँ पदमार्गबारे चिनाउने, विश्वब्यापी तापक्रम वृद्धिबारे सचेतना दिने र भौगोलिक पर्यटनको प्रवर्धन गर्ने अभियानका अगुवा तथा संचारकर्मी प्रेम बानियाँले बताए ।
‘एउटै पदमार्गमा हामीले तराई, पहाड र हिमालको जीवन्त संस्कृति भेट्नेछौं । यो मार्ग अध्ययनको विषय पनि हुनेछ,’ डकुमेन्ट्रीबारे बानियाँले भने, ‘यो वृत्तचित्र फिल्मभन्दा धेरै भावना र दर्शन हो ।’
लामो समयदेखि अमेरिकामा बस्दै आएका बानियाँ यो डकुमेन्ट्रीको लागि अहिले काठमाडौंमा छन् । निरञ्जन पाण्डे र बलराम बुढाथोकी निर्देशित यो डकुमेन्ट्री अगस्टमा अमेरिकी हलबाट रिलिज हुनेछ ।
हल रिलिजको एकसातापछि कुनै एक ओटीटी प्लाटफर्ममा रिलिज गर्ने जानकारी बानियाँले दिए । नेपालमा सन् २०२६ को जनवरीमा प्रदर्शन तयारी छ ।यो डकुमेन्ट्रीमा १८ पटक सगरमाथा चढेका टेन्डी शेर्पादेखि विश्व साइकलयात्री पुष्कर शाहसम्म जोडिएका छन् । मुन्धुम ट्रेलको क्रममा बानियाँलाई भेटेपछि आफू डकुमेन्ट्रीसँग जोडिएको शाहले बताए । ‘नेपालबारे धेरैले गहिराइमा बुझ्न सकेका छैनन् । यो डकुमेन्ट्रीले देशबारे धेरै बताउँछ’ टेन्डीले भने ।
यो डकुमेन्ट्रीमा चर्चित हलिउड फिल्ममेकर तथा पर्वतारोही कोनराड एन्कर पनि जोडिएका छन् । उनी फिल्ममा प्रशिक्षकको रोलमा छन् । यो पदमार्ग स्थापनाका लागि संसारका विभिन्न देशहरुको अनुभव र ब्यबहारिक पक्षबारे लामो समय अध्ययन र अनुसन्धानमा बिताएको बानियाँले बताए । जसअनुसार यो रुट झापा जिल्लाको कचनकवलदेखि सुरु भएर इलामको कन्याम, श्रीअन्तुहुँदै धनकुटाको नाम्जे र हिले बजार पुग्छ । त्यसपछि भोजपुरमा मुन्धुम ट्रेललाई छोएर खोटाङको हलेसीहुँदै ओखलढुंगा जिल्लाको सदरमुकाम ओखलढुंगा पुग्छ ।
लगत्तै सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के त्यसपछि फाक्दिङ हुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप र समिट ८८४८ सम्पन्न गर्नेछ । बृतचित्रको सम्पादन, प्रमुख छायांकन तथा निर्देशन निरञ्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् । यसको छायाकार केशव निरौला र उमंग शाही हुन् । वरिष्ठ छाँयाकार निरौला १५ वर्षदेखि न्यूज २४ टेलिभिजनमा कार्यरत छन् । श्री वाग्ले कार्यकारी निर्माता हुन् । प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन् ।
भिडियो